प्रहरी बढुवामा जहिल्यै किचलो
काठमाडौं : तत्कालीन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको कार्यकालदेखि रोकिएको सईबाट प्रहरी निरिक्षक बढुवाको गाँठो सर्वेन्द्र खनाल प्रहरी महानिरिक्षक भएपछि खुल्यो। तर, असन्तुष्टका आवाज भने रोकिएनन्।
प्राविधिक समुहमा काम गर्ने प्रहरी कर्मचारीको बढुवा १४ वर्षदेखि रोखिएको थियो। खनालले त्यसलाई पनि समटेर बढुवा निकाले। अहिले खनालकै कार्यकाल चलिरँहदा प्रहरी जवानबाट हवल्दार देखि प्रहरी अतिरिक्त महानिरिक्षकसम्म बढुवा भए। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एआईजीको दरवन्दी बढाएर बढुवा गरेपनि प्रदेशमा डीआइजी नै राख्ने निर्णय भएपछि एआइजीको दरवन्दी स्वात्तै घट्यो। देउवाले १६ जना एआइजीको दरवन्दी बनाएका थिए। अहिले जम्मा चार जनाको दरवन्दी छ।
माथिल्लो तहका दरवन्दी घटेपछि तलका दरवन्दी घट्नु स्वभाविक हो। प्रतिस्पर्धी धेरै हुने र सीटसंख्या कम हुँदा राम्रा गनिएका प्रहरी अधिकृत पनि बढुवामा छुट्दै आएका छन्। हालै प्रहरीका दुई पदमा भएका बढुवा सिफारिसले यतिबेला केही प्रहरी अधिकृतमा असन्तुष्टी चुलिएको छ। असन्तुष्टीसँगै प्रहरी उपरीक्षक नरेन्द्र उप्रतीले राजीनामा दिए।
आफुभन्दा जुनियरलाई बढुवा दिएर आफ्नो मानमर्दनमा ठेस पुगेको भन्दै उप्रतीले राजीनामा दिएका हुन्। प्रहरी प्रधान कार्यालयले भने बढुवा सिफारिसलाई सामान्य रुपमा लिएको छ। शनिबार राती १४ एसपी र २६ डिएसपीको बढुवा सिफारिस भएको थियो।
प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी सीमित सिट हुने र प्रतिस्पर्धी धेरै हुँदा बढुवामा राम्रो अधिकृत हुँदाहुँदै पनि छुट्नु स्वभाविक ठान्छन्। उनले भने, ‘तीन वर्षको कार्यसम्पादन मूल्यांकन र बढुवा समितिले दिने अंकको आधारमा बढुवा सिफारिस गरिएको हो। थोरै सिटमा धेरै प्रतिस्पर्धी भएपछि केही छुट्नु स्वभाविक हो।’ सुवेदीका अनुसार प्रहरी महानिरिक्षक खनालको कार्यकालमा भएको बढुवा प्रक्रिया अहिलेसम्मकै धेरै मानिन्छ। खनालले प्राविधिक (स्वास्थ्य, इन्जिनियर, नर्सिङ, प्यारामेडिक्स, कम्यूटर, सवारी ) समुहको सबै तहको बढुवाको पहल गरेका छन्।
यसअघिका प्रहरी महानिरिक्षकले गर्ने बढुवा प्रक्रियामा पनि असन्तुष्टका आवाज नआएका होइनन्। तत्कालीन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको कार्यकालमा बढुवामा अन्याय परेको एसएसपीहरु लव विष्ट र बलराम शर्मा पौडेल कानुनी उपचार खोजेका थिए। त्यस्तै अर्का महानिरिक्षक प्रकाश अर्यालको कार्यकालमा चार वटा डीआइजीको सीट खाली हुँदाहुँदै पनि बढुवा नभएपछि एसएसपीहरु यादव राज खनाल र मिलन बस्नेतले अवकाश पाएका थिए।