मकवानपुरमा पर्यटकीय गन्तव्य थपिँदै
मकवानपुर : मकवानपुरको उत्तर पश्चिमी कैलाश गाउँपालिका २ स्थित बैकुण्ठलाई नयाँ पर्यटकीय गन्तव्य बनाउन स्थानीय बासिन्दा जुटेका छन्। मनोरम दृष्यावलोकन, चिसो हावापानी र धार्मिक गन्तव्यका रूपमा रहेको बैकुण्ठलाई जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य बनाउन स्थानीय जुटेका हुन्।
गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन विकासका लागि छुट्याएको बजेटबाट विभिन्न संरचना निर्माण तथा प्रचारप्रसारको काम थालेको कैलाश २ का वडाध्यक्ष राजेन्द्र घिसिङले बताए। यस क्षेत्रको एकीकृत विकासका लागि गाउँपालिकाले करिब पाँच लाख रूपैयाँ खर्चेर कैलाश बैकुण्ठ पर्यटन विकास डीपीआर निर्माण गरेको छ। डीपीआर निर्माणसँगै संरचना निर्माणका काम सुरु गरिएको उनले जानकारी दिए।
तामाङ संग्रहालय बन्दै
बैकुण्ठमा तामाङ संग्रहालय निर्माण सुरु गरिएको छ। तामाङ जातिको कला, संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संग्रहालय निर्माण सुरु गरिएको घिसिङको भनाइ छ। संग्रहालय निर्माणका लागि गाउँपालिकाले २० लाख रूपैयाँ विनियोजन गरेको छ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन विकासमा ५२ लाख ३० हजार बजेट छुट्याएको छ। राजधानी काठमाडौंबाट नजिक रहेको अर्को नयाँ र सुन्दर पर्यटकीय गन्तव्यका रूपमा बैकुण्ठलाई विकास गरिने गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताए।
‘बैकुण्ठबाट कैलाश गाउँपालिकाको सम्पूर्ण वडाको अवलोकन, ऐतिहासिक विष्णु कुण्ड, गुफा, तामाङ जातिको परम्परागत सांस्कृतिक सम्पदा रहेका कारण पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ’, उनले भने, ‘तामाङ जातिको बाहुल्य रहेको कैलाश बैकुण्ठमा तामाङ संस्कृति हेर्न भए पनि पुग्नै पर्ने ठाउँका रूपमा विकास गर्दैछौं।’
पहाडको टुप्पोमा कहिल्यै नसुक्ने ताल
करिब २४ सय मिटर उचाईमा रहेको बैकुण्ठको एउटा टुप्पोमा कहिल्यै नसुक्ने ताल छ। विष्णु कुण्ड नाम दिइएको पानी नसुक्ने उक्त तालसँग तामाङ समुदायको धार्मिक आस्था जोडिएकाले यसको संरक्षणको काम भइरहेको गाउँपालिका अध्यक्ष मोक्तानले बताए। ‘हिउँदको समयमा खरेडी परेर जताततै पानी सुक्दा पनि सुख्खा डाँडामा सधैं पानी जमेर बसेको हुन्छ’, उनले भने, ‘यो तालको बीचमा बुद्ध मूर्ति स्थापनासँगै यसको छेउमा प्रतिक्षालय निर्माणको काम भइरहेको छ।’
यसैवर्ष २० वटा होमस्टे
पर्यटकलाई खाना र बस्ने सुविधाका लागि स्थानीय युवाले बैकुण्ठमा सामूहिक लगानीमा २० वटा होमस्टे निर्माण सुरु गरेका छन्। तामाङ जातिको मात्र बसोबास रहेको बैकुण्ठमा होमस्टे निर्माण गरी सांस्कृतिक प्रदर्शनी तथा स्थानीय खानाको स्वाद चखाएर पर्यटक आकर्षित गर्ने लक्ष्य रहेको स्थानीय शिक्षक लक्ष्मी घिसिङले बताए। पर्यटकको बसाईका लागि करिब ६० लाखको लगानीमा होमस्टे निर्माण हुन लागेको हो।
आगामी जेठ महिनाभित्र होमस्टे निर्माण पूरा गर्ने लक्ष्यका साथ काम सुरु गरिएको घिसिङले बताए। होमस्टेमा आउने पर्यटकलाई सिस्नोको खोले, लोकल कुखुराको मासु, फापरको ढिँडो, स्थानीय मदिराको स्वाद चखाउने स्थानीयको योजना छ।
तामाङको घाटु नाच हेर्न पाइने
पश्चिम नेपालमा गुरुङ समुदायमा प्रचलित रहेको घाटु नाच प्रत्येक वैशाख पूर्णिमाका दिन यहाँका तामाङ समुदायले देखाउँदै आएका छन्। देशभर तामाङ समुदायले बैकुण्ठमा मात्र वैशाख पूर्णिमामा देखाइने घाटु नाच अब पर्यटकले नियमित हेर्न पाउने भएका हुन्।
‘होमस्टे निर्माणसँगै यहाँ आएका पर्यटकलाई घाटु नाचबाट स्वागतसँगै मनोरञ्जन दिने हाम्रो योजना छ’, गुणराज स्याङ्तानले भने। बैकुण्ठमा प्रत्येक वैशाख पूर्णिमामा कन्य केटीहरूले घाटु ननाचे गाउँमा विभिन्न रोगको महामारी फैलनुका साथै अकालमै अविवाहित युवतिको ज्याने गरेको यहाँका बुढापाका बताउँछन्।
मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनबाट करिब तीन घण्टाको कच्ची सडकको यात्रापछि कैलाशको बैकुण्ठ पुग्न सकिन्छ। धादिङको बेनिघाट रोराङ गाउँपालिकासँग सिमाना जोडिएको बैकुण्ठसँग रोराङ जोड्न सडक निर्माण भइरहेको छ। सडक जोडिएसँगै एक घण्टामा बैकुण्ठबाट धादिङको गजुरी झर्न सकिने स्थानीय बताउँछन्।