अर्जेन्टिनी फुटबलर विमानसँगै बेपत्ता

अर्जेन्टिनी फुटबलर विमानसँगै  बेपत्ता

एजेन्सी

पेरिस : कीर्तिमानी रकममा इङ्लिस क्लब कार्डिफ सिटीमा आबद्ध भएको एक दिनपछि नै अर्जेन्टिनी फुटबलर एमिलियानो साला आफू चढेको विमानसँगै बेपत्ता भएका छन्। 

उनी चढेको एउटा सानो विमान सोमबार रातिदेखि च्यानल आइल्यान्ड्सबाट हराएको हो। विमानको खोजी कार्य जारी रहेको फ्रान्सको नागरिक उडड्यन अधिकारीले जनाएका छन्।

२८ वर्षीय साला शनिबार मात्र फ्रान्सेली क्लब नान्टेसबाट इङ्लिस क्लब कार्डिफ सिटीमा आबद्ध भएका थिए। उनका लागि कार्डिफ सिटीले एक करोड ५० लाख पाउन्ड खर्चिएको थियो। 

कार्डिफ सिटीले कुनै पनि खेलाडीका लागि खर्चिएको यो सबैभन्दा ठूलो रकम हो। उक्त विमानमा अर्जेन्टिनी स्ट्राइकर सालाका अतिरिक्त अर्का एक ब्यक्ति पनि रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। 

सोमबार राति च्यानल आइल्यान्ड्समा पुगेपछि साला चढेको विमानको सम्पर्क टावरसँग टुटेको थियो। स्थानीय प्रहरीका अनुशार ब्यपक खोजी भइरहे पनि विमानको बारेमा कुनै जानकारी प्राप्त हुन सकेको छैन। 

नान्टेसबाट साँझ ७ः१५ बजे उडेको उक्त विमानको जर्सी एयर ट्राफिक कन्ट्रोलसँग अन्तिम पटक सम्पर्क भएको थियो। त्यतिबेला विमान पाँच हजार फिटको उचाइमा उडिरहेको र विमानका चालकले आपतकालीन अवतरणको अनुमति मागेको बताइएको छ।

टावरसँग सम्पर्क विच्छेद हुँदा भने विमान दुई हजार तीन सय फिटको उचाइमा थियो। विमानको खोजीका लागि हेलिकोप्टरहरु प्रयोग गरिए पनि मंगलबार अबेरसम्म केही पत्ता लाग्न सकेको छैन। 

विमानको खोजीमा पाँचवटा हेलिकोप्टरका अतिरिक्त केही डुंगा पनि प्रयोग गरिएको छ। तिब्रगतिमा चलिरहेको हावा र समुद्रमा खराब मौसमका कारण खोजी कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ।

स्ट्राइकर सालाले मंगलबारदेखि आफ्नो नयाँ क्लब कार्डिफ सिटीमा अभ्यास गर्ने कार्यक्रम रहेको थियो। साला फ्रान्सेली लिग फुटबलका प्रभावशाली खेलाडी हुन्। उनले यो सिजन फ्रेन्च लिग र फ्रेन्च कपमा क्लबका लागि १३ गोल गरेका छन्। उनी यो सिजन सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा केलियन एमबाप्पे र निकोलस पेपेपछि तेस्रो स्थानमा छन्।

उनी आफ्नो पुरानो क्लब नान्टेसका सहकर्मीसँग विदाबारी भएर नयाँ क्लबमा आबद्ध हुन उक्त विमानमार्फत कार्डिफतर्फ लागेका थिए। ‘कार्डिफमा आबद्ध हुन पाउनु मेरा लागि ठूलो अवसर हो, त्यसैले म कार्डिफको अभ्यासमा सहभागी हुन आतुर छु’, पुरान क्लबका सहकर्मीसँग विदा हुँदा उनले भनेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.