मुख्यमन्त्री रनिङ शिल्डको उपाधि रुकुम र कालिकोटलाई
सुर्खेतः सुर्खेतमा जारी कर्णाली प्रदेशस्तरिय मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिम र कालिकोटले हात पारेका छन्। खुला महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत आइतबार भएको फाइनल खेलमा रुकुम पश्चिम र कालिकोट विजयी भएका हुन्।
पुरुषतर्फको खेलमा सल्यानलाई तीन शून्यको सोझो सेटमा हराउँदै रुकुम पश्चिमले उपाधि हात पारेको हो भने, महिला तर्फको उपाधि कालिकोटले पनि तीन-शून्यको सोझो सेटमा रुकुम पश्चिमलाई सहज रुपमा हराउँदै जीत निकालेको हो।
प्रतियोगिता सम्पन्न पछि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री, प्रकाश ज्वाला, भौतिक योजनामन्त्री,आन्तरिक मामिलामन्त्री, सामाजिक विकास मन्त्रीबाट पुरस्कार वितरण गरिएको छ।
प्रतियोगितामा पुरुषतर्फ सुर्खेत र महिलातर्फ दैलेखले तेस्रो स्थान हाँसिल गरेको छ।प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडिमा पुरुषतर्फ रुकुम पश्चिमका डाइमण्ड खड्का र महिलातर्फ कालिकोटकी पुस्पा शाही रहेका छन्।
उनीहरुलाई जनही पाँच हजार नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ। उपाधि हात पार्ने दुवै समूहले एक÷एक लाख नगद, प्रमाणपत्र र रनिङ्ग शिल्ड प्राप्त गरेको आयोजक सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, द्वतीय हुने समूहले ७५ हजार र तृतीय हुनेले ५० हजारसहित मेडल प्राप्त गरेका छन्। यही फागुन १ गतदेखि सुरु भएको प्रतियोगितामा प्रदेशका १० वटा जिल्लाका महिला र पुरुषका एक÷एक गरी जम्मा २० वटा समूहको सहभागिता थियो।
यस्तै, शनिबार भएको भएको खेलमा पुरुषतर्फ सल्यानले दैलेखलाई र रुकुमले सुर्खेतलाई पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान पक्का गरेका थिए। समूह चरणको पहिलो खेलमा रुकुमलाई हारको स्वाद चखाएको सल्याल पुनः जित हातपार्दै उपाधिका लागि फाइनलमा पुगेको थियो।
महितर्फ शनिबार महिला तर्फको कालिकोटले सुर्खेतलाई र रुकुमले दैलेखलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए। ५० लाख बढी खर्चिएको प्रतियोगितामा आगामी वर्षमा अरु खेललाई पनि समावेश गरिँदै लैजाने प्रदेश सरकारले जानकारी दिएको छ।
खेल क्षेत्रमा सरकारी लगानी नभएको गुनासो आइरहेको बेला प्रदेश सरकारले खेल प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए।