हिउँले ढाक्यो डोल्पा, किसान खुसी
दुनै,डोल्पा : दुई दिनदेखि निरन्तर परेको हिमपातले डोल्पालगायत हिमाली जिल्ला यतिबेला सेताम्मे भएका छन्। नाङगा डाँडा,उराठा लाग्दा पहाड पूरै हिउँको घुम्टोले ढाकिएका छन्। मंसिरदेखि फागुनसम्म जति धेरै हिमपात भयो उत्ति नै कृषकका लागि भरपर्दो र फलदायी मल हुने कृषक बताउँछन्।हिउँदे बालीनालीका लागि हिउँ उत्कृष्ठ मल भएको स्थानीय कृषक बताउँछन्।
माघमा परेको हिउँले मंसिरमा लगाइने गँहु,उवा र चौं सप्रने र चैत्रदेखि लगाएको मकै,चिनो,आलु,कादो,फापर झनै राम्रो उत्पादन हुने जगदुल्ला गाउँपालिका ३ का ५९ वर्षीय मनसा बोहोराले बताए। बोहोराका अनुसार भिरालो जमिनका खेतबारीमा हिउँमल नै उत्कृष्ठ हुने बताए।
डोल्पालगायत हिमाली जिल्लामा सिँचाइयोग्य जमिन कम छ, अधिकांश खेतबारी भिरालो र सुख्खा भएको कारण हिउँले कृषकमा खुसी ल्याउने कृषि ज्ञान केन्द्र डोल्पाका प्रमुख भीमबहादुर धरालाले जानकारी दिए।

धरालाका अनुसार हिउँले समयमा जमिन कमलो बनाउने र खन्नबाली उत्पादनमा वृद्धि हुने भएकोले पनि कृषकले हिउँलाई मलको रुपमा लिने गर्छन्। मुड्केचुलाका ६२ वर्षीय कालीबहादुर बोहोराले भने, 'हिउँ त हप्ता दिनसम्म परेपनि केहि फरक पर्दैन। जति हिउँ पर्यो उति हामी किसानलाई फाइदा हुन्छ । चिसो त केहि दिन हुने हो, खेति बिग्रेमा वर्षभरि भोको बस्नुपर्छ। बोहोरा भन्छन्,' हिउँको चिसोले कोही मर्दैन, भोकले मरेका छन्।
सञ्चार बिच्छेद हुने खतरा
हिमाली जिल्लामा दुई दिनसम्म लगातार हिमपात र बदली भएमा सञ्चार बिच्छेद्ध हुने खतरा बढेको । उच्च हिमाली क्षेत्रमा अग्ला पहाडमा नेपाल टेलिकमका रेडियो लिङ्क राखिएको र निरन्तरको हिमपातले सोलारमा चार्ज कम हुने हुँदा सञ्चार बिच्छेद्ध हुने खतरा बढेको हो।
नेपालगञ्जबाट डोल्पाको दुनैसम्म दर्जन रिपिटर टावर हुँदै नेपाल टेलिकमको मोबाइल र इन्टरनेट सेवा आइपुग्ने गरेको दूरसञ्चार कार्यालय डोल्पाले जानकारी दिएको छ। मंगलबार राति पनि माइथाप्लामा समस्या आउँदा रातभर कर्णालीमा सञ्चार विच्छेद भएको थियो।

अन्य रेडियो लिङ्कका टावरमा पावरको व्यवस्थापन भएको र माइथाप्लालगायत केही रिपिटर टावरमा पावरको समस्या आउने खतरा रहेको नेपालगञ्ज क्षेत्रीय कार्यालयका प्राविधिक प्रमुख शिभ खनालले जानकारी दिए।
दोस्रो दिन पनि हवाइ सेवा प्रभावित
सोमबार रातिदेखि निरन्तर परेको हिमपातले डोल्पाको जुफाल बिमानस्थल दोस्रो दिन पनि हवाइ सेवा अवरुद्ध भएको छ। यातायातको भरपर्दो माध्याम हवाइ सेवा भएपनि हिमपातका कारण उडान नभएपछि यात्रुहरु मर्कामा परेका छन्। एक फिट भन्दा धेरै हिउँ जमेपछि डोल्पाको जुफालमा कुनै पनि बिमानले उडान नभरेको गोमा एयरका स्टेसन इन्र्चाज पूर्णजंग शाहीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !