भोजपुरमा सुन ठग्दै दुई भारतीय जेल चलान, चार रिहा
भोजपुर : सक्कली भन्दै नक्कली सुन बेचेर ठगी गर्ने ६ भारतीयमध्ये दुईजनालाई कारागार चलान गरिएको छ । उनीहरुलाई जिल्ला अदालत भोजपुरको आदेशमा जेल चलान गरिएको हो । अन्य ४ जना धरौटीमा छुटेका छन् ।
गत पुस ११ गते पौवादुङ्मा गाउँपालिका बास्तिममा सुन बनाइदिन्छु भन्दै ठगी गर्दै हिँड्ने ६ भारतीयमध्ये लवकुश शाह र रमेश कुमार शाहलाई कारागार पठाइएको हो । श्रवण कुमार साह, जितेन्द्र साह, राकेश साह र रवीन्द्र साह भने ३५ हजार धरौटीमा छुटेका छन् ।
पौवादुङ्मा गाउँपालिका च्याङ्ग्रेकी दिलमाया प्रधान, मेनुका प्रधान र बेनमाया प्रधानलाई पुराना सुनबाट नयाँ गहना बनाइदिन्छु भन्दै सुन लिएर नक्कली सुनको गरगहना बनाइ भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
केही महिनायता सानोदुम्मा, ठुलोदुम्मा हुँदै वास्तिममा ठगी गर्दै हिँडेका ती व्यक्तिबारे चाल पाएपछि प्रहरीलाई जानकारी गराइएको स्थानीय हर्कबहादुर लकान्द्रीले बताए ।
पक्राउ परेका ती भारतीयलाई ठगी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धानपछि जिल्ला अदालत बुझाइएको थियो । पुर्पक्षमा रहेका २ भारतीयमाथि अनुसन्धान भइरहेको डिएसपी केशब कुमार थेबेले बताए ।