मासुजन्य पदार्थ अनुगमन गर्न कार्यदल
काठमाडौं : भक्तपुर तथा ललितपुरलगायत ठाउँमा रहेका तारे होटल, पार्टी प्यालेस, रेष्टुरेन्ट तथा कोल्ड रुमहरुमा अवैधरुपमा भारतबाट भित्रिएका तयारी मासु तथा मासुजन्य पदार्थको अनुगमन गर्न कार्यदल गठन गरिएको छ। सरकारी निकायको संयोजन रहने कार्यदलमा पोल्ट्री व्यवसायीहरु समेत संलग्न रहनेछन्।
काठमाडौं, भक्तपुर, ललितपुर तथा काभ्रे जिल्लाका दाना उद्यमीहरु, ह्याचरी उद्यमीहरु, कुखुरा पालक किसानहरु, कोल्डस्टोर व्यवसायीहरु तथा चल्ला दाना वितरकहरुको संयुक्त भेलाबाट सो कार्यदल गठन गरिएको हो।
भेलाले नाकाबाट खुलेआम रुपमा आयात भइरहेको कुखुरा तथा चल्लाको नियमित चेकजाँच गरेर मात्र भेटेरीनरी सिफारिस गरिदिन सरकारबाट सम्बन्धन प्राप्त भेटेरीनरी डाक्टरहरुलाई अनुरोध गरेको छ।
उल्लेखित निर्णयलाई पूर्णरुपमा पालना गर्न पशुसेवा विभाग एवं अन्य मातहतका विभागीय प्रमुखसँग छलफल गरी समस्या समाधानका लागि सम्बन्धित निकायलाई पत्राचार समेत गर्ने/गराउने निर्णय पनि भेलाले गरेको छ।