आठौं राष्ट्रिय खेलकुदको प्रदेशस्तरीय छनोट सुरु
![आठौं राष्ट्रिय खेलकुदको प्रदेशस्तरीय छनोट सुरु](https://annapurnapost.prixacdn.net/media/albums/sports_20190219142738_uaYnvme2fG.jpg)
विराटनगर : राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने आठौं राष्ट्रिय खेलकुदको प्रदेश १ को प्रदेश स्तरीय छनोट प्रतियोगिता मंगलबारबाट विराटनगरमा सुरु भएको छ।
आठौं राष्ट्रिय खेलकुदमा समावेश गरिएका ३५ खेल मध्ये फुटबल, एथलेक्सि, भारोत्तोलन, टेबुलटेनिस, क्रिकेट, भलिबल, तेक्वान्दो, कवड्डी, खोखो, उसु, बास्केटबल, ब्याडमिन्टन, कराँते, ह्याण्डबल, चेस, पौडी, सुटिङ, कुस्ती, आईटिएफ तेक्वान्दो, सेपकताक्रो फुलकन्याक कराँते, हक्की र स्क्वास गरी २५ खेलको छनौट प्रक्रिया प्रदेश १ बाट सुरु भएको हो।
लङटेनिस, साइक्लिङ, आर्चरी, फिन्सिङ,गल्फ,प्याराग्लाईडिङ,ट्याथलन, सफ्टेनिस, जिम्यास्टिक र शारीरिक सुगठन खेल भने राष्ट्रिय प्रतियोगिताका लागि संघबाट स्वतः छनोट भएका छन्।
छनोट अन्तर्गतको कराँते प्रतियोगिताको महिला एकल कातातर्फ खोटाङकी रेश्मा राईले स्वर्ण जितेकी छन्। रेश्माले मोरङकी स्वस्तिका राईलाई पराजित गरिन्। महिला एकल कातामै इलामकी विमोचन गुरुङ र शर्मिला श्रेष्ठले कास्य जिते। पुरुष कातामा सुनसरीका रोहित राई सेमिफाइल प्रवेश गरेका छन्।
त्यस्तै बक्सिङतर्फ महिला ४८ केजी तौलमा भोजपुरकी प्रतिमा राईले क्वाटरफाइनलमा स्थान बनाएकी छन्। प्रतिमाले उदयपुरकी सुस्मिता तामाङलाई एबीडीका आधारमा पराजित गरिन्। त्यस्तै बक्सिङमै पुरुष ५६ केजी तौल समूