रोकिएन झोलामा खोला राख्‍ने प्रचलन

रोकिएन झोलामा खोला राख्‍ने प्रचलन

गोरखा : सरकारले जलविद्युत्को माध्यमबाट देशलाई समृद्धि बनाउने उद्देश्यले झोलामा खोला हाल्नेलाई १० लाख रुपैयाँसम्म जरिवाना तोकेको छ। तर बिजुली व्यवसायीले गोरखाका बिजुली उत्पादन गर्न सकिने सबै खोला झोलामै लिएर हिँडेका छन्। बूढीगण्डकी, दरौंदी, चेपे, स्यार तथा हिमाली र उच्च पहाडी भेगका स्थायी स्रोत भएका २६ वटा खोला व्यवसायीले वर्षौं अघिदेखि दर्ता मात्रै गरेर ओगटेका हुन्।

विद्युत् विकास विभागको पछिल्लो अभिलेखअनुसार एकदेखि २५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न यहाँका विभिन्न खोलाका १७ ठाउँ ओगटिएको छ। २५ देखि एक सय मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न पाँच ठाउँ र एक सय मेगावाटभन्दा ठूलो क्षमताका चारवटा नदी दर्ता भएका छन्।

चुमनुब्री गाउँपालिकाभित्र नौ सय २८.६७ मेगावाट विद्युत् उत्पादन गर्न सातवटा खोला ठेकेदारको झोलामा पुगिसकेका छन्। धार्चे गाउँपालिकाबाट आठ सय ७० मेगावाट विद्युत् उत्पादन गर्न आठवटा खोला ठेकेदारले ओगटिसकेका छन्।

दर्ता भएका कुनै पनि आयोजनाको निर्माण कार्य भने सुरु गरिएको छैन। तीनवटा कम्पनीले काम गर्ने लाइसेन्स लिए पनि काम भने सुरु गरेका छैनन्। मान्बु र काशीगाउँको सिमानामा रहेको रिप्चेतखोलामा पाँच मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न रिब्चेत जलविद्युत् कम्पनी प्रालिले निर्माण लाइसेन्स लिएको छ। यस्तै आरुघाट गाउँपालिकाको आरुपोखरीको स्तुलखोलामा १.५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न अमरज्योति हाइड्रोपावर कम्पनी प्रालिले निर्माण लाइसेन्स लिएको छ।

मान्बुको छोटेखोलामा एक मेगावाट क्षमताको आयोजना निर्माणका लागि पशुपति इन्भार्मेन्टल पावर कम्पनीले लाइसेन्स लिएको विद्युत् विकास विभागको अभिलेखमा छ। तर, काम भने कुनै पनि कम्पनीले सुरु नगरेका जनप्रतिनिधि बताउँछन्। ‘स्तुलखोलाको कम्पनीले पोहोर एकपटक फोन गरेको थियो। त्यसपछि अत्तोपत्तो छैन’, आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले भने, ‘छोटेखोला र रिप्चेतखोलाका कम्पनीले त सम्पर्क पनि गरेका छैनन्।’

सर्भे गर्न वर्षौदेखि लाइसेन्स लिएर बसेका कम्पनीले अहिलेसम्म काम गरेका छैनन्। सय मेगावाटभन्दा ठूलो क्षमताको जलविद्युत् उत्पादनका लागि बूढीगण्डकी नदीमा मात्र चार ठाउँ ओगटिएको छ। केरौंजा, सिर्दीबास र उहियाको सिमानामा बूढीगण्डकी नदीबाट तीन सय ४१ मेगावाट विद्युत् उत्पादन गर्न टाइम्स इनर्जी कम्पनी प्रालिले २०६८ सालमा नै सर्भे लाइसेन्स लिएको हो। यस्तै बिही, ल्हो र प्रोक क्षेत्रको बूढीगण्डकी नदीबाट चार सय २० मेगावाट जलविद्युत् उत्पादन गर्न चिलिमे हाइड्रोपावर कम्पनीले सर्भे लाइसेन्स लिएको छ।

बूढीगण्डकीको सिर्दीबास क्षेत्रमा दुई सय तीन मेगावाटको जलविद्युत् आयोजना सञ्चालन गर्न पूर्णिमा डेभलपर्स ग्रुप नेपाल प्रालिले अनुमति लिएको छ। गुम्दा, काशीगाउँ, मान्बु, लापु, थुमी क्षेत्रको बूढीगण्डकी नदीमा दुई सय ६० मेगावाट जलविद्युत् उत्पादन गर्न नीलगिरि खोला हाइड्रोपावर कम्पनी प्रालिले अनुमति पाएको छ।

बूढीगण्डकी, दरौंदी, चेपे, स्यार तथा हिमाली र उच्च पहाडी भेगका स्थायी स्रोत भएका २६ वटा खोला व्यवसायीले वर्षौंदेखि दर्ता मात्रै गरेर ओगटेका छन्।

वर्षौंदेखि झोलामा खोला हालेर हिँडेका उनीहरूले कार्य प्रगति भने गरेका छैनन्। यस्तै गुम्दा, केरौंजा र उहियाँको सिमानामा एक सय पाँच मेगावाटको जलविद्युत् उत्पादनको सर्भेका लागि साञ्जेन जलविद्युत् कम्पनीले आवेदन दिएको छ। उहिया क्षेत्रमा बूढीगण्डकीबाटै एक सय ३० मेगावाट विद्युत् उत्पादनका लागि सर्भे गर्न चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले निवेदन दिएको विद्युत् विकास विभागले जनाएको छ।

छेकम्पार र चुम्चेतको सिमानाको स्यारखोलामा ५९ मेगावाटको विद्युत् उत्पादन गर्न बिगल्यान्ड हाइड्रोपावर कम्पनीले लाइसेन्स लिएको छ। यस्तै सामागाउँको बूढीगण्डकीमा ५२ मेगावाट विद्युत् उत्पादन गर्न नेचुरल हाइड्रोपावर कम्पनीले लाइसेन्स लिएको छ। सिर्दीबास र चुम्चेतको सिमानाको बूढीगण्डकीमा ९१.१५मेगावाट विद्युत् उत्पादन गर्न सूर्य इनर्जी प्रालिले लाइसेन्स लिएको छ। यस्तै बिहीको बूढीगण्डकीमा ४३.५२ मेगावाट विद्युत् उत्पादन गर्न टम डोगर हाइड्रोपावर प्रालिले अनुमति लिएको छ। सिर्दीबास, चुम्चेत र बिही क्षेत्रको स्यार खोलामा ६० मेगावाट विद्युत् उत्पादन गर्न चिलिमे हाइड्रोपावर कम्पनीले अनुमति लिएको छ। ‘कसले कसरी अनुमति लिएका हुन्छन्, हामीलाई थाहै हुँदैन’, चुमनुब्री गाउँपालिका– ७ का वडाध्यक्ष पासाङफुञ्जो लामा भन्छन्, ‘यदि हामीसँग अनुमति लिने, अथवा सिफारिस लिने हो भने झक्झक्याइरहन्थ्यौं। तर हामीलाई कुनै अत्तोपत्तो हुँदैन।’

काशीगाउँ र मान्बुमा पर्ने रिचेत खोलाबाट दुई मेगावाट विद्युत् उत्पादन गर्न अपर रिचेत हाइड्रोपावर कम्पनीले अनुमति लिएको छ। थालाजुङ र केराबारी आसपास चेपे खोलामा सात मेगावाट विद्युत् उत्पादन गर्न चम्पावती हाइड्रोपावर प्रालिले अनुमति लिएको छ। घ्याल्चोक र बारपाक सिमानाको दरौंदी खोलाबाट ९.८२ मेगावाट विद्युत् उत्पादन गर्न कालिका कन्स्ट्रक्सन प्रालिले अनुमति लिएको छ। घ्याल्चोक, सौरपानी, सिम्जुङ क्षेत्रबाट ९.२० मेगावाट विद्युत् उत्पादन गर्न अपार भट्टराई, सुशीला पराजुली बराल कम्पनीले अनुमति लिएको छ। लापु, गुम्दा र उहिया क्षेत्रमा पर्ने माछीखोलामा १८ मेगावाट विद्युत उत्पादन गर्न वाटरइनर्जी डेभलपमेन्ट प्रालिले अनुमति लिएको छ। खरिबोट र दूधपोखरी सिमाको चेपेखोलामा नौ मेगावाट विद्युत उत्पादन गर्न रिजेलाइन इनर्जी प्रालिले अनुमति लिएको छ। सोही ठाउँमा नै ८.६३ मेगावाट विद्युत् उत्पादन गर्न आशुतोष इन्भेस्टमेन्ट प्रालिले अनुमति लिएको छ।

खरिबोट र दूधपोखरी क्षेत्रको चेपेखोलामा ५.१० मेगावाट जलविद्युत् उत्पादन गर्न पुष्प दवाडीले अनुमति लिएका छन्। हंशपुर, इलमपोखरी, बिचौरको लाङ्दीखोलाबाट ३.२६ मेगावाट विद्युत् उत्पादन गर्न उज्यालो नेपाल हाइड्रोपावर प्रालिले अनुमति लिएको छ। यस्तै घ्याच्चोकको दरौंदीमा १० मेगावाट विद्युत् उत्पादन गर्न बारपाक दरौंदी हाइड्रोपावर कम्पनीले अनुमति लिएको छ। उहियाको निम्रुङखोलामा ९.८० मेगावाट विद्युत् उत्पादन गर्न किरणपावर प्रालिले अनुमति लिएको छ। गुम्दा र लाप्राकबीचको माछीखोलाबाट ४.५५ मेगावाट विद्युत् उत्पादन गर्न विकास हाइड्रोपावर प्रालिले अनुमति लिएको छ।

खरिबोटमा चेपेखोलाबाट ८.८३ मेगावाट विद्युत् उत्पादन गर्न दूधपोखरी चेपे हाइड्रोपावर कम्पनीले अनुमति लिएको छ। स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने व्यवस्था भएमा स्थानीय सरकारले ताकेता गर्ने र कामले गति लिने धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङको तर्क छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.