समायोजनको भूत र महिला कर्मचारीका पीडा
२०७१ सालमा माध्यमिक तहको अंग्रेजी शिक्षकको परीक्षा उतीर्ण भएपछि मेरो जागिरे जीवन सुरु भयो। सपना त थियो निजामति सेवामा प्रवेश गरेर राष्ट्रसेवा गरौँ। तर मैले अध्ययन गरेको विषयले शिक्षक बनायो। शिक्षण जस्तो मर्यादित र प्राज्ञिक सेवामा तल्लिन रहने मौका मिलेकोले म खुसी नै थिएँ।
जब पदस्थापनको समय आयो तब वैचारिक/राजनीतिक आस्थाका आधारमा अनेकन चलखेल भइरहेको थाहा पाएँ। दलका नेताहरूलाई भनसुन गर्नुपर्छ भन्ने सुनेँ। राज्यले गर्भवती महिलाका लागि दिएको सुविधा मेरो हकमा लागू हुने नदेखेपछि मैले दोजिया अवस्थामै आफ्ना मागहरू राख्न बाध्य भएँ।
अन्ततः हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको पश्चिम चौकुने गाउँपालिकाको जगन्नाथ माध्यमिक विद्यालयमा पदस्थापन भएँ। शिक्षण पेशामार्फत राष्ट्रसेवा गर्ने संकल्प गरी सपथ खाएँ। म महिला हुँ, कमजोर छु भन्ने कहिल्यै लागेन तर ७ महिनाको गर्भवति, घरदेखि टाढा बस्नुपर्ने र पौष्टिक आहार तथा आरामको जरुरत भएको बेलामा दिनभर कक्षाकोठामा उभिएर पढाउनुपर्ने कुराले मलाई कताकता पिरलो पनि लागेको थियो। बरु जागिर नै नखाएको भए हुन्थ्यो कि भन्ने पनि लाग्यो।
तर हिम्मत हारिनँ। जसोतसो एक महिना शिक्षण गरेँ। मेरो अवस्थाबारे पटकपटक जानकारी गराइरहेको भएर होला घरपायक पर्ने वीरेन्द्रनगरकै त्रिपुरेश्वर माध्यमिक विद्यालयमा मेरो सरुवा भयो। खुसीको सीमना नै रहेन। पेटभित्र हुर्किरहेको बच्चा र आफ्नो स्वास्थ्यमा कुनै समस्या आएमा तुरुन्त उपचार पाइन्छ भन्ने कुराले मन हर्षित भयो।
त्रिपुरेश्वर माविमा पढाउन थालेको एक महिनापछि २०७१ पुसमा पहिलो सन्तानको रुपमा छोरी जन्मिई। शल्यक्रियामार्फत् म सुत्केरी भएकी थिएँ। शल्यक्रियापछिको दुखाई भोग्नेलाई मात्रै थाहा हुन्छ। राज्यले दिएको दुई महिने विदा सकिएपछि राम्ररी तङ्ग्रिन नपाउँदै १२० जना विद्यार्थी भएको कक्षामा पढाउन थालेँ। छोरीलाई पनि स्कुल लानुको विकल्प मसँग भएन। दूध खुवाउनेदेखि उसलाई स्याहार गर्ने काम पनि अध्यापनसँगसँगै जारी स्कुलमा हुने विविध क्रियाकलापमा नेतृत्वदायी भूमिका निर्वाह गर्न भने सकिएन। किनकि मेरा भिन्नभिन्न भूमिकाहरू थिए। कहिले आमा, कहिले बुहारी, कहिले शिक्षिका र अन्य सामाजिक भूमिकाहरू पनि। पुरुषप्रधान समाजमा निर्वाह गर्नुपर्ने यस्ता भिन्न भूमिकाहरू मजस्तै सबै महिलाका साझा समस्या नै हुन्।
जब थकित् भएर घर फर्किन्थेँ सोच्ने गर्थेँ- निजामति सेवामा जान पाएको भए सजिलो हुन्थ्यो कि। मानसिक द्वन्द्वका बीच मैले लोकसेवा आयोगको तयारी थालेँ। शिक्षण पेशालाई असर नपर्नेगरी लोकसेवाको तयारी थालेँ। पछि एक महिना एकमुष्ट विदा लिएर काठमाडौं गएँ र तयारी कक्षा लिएँ। दोस्रो पटकसम्मको प्रयास पछि २०७४ सालमा निजामति सेवाको शाखा अधिकृतको लिखित परिक्षामा उतीर्ण हुन सफल भएँ। लिखित परीक्षामा त सफलता हात पर्यो तर कम्प्युटर सीप र अन्तर्वार्ताको तयारीका लागि फेरि काठमाडौं जानुपर्ने बाध्यता सिर्जना भयो। फेरि चिन्ताले सताउन थाल्यो किनकी यसबीचमा म दोस्रो पटक गर्भवति भएकी थिएँ। पेटमा ९ महिनाको बच्चा हुर्किरहेको थियो। कसरी जाने, तयारी कसरी गर्ने, अरुसँग प्रतिस्पर्धा गर्न सक्छु कि सक्दिनँ जस्ता प्रश्न दिमागमा आए। श्रीमान् र घरपरिवारको सहयोग तथा हौसलाले भने ऊर्जा दिइरह्यो।
