अरुण तेस्रो आक्रमण रहस्यमय

अरुण तेस्रो आक्रमण रहस्यमय

खाँदबारी : बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् परियोजनालाई लक्ष्य गरी विभिन्न समयमा बम विष्फोट र आगजनीका घटना भइरहे पनि त्यसको वास्तविकता पत्ता लाग्न सकेको छैन। संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको जलविद्युत् परियोजनामा आक्रमणको घटनाको जिम्मेवारी कसैले नलिनु र घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नुले घटना रहस्यमय बन्दै गएको छ।

पहिलोपटक २०७२ साल मंसिर २३ मा अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादनस्थलमा रहेको भवनमा आगजनी भयो। पहिलो घटनाको जिम्मेवारी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको थियो। त्यसयता विभिन्न समयमा भएका बम विष्फोट र आगजनीका घटनाको जिम्मेवारी भने कसैले लिएको छैन। नत घटनामा संलग्नलाई पहिचान गरेर प्रहरीले पक्राउ गर्न सक्यो।

२०७४ माघ २७ मा विद्युत् उत्पादनस्थलको भवनमा बम विस्फोट गराइ क्षति पुर्‍याइयोे। माघ २४ गते पुखुवास्थित विद्युत् उत्पादनस्थलमा बम विष्फोट गराइयो। तीनवटा बम विस्फोट हुँदा एउटा जेनेरेटर र सुरुङ खन्ने उपकरणमा क्षति पुगेको थियो। यस क्षेत्रमा १३ जना नेपाल प्रहरीले कडा सुरक्षा दिइरहेको जनाइएको छ। विद्युत् उत्पादन गृह स्थलको तलतिर अरुण नदी छ भने माथितिर गाउँ छ। एक सुरक्षा अधिकारीले भने, ‘तल नदी र माथि गाउँ भएका कारण बम पड्काएर अपराधीलाई भाग्न त्यति सजिलो छैन। धेरै लामो अनुसन्धान गरिए पनि अहिलेसम्म घटनामा संलग्नको पहिचान गर्न सकिएको छैन।’ सोही स्थानमा प्रहरीको बिट रहेकाले तत्काल चारैतिर घेराहाली नियन्त्रणमा लिन सक्ने भए पनि अहिलेसम्म कुनै घटनामा संलग्नलाई पक्राउ पर्न सकिएको छैन।

आयोजनामा सुरक्षा चुनौती बढेको भन्दै यसमा जिल्लाका सुरक्षा प्रमुख गम्भीर हुनुपर्ने सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य राजेन्द्र कार्की बताउँछन्। जिल्ला सहजीकरण तथा समन्वय बैठकमा आफ्नो धारण राख्दै उनले जिल्लाको समग्र सुरक्षाबारे गम्भीर हुनुपर्ने बेला आएको बताए। आयोजनाका लागि छुट्टै सुरक्षा व्यवस्था गर्नुपर्ने नेपाली कांग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठको भनाइ छ। अरुण तेस्रोमा भइरहेका घटनालाई गम्भीर रूपमा लिएर जिम्मेवार निकाय सम्वेदनशील हुनुपर्ने श्रेष्ठले बताए। उनले भने, ‘यसमा चलखेल हुन सक्ने भएकाले समयमै ध्यान दिन जरुरी छ। अप्ठेरो परिस्थितिलाई रोक्न राजनीतिक दलसमेत लाग्नुपर्ने बेला आएको छ।’ जिल्लाको सुरक्षा र विकास निर्माणसहित समग्र विषयमा जिल्ला सहजीकरण तथा समन्वय बैठक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको थियो।

धेरै लामो अनुसन्धान गरिए पनि अहिलेसम्म घटनामा संलग्नको पहिचान गर्न सकिएको छैन ।

जिल्लामा विप्लव माओवादीको प्रभाव नरहेकाले यस घटनालाई राजनीतिक रूपमा हेर्न नहुने नेकपाका जिल्ला एकता कार्यदल सदस्य हेमराज घिमिरेले बताए। अरुण तेस्रोप्रति भएका घटना शंकास्पद हुँदै गएकाले आयोजना निर्माणको जिम्मा लिएको भारतीय सतलज कम्पनीले नै समयमा काम नगर्न चलखेल गरेको हुन सक्ने आशंका घिमिरेले व्यक्त गरे। पटकपटक घटना भए पनि जिम्मेवारी कसैले नलिनु र अनुसन्धानबाट समेत दोषी पत्ता नलाग्नुले घटना नियोजित हुन सक्ने घिमिरेको भनाइ छ। सुरक्षा चुनौती देखाएर आयोजनाले आफ्ना सुरक्षाकर्मी ल्याउन खोजेको हुन सक्ने गम्भीर आशंका उब्जिएको उनले बताए।

तुम्लिङटारस्थित अरुण तेस्रोको कार्यालयमा २०७५ साल वैशाख १६ मा बम विष्फोट गरिएको थियो। त्यसले कार्यालयको कम्पाउन्ड वालमा समेत केही क्षति भयो। गत जेठ ३० गते राति खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रशासकीय भवनलाई लक्षित गरी अज्ञात समूहले सकेट बम विष्फोट गराएको थियो। जेठमा कार्यालयको बाहिरी कम्पाउटमा तीनवटा सकेट बम प्रहार भएका थिए।

पावर हाउस र बाँध निर्माणस्थल सदरमुकाम भन्दा टाढा, एकान्तमा हुनु र जिल्लामा सुरक्षाकर्मीको कमीका कारण अरुण तेस्रोले सुरक्षा चुनौती बढेको संखुवासभाका प्रहरी नायव उपरीक्षक श्यामकुमार सारु मगर बताउँछन्। जिल्लामा दरबन्दीअनुसार सुरक्षाकर्मी नभएकाले पनि पर्याप्त सुरक्षाकर्मी आयोजनास्थलमा खटाउन नसकेको प्रमुख मगरले बताए। आयोजना सुरक्षालाई लक्षित गरी जिल्ला प्रवेश नाका टुटेदेरालीदेखि ड्याम साईडस्थल मकालु गाउँपालिकाको फ्याक्सिन्दा दोभान र विद्युत् उत्पादन गृह पुखुवासम्म करिब एक सय ९० किलोमिटर क्षेत्रमा निर्माण सामग्री ल्याउन नेपाल प्रहरीले स्कटिङ गर्ने गरेको छ।

अरुण तेस्रोको विद्युत् उत्पादनस्थलमा १३ जना, बाँध निर्माणस्थलमा १५ जना र अरुण तेस्रोको प्रशासनिक भवन तुम्लिङटार परिसारमा १५ जना नेपाल प्रहरीले सुरक्षा दिइरहेका छन्। पावर हाउस, ड्याम साइड, तुम्लिङटार कार्यालयका लागि खटाइएको प्रहरी पर्याप्त नभएको प्रनाउ मगरले बताए।

आयोजनाको सुरक्षाका लागि सशस्त्र प्रहरी बलका तर्फबाट सुरक्षा बेस स्थापना गर्न सिफारिस गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए। उनले विभिन्न समयमा अरुण तेस्रो जलविद्युत् परियोजनालाई लक्ष्य गरेर भइरहेका विष्फोट र आगजनीका घटनामा गम्भीररूपमा अनुसन्धान गर्ने काम भइरहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.