बालक हत्या गर्ने ८ वर्षपछि पक्राउ : सम्पत्ति हडप्न भिनाजुको यस्तो थियो योजना
![बालक हत्या गर्ने ८ वर्षपछि पक्राउ : सम्पत्ति हडप्न भिनाजुको यस्तो थियो योजना](https://annapurnapost.prixacdn.net/media/albums/hatyara_20190209161147_9aBf9VG2LK.jpg)
विराटनगर : मोरङको रंगेली नगरपालिका –४ का १५ वर्षीय बालक उपेन्द्र साहको अपहरणपछि हत्या गरिएको घटनामा संलग्नलाई प्रहरीले घटना भएको ८ वर्षपछि पक्राउ गरेको छ।
बालकको अपहरणपछि हत्या गर्ने रंगेली–४ का ४० वर्षीय ठेङवा भनिने रमेश मण्डललाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो। बालकको हत्यापछि भारतमा लुकिछिपी बसेका उनलाई गाउँ आएको मौका छोपेर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले जानकारी दिए। उनका अनुसार २०६७ साल फागुन ८ गते साँझ अमरलाल साहका छोरा १५ वर्षीय उपेन्द्र बेपत्ता भएका थिए।
लामो समयसम्म खोजतलास गर्दा पनि फेला नपरेका बालकको कंकाल बेपत्ता भएको चार वर्षपछि २०७१ कात्तिक १४ गते फेला परेको थियो। प्रनि कार्कीका अनुसार छिमेकी ईनरलाल मण्डलको शौचालयको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा कपडासहितको मानव कंकाल फेला परेपछि अनुसन्धान गर्दै जाँदा उक्त कंकाल उपेन्द्रकै भएको पत्ता लागेको थियो। त्यतिबेला बेपत्ता हुँदा लगाएको कपडाका आधारमा मानव कंकाल बालककै भएको खुलेको उनको भनाई छ।
आफ्नै भिनाजु ४० वर्षीय शम्भु साहको योजनामा बालकको अपहरणपछि हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए। उनका अनुसार घटनाको योजना बनाएका भिनाजु शम्भुले रमेशको साथ लिएर बालकको अपहरणपछि हत्या गरेको खुलेको हो। हत्या गरेपछि छिमेकीको सेफ्टी ट्यांकी भित्र शव फ्यालिएको र पछि सफा गर्ने क्रममा कंकाल फेला परेको श्रेष्ठले बताए। ससुरालीको सबै सम्पत्ति आफ्नो बनाउने प्रपञ्च रचेर शम्भुले ससुरालीमा रहेका एउटा मात्रै सालोको हत्याको योजना बनाएको अनुसन्धानका क्रममा खुलेको थियो।
शम्भुलाई भने प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ। उनी अहिले कारागारमा अदालतले फैसला गरेको २० वर्षे कैद सजाय भुक्तान गरिरहेका छन्। घटनामा संलग्न भए पनि लामो समयदेखि फरार रहेका मण्डललाई समेत अपहरण तथा कर्तव्य ज्यान मुद्दामा उच्च अदालत विराटनगरले २० वर्ष कैद सजायको फैसला सुनाइसकेको छ।
मण्डललाई २०७३ साल बैशाख २८ गते जिल्ला अदालत मोरङले एक वर्ष पाँच दिनको मात्रै कैद सजाय सुनाएको थियो। उक्त कैद सजाय भने भुक्तान गरेर उनी जेलमुक्त भएका थिए।
पछि उच्च अदालत विराटनगरले २०७४ साल जेठ ३० गते जिल्लाको फैसलालाई उल्टाउँदै मण्डललाई २० वर्षको कैद सजाय सुनाएको थियो। त्यसपछि भने उनी फरार बनेका थिए।
प्रनि कार्कीले लामो समयको निरन्तर निगरानी तथा नेपाल–भारत सीमावर्ती क्षेत्रमा आएको हुन सक्ने सूचनाका आधारमा मण्डललाई पक्राउ गर्न सकिएको हो। पक्राउ परेका मण्डललाई अदालतमा बुझाइने प्रहरीले जनाएको छ। अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने छ।
त्यस्तै राहदानी किर्ते मुद्दाकी एक फरार प्रतिवादीलाई पनि प्रहरीले अदालतले दोषी ठहर गरेको सात वर्षपछि पक्राउ गरेको छ। मोरङको धनपालथान गाउँपालिका–६ कदमाहकी ४५ वर्षीय प्रमेश्चरीदेवी मण्डललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी श्रेष्ठले बताए।
मण्डललाई जिल्ला अदालत मोरङले २०६८ साल साउन १३ गते एक महिना कैदको फैसला गरेको थियो। कैद फैसलापछि फरार रहेकी उनलाई गाउँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)