कम्प्युटरमा अलि कमजोर भएकोले कक्षा लिने निधो गरेँ। पेटमा नानी बोकेर म सकिनसकी कम्प्युटर कक्षा लिन जान्थेँ। यता कम्प्यूटर सीपको परिक्षा नजिकिँदै थियो, उता श्रीमान् पित्तथैलीको संक्रमणका कारण अस्पतालको बेडमा छट्पटाइरहनुभएको थियो। हरेश नखाई कम्प्युटरको परीक्षा दिएँ र नियमित गर्भजाँचका लागि एक्लै अस्पतालसम्म पुगेँ। डाक्टरले पहिलो बच्चा शल्यक्रिया गरी जन्माइएको र मेरो रक्त समूह ओ नेगेटिभ भएकाले दुई दिनपछि शल्यक्रियामार्फत् नै बच्चा निकाल्ने बताए।
मलाई जागिर भन्दा आफू र आफ्नो सन्तानको स्वास्थ्य ठूलो हो जस्तो लाग्यो। २०७४ कात्तिक ७ गते शल्यक्रियामार्फत् दोस्रो सन्तानको रुपमा छोरा जन्मियो। एकैपटक म खुसी र दुःखी भएँ। परिवारले पूर्णता पाउँदा म खुसी थिएँ। दुःखी यसकारण थिएँ कि त्यही दिन श्रीमानको धुलिखेल अस्पतालमा पत्थरीको शल्यक्रिया हुँदै थियो। सँगै खुसी बाँड्न पनि पाएनौँ। आफ्नो शरीरको दुखाईभन्दा अर्काको शरीरको दुखाईमा पहिलोपटक पीडा भयो। श्रीमानलाई के हुने हो भन्ने शंकाका बीच उहाँको पनि शल्यक्रिया सफल भयो। सुखको लामो सास फेरेँ।
दुबैलाई बिस्तारै सञ्चो हुँदै थियो तर लोकसेवाको अन्तर्वार्ता बाँकी नै थियो। सुत्केरी भएको २० दिनमा नाबालक बच्चालाई खासमा च्यापेर जेनतेन अन्तर्वार्ता दिएँ। म सफल भएँ। सफल त भइयो तर प्रशासनिक तालिम केन्द्रले प्रशासन सेवाका नवनियुक्त कर्मचारीलाई दिने ६ महिने तालिम कसरी लिने भन्ने समस्या पर्यो। दोधारकै बीच तालिम लिएँ। तालिम केन्द्रको पाठ्यक्रममा भएका हरेक क्रियाकलापमा अनिवार्य सहभागिता जनाउनुपर्ने नियम रहेछ। तर तालिम केन्द्रले मेरो समस्या बुझेर अलिक लचक भइदियो। सहज वातावरणमा तालिम दिन पाएँ।
तालिम सकिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदस्थापनका लागि बोलायो। विभागीय मन्त्रीलाई आफ्नो अवस्थाबारे जानकारी गराउनुपर्ने स्थिति बन्यो। योग्यताअनुसार मैले रोजेको ठाउँमा काम गर्न पाउने भएँ। अध्यागमन अधिकृत छोडेर आफूलाई पायक पर्ने कर्णाली प्रदेश नै राजेँ र सामाजिक विकास मन्त्रालयमा पदस्थापन भएर हालसम्म कार्यरत छु।
अहिले फेरि म र मेरा सहकर्मीहरूलाई कर्मचारी समायोजनको भूतले सताइरहेको छ। कहाँ परिने हो ? कता जाने हो ? भन्ने प्रश्नले भित्रभित्रै खाइरहेको छ। जागिरे जीवन पनि पुरुषको भन्दा महिलाको कष्टकर हुँदो रहेछ। बालबच्चालाई स्याहार गर्न नपाइने, बच्चा कुपोषित हुन्छन् कि भन्ने डर लाग्छ। मेरो संयुक्त परिवार भएकाले बच्चाको स्याहार हुँदा त यस्तो छ भने एकल परिवारका महिला कर्मचारीको अवस्था कस्तो होला ?
महिला पुरुषलाई बराबर भनिएको छ। महिलालाई आरक्षणसहितका अनेक सुविधा पनि दिइएको छ। तर समाजमा सुन्ने गरिन्छ किन चाहियो आरक्षण ? सामाजिक र जौविक भूमिकाका कारण महिलालाई निश्चित पदसम्म राज्यले आवश्यक सेवासुविधा र आरक्षण दिनुपर्ने भन्ने पक्षमा छु म। यो मेरो मात्र भोगाई होइन। हरेक नेपाली जागिरे महिलाको भोगाई हो। हाम्रो पीडालाई सम्बोधन हुनेगरी हामीलाई रोजेकै ठाउँमा समायोजन गरी उचित व्यवस्थापन गरिदिन म सरकारसमक्ष आग्रह गर्छु।
(बिसी नेपाल सरकारको शाखा अधिकृत हुन्।)