झापा आइपुगे तस्करको जालोमा फसेका १७९ नेपाली
काँकडभिट्टा : भारतले आफ्नो देशको हवाईमार्ग हुँदै तेस्रो देश जानमा कडाई गरेपछि मानव तस्करले नयाँ बाटो बनाएको खुलेको छ। उनीहरुले नेपाली महिला र पुरुषलाई म्यानमारबाट इराक पु्र्याउने गरेको खुलेको हो।
नेपालीलाई केही महिनाअघि मात्र भारत–म्यानमार व्यापारिक प्रयोजनका लागि खुला गरिएको नाका हुँदै इराक पुर्याउने गरेको खुलेको हो।
भारत मणिपुरको प्रान्तीय राजधानी इम्फालबाट म्यानमारका लागि नोभेम्बरदेखि व्यापारिक नाका खुल्ला गरिएको थियो। नेपालको काठमाडौ र भारतको बागडुकुरा एयरपोर्टसहित सडकमार्ग अन्तर्गत काँकडभिट्टा नाकाबाट नेपालीलाई भारतको राजधानी दिल्ली पुर्याउने र त्यहाँबाट इम्फालहुँदै म्यानमार पुर्याउने गरेको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले जानकारी दिए। आइतबार इम्फालबाट १ सय ७९ नेपालीलाई एकैपटक उद्धार गरेपछि यस्तो रहस्य बाहिरिएको हो।
पहिले मानव तस्करीमा संलग्न व्याक्तिले श्रीलंकाको लागि ई–भिसा लगाउने गरेका थिए। भारतमा श्रीलंकाको भिसा लागेको देखिएपछि नरोक्ने हुँदा उनीहरुले त्यो बाटो रोज्ने गरेका थिए। अहिले श्रीलंकाले पनि इ–भिसामा कडाई गरेपछि मानव तस्करले अर्को बाटो रोजेका हुन्।
खड्काका अनुसार भारतले पनि हवाईमार्ग हुँदै तेस्रो देश जान कडाई गरेको छोटो समयमा नै मानव तस्करले यो मार्ग रोजेका हुन्। ‘हामी दिल्ली हुँदै उद्धारका लागि इम्फाल पुग्यौ, त्यहाँका अधिकारीसँग कुरा गर्दा त्यो नाका खुलेको तीन महिना जति मात्र भएको बताए’, अध्यक्ष खड्काले भने, ‘तर यो नाका हुँदै करिब तीन सय नेपाली म्यानमार छिरेको देखियो।’
यो नाकाबाट म्यानमार हुँदै इराक जाने नेपालीको ठूलो संख्या देखेर मणिपुरका सरकारी अधिकारीनै आश्चार्यमा परेको उनको भनाइ छ।
गत माघ २३ गते नै उद्धारका लागि मणिपुरको प्रान्तीय राजधानी इम्फाल पुगेको माइती नेपालको टोलीले १ सय ७९ नेपालीको उद्धारका लागि भारतस्थित नेपाली दूतावास र महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग समन्वय गर्दै भारतको केन्द्र सरकार, मणिपुर सरकार, मणिपुरस्थित गोरखा दुःख निवारण समिति जस्ता संस्थासँग समन्यव गरेको थियो। मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्दार गरिएका सबैलाई नेपाली टोलीको जिम्मा लगाएका थिए।
मंगलबार बिहान ६ वटा भारतीय बसमा उद्धार गरिएका १ सय ४७ महिला र ३२ पुरुषलाई काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइएको छ। एउटा बसमा पुरुष र पाँच वटा बसमा महिलालाई काँकडभिट्टास्थित मेची भन्सार कार्यालयसम्म ल्याइएको र त्यहाँबाट मंगलबारनै नेपाली बसमा काठमाडौ लगिएको छ।
मेची भन्सार कार्यालयसम्म महिला तथा बालबालिका मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसाल उद्धार गरिएका नेपालीलाई लिन पुगेका थिए। उद्धार गरिएका महिला तथा पुरुषले उनीहरुलाई त्यहाँ पुर्याउने एजेन्टको नाम भने अझैसम्म नखुलाएको माइती नेपालका प्रतिनिधिले बताएका छन्। 
प्रतिक्रिया दिनुहोस !