महिला फुटबल टोलीले भारतमा खेल्ने

महिला फुटबल टोलीले भारतमा खेल्ने

काठमाडौं : आगामी फागुन २८ देखि चैत ८ सम्म विराटनगरमा हुने पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपाली महिला टोलीले साफअघि भारतमा अन्तर्राष्ट्रिय स्तरको खेल खेल्ने भएको छ । भारतीय फुटबल संघको निमन्त्रणामा नेपाली महिला टोलीले सहभागिता जनाउन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

माघ २४ देखि फागुन ५ सम्म भुवनेश्वरमा हुने प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । भारतले साफको तयारीस्वरूप प्रतियोगिता सञ्चालन गर्न लागेको बताइएको छ । साफ च्याम्पियनसिपको आयोजक नेपालका लागि उक्त खेललाई महत्वपूर्ण रूपमा लिइएको छ ।

साफलाई लक्षित गरी नेपालले यसपटक लामो समयदेखि तयारी गरिरहेको छ । हरि खड्काको प्रशिक्षणमा रहेको नेपाली महिला टोली अहिले पनि प्रशिक्षणमा व्यस्त छ । विराटनगरको सहिद रंगशालामा हुने महिला साफको समूह विभाजन यसअघि नै भइसकेको छ । नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा बंगलादेश, भुटान र पाकिस्तान छन् । समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलंका छन् ।

नेपाली महिला टोलीले दुई महिनाअघि मात्र सन् २०२० मा जापानमा हुने ओलम्पिक छनोटको दोस्रो चरणमा स्थान बनाएको छ । ओलम्पिक छनोट र साफलाई समेत लक्षित गरी महिला टोलीले चीनमा मैत्रीपूर्ण खेल र अभ्यास पनि गरेको थियो । नेपाल महिला साफमा हरेकपटक उपविजेतामा सीमित बनिरहेको छ । भारत च्याम्पियनसिपको साविक विजेता हो । भारतले सबै संस्करणको उपाधि जितेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.