५० लाखको लागतमा गोरखागेट बन्दै
गोरखा : पृथ्वीराजमार्गबाट गोरखा प्रवेश गर्ने मझुवा देउरालीको मस्र्याङ्दी पुल नजिकै गोरखागेट बन्ने भएको छ। गोरखा नगरपालिकाको ५० लाख रुपैयाँको लागतमा बन्ने गेटको शुक्रबार सिलान्यास गरिएको छ। गोरखागेटको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सिलान्यास गरेका हुन्।
सिलान्यासको क्रममा शुभकामनाम व्यक्त गर्दै जतिसक्यो छिटो गेट उद्घाटन गर्न आतुर रहेको उनले बताए। आउँदो चैतसम्म निर्माण सम्पन्न हुने विश्वास उनले व्यक्त गरे। 'निर्माण व्यवसायी संघका अध्यक्षले निर्माण गर्ने भएकाले समयभित्रै सम्पन्न हुनेमा हामीलाई शंका छैन,' पन्तले भने, 'डिपिआरमा उल्लेख भएअनुसार गोरखागेटको गुणस्तरका लागि सरोकारवाला सबैले रेखदेख गर्नुपर्छ।' गुणस्तर र निर्धारित समयमा सम्पन्न गर्न सबैले झक्झक्याइ रहनुपर्नेमा उनले जोड दिए।
गेटमा गोर्खाली वीरताको पहिचान खुकुरीक्रस राखिने पनि उनले बताए। साथै गोरखालाई चिनाउने अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पहिचान झल्कने खालका चित्रकला एवं सामग्रीहरु पनि राखिने मेयर पन्तले बताए।५० लाखको लागतमा बन्ने गोरखागेटको निर्माणको जिम्मा सुसु इञ्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रालिले लिएको छ।