अवधै हतियार बरामदमा प्रहरीको फड्को
काठमाडौं : प्रहरीले गत साता दाङमा जितबहादुर बुढालाई धेरै हतियारसहित समात्यो। राजापुर गाउँपालिकाको भौवाका ५९ बर्से उनले घरमै हतियार बनाएर बेच्दै आएका थिए। प्रहरीले उनीबाट ७ भरुवा बन्दुक, बन्दुक बनाउन प्रयोग हुने २ दर्जन नाल, रिभल्वर र नलकटुवा पेस्तोल बरामद गरेको थियो।
प्रहरीले यो अवैध हतियार बरामदलाई यस वर्षकै ठूलो फड्कोका रूपमा लिएको छ। उपत्यकासहित सातै प्रदेशमा प्रहरीले यस वर्ष १ सय ३७ अवैध हतियार बरामद गरेको छ। प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका अनुसार अवैध हतियार किनबेच घटेको छ। पेस्तोल, रिभल्वर, कटुवा पेस्तोल, बन्दुक र भरुवा ५ खाले अवैध हतियार खरिदबिक्री हुँदै आएका छन्। हतियारसहित १ सय ६२ जना पक्राउ परेका छन्। हतियारसँगै १ सय ३३ राउन्ड गोली बरामद भएको छ।
विभागका अनुसार यस वर्ष पुससम्म उपत्यकाबाट ६ पेस्तोल, रिभल्वर र कटुवा पेस्तोल १÷१ गरी ८ अवैध हतियार बरामद भएका छन्। प्रदेश १ मा प्रहरीले ६ पेस्तोल, ३ कटुवा र २२ भरुवा बन्दुक गरी ३१ हतियार बरामद गरेको छ। प्रदेश २ मा प्रहरीले ९ पेस्तोल, एउटा रिभल्वर, १७ कटुवा पेस्तोल, ५ बन्दुक र २ भरुवा गरी ३४ अवैध हतियार बरामद गरेको छ। प्रहरीले प्रदेश ३ मा पेस्तोल, भरुवा र बन्दुक गरी १४ अवैध हतियार बरामद गरेको छ। प्रदेश ४ मा ८, प्रदेश ५ मा २८, प्रदेश ६ मा ५ र प्रदेश ७ मा ९ अवैध हतियार प्रहरीले बरामद गरेको छ।
बरामद हतियारमध्ये केही घरेलु देखिए पनि पेस्तोल, रिभल्वर भने छिमेकी भारतको बिहारबाट भित्रिएको प्रहरीको आशंका छ। बिहारबाट १०-१५ हजारमा किनेर नेपाली बजारमा ४०-५० हजारमा अवैध पेस्तोल किनबेच हुने प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरी रेकर्डअनुसार तत्कालीन सशस्त्र द्वन्द्वताका सुरक्षाकर्मीबाट लुटिएका केही हतियार बरामद भएका छन् भने तराईका सशस्त्र समूहले प्रयोग गरेका केही हतियार पनि छन्।
‘एकखाले गिरोह अवैध हतियार देखाएर गुन्डागर्दी, धाकधम्की गरी चन्दा असुल्ने देखिएका छन्’, प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने, ‘दो स्रो समूह भने हतियार देखाएर लुटपाट, डकैतीदेखि जंगलमा सिकार खेल्ने छन्।’ उनका अनुसार ०७२÷७३ मा विभिन्नखाले २ सय ७८ अवैध हतियार बरामद भएका थिए। ०७३÷७४ मा २ सय ४२ र ०७४÷७५ मा २ सय ८४ अवैध हतियार बरामद भएका छन्। प्रवक्ता सुवेदी भन्छन्, ‘हतियारको सूचना त्यसै आउँदैन, यसका लागि प्रहरीले धेरै सुराकी राख्नुपर्छ।’
कहाँ जान्छन् बरामद हतियार ?
प्रहरीले बरामद अवैध हतियार के गर्छ त ?मुख्यालयका प्रवक्ता एसएसपी सुवेदीका अनुसार बरामद हतियारको फोरेन्सिक परीक्षणपछि मुद्दा चल्ने तालुक निकाय अदालत÷सीडीओ कार्यालयको आदेशमा प्रहरीले नै राख्छ। अभियुक्त पक्राउ परेको भए अन्तिम फैसला नआउन्जेल हतियारको रेकर्ड राखेर सम्बन्धित प्रहरी कार्यालयको मुद्दा शाखामै राखिन्छ।
अभियुक्त पक्राउ परी अन्तिम फैसला भएपछि प्रहरीको कोतघर (हतियार राख्ने ठाउँ)मा राखिन्छ। सुवेदीका अुनसार कामै नलाग्ने र खिया लागेका हतियार भने धुल्याउने प्रक्रिया पुर्याएर डिस्पोज गरिन्छ।