हात्ती कार्निभल @सौराहा

हात्ती कार्निभल @सौराहा

चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको प्रख्यात पर्यटकीय गन्तव्य सौराहा स्वदेशी–विदेशी घुमन्तेका लागि अत्यन्त लोकप्रिय छ।

सौराहा पुग्ने जोकोही यात्रु सदा एक विशेष किसिमको सम्मोहनमा पर्ने गर्छन्। कारण हो, यहाँको मोहक वातावरण। समय र मौसमसँगै रूप फेरिरहने यहाँको प्राकृतिक छटाले सबैलाई लोभ्याउँछ। वनस्पति, जनावर, चराचुरुंगी र मानवीय (विशेषगरी थारू) संस्कृतिका अनेक गतिविधिले पर्यटकको मनमा छुट्टै छाप छोड्छन्।

०००

हात्ती र सौराहा पर्यायवाचीझैं लाग्छन्। प्रत्येक वर्ष यहाँ हात्ती महोत्सव हुन्छ। यस वर्ष पनि पुस ११ देखि १५ सम्म सौराहाको बाघमारा चौरमा ‘हात्ती महोत्सव’ सकिएको छ। सौराहाका लागि यो हात्तीको महाकुम्भ मेलाजस्तै थियो।

हात्तीपोलो। हात्ती सुन्दरी प्रतियोगिता। हात्तीको शृंगार र हात्ती फास्ट वाक। हात्तीको पिकनिक। यी सबै हात्तीलाई नै लक्षित गरेर सञ्चालित विविध कार्यक्रम थिए, जसमा मानिसहरू मस्त रमाए। हात्तीहरू झनै रमाए।

हात्तीहरूको पिकनिक कुनै महाभोजजस्तो लाग्थ्यो, रोमाञ्चकारी। नितान्त नौलो र रोमाञ्चक। सयजति हात्ती लहरै राखेर उभ्याइएको थियो। उनीहरूलाई मन पर्ने मीठामीठा खानेकुरा (कुची) खुवाइयो। त्यसमा उखुदेखि फलफूलसम्म थिए। मेला भर्न त्यहाँ पुगेका असंख्य मानिसका लागि त्यो दृश्य साँच्चिकै दुर्लभ थियो। मानौं कि फिल्मी दृश्य !

हात्तीमेलालाई सबैले बडो चाख दिएर अवलोकन गरे। मानव र जनावरबीच सदियौंदेखि चलिआएको सुमधुर सम्बन्ध दर्शाउने यो एक बलियो उदाहरण थियो। सोही उद्देश्यका साथ हात्तीको पिकनिक आयोजना गरिएको थियो।

सौराहामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०६१ सालदेखि सुरु भएको हो, हात्ती महोत्सव। महोत्सवले हाल १५औं संस्करण सम्मको यात्रा तय गरिसकेको छ। यसले आन्तरिक मात्र होइन, बाह्य पर्यटकसमेत तानिरहेको छ। हुन त विश्वका धेरै देशका संरक्षण क्षेत्रमा पनि हात्तीसम्बन्धी विविध कार्यक्रम गरिँदै आएका छन्। नेपालको सन्दर्भमा भने यो हात्तीहरूको महाकुम्भ मेलाजस्तै हो, नितान्त चित्ताकर्षक र मौलिक। ‘वाइल्ड लाइफ हब’ हुनुले पनि सौराहाको छुट्टै महत्व छ।

यसपटकको मेलामा कोही हात्ती सुन्दरी प्रतियोगितामा रमाए त, कोही हात्तीपोलोमा। कोही हात्तीका छावाको फुटबल हेरेर मक्ख परे त, कोही हात्तीको क्याटवाकमा। धेरैको आकर्षण भने यहाँ हात्तीको पिकनिक नै थियो। युवकयुवतीदेखि वृद्धवृद्धासम्म बडो चाखका साथ चार दिनसम्म अलगअगल स्वादका हात्तीमैत्री कार्यक्रम हेरेर दंग परे।

०००

हात्ती महोत्सव चितवनको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए। पुस महिना आफैंमा चिसो हुने र पर्यटनका लागि ‘अफ सिजन’ मानिने हुँदा पर्यटक तान्न हात्ती महोत्सव आयोजना गरिने रहस्य उनैले खुलाए। सौराहा सधैंका लागि ‘सिजनल’ छ भन्ने सन्देश सबैतिर फैलियोस् भनेर नै महोत्सवमा यस्तो अवधारणा ल्याइएको रहेछ।

सुरुको वर्षमा हात्तीको एउटा मात्रै खेलबाट सुरु गरिएको थियो महोत्सव। १५औं संस्करणसम्म आइपुग्दा आधा दर्जनभन्दा बढी हात्तीमैत्री खेलहरू थपिँदै लगिएको रहेछ। आउने वर्षहरूमा पनि कार्यक्रमलाई थप व्यवस्थित र परिमार्जित गर्दै लगिने घिमिरेले सुनाए।

सौराहाका लागि ‘ब्रान्ड’ बनिसकेको हात्ती महोत्सव सिंगो चितवनकै समष्टिगत चिनारी पनि बनेको छ। उसो त एकसिंगे दुर्लभ गैंडा पनि यहाँको मुख्य ‘ब्रान्ड’ हो। वन्यजन्तु संरक्षणकर्मी टीकाराम गिरीका अनुसार यस महोत्सवले नेपालको ‘वाइल्ड लाइफ टुरिजम’लाई विश्वसामु चिनाउन ठूलो भूमिका खेलेको छ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएकाले सौराहा सबैको पहुँचमा छ। यहाँ होटल, रेस्टुरेन्टहरूको पनि राम्रो विकास भएको छ। थरीथरीका खाद्य परिकार पाइने र मनोरम स्थल भएकाले सौराहा सबैका लागि उपयुक्त गन्तव्य बनेको छ।

चितवन राष्ट्रिय निकुञ्जको मुख्य विशेषता भनेको कम समय र सुरक्षित वातावरणमा धेरैभन्दा धेरै वन्यजन्तु सजिलै अवलोकन गर्न पाइनु पनि हो। यहाँ जोसुकैले ‘जंगल सफारी’को अनुभव बटुल्न सक्छन्। बालबालिका, वृद्धवृद्धादेखि अशक्तसम्मले जंगलभित्रै पुगेर बाघ, गैंडा लगायतका जनावर आँखैअगाडि अवलोकन गर्दै असाधारण अनुभव सँगाल्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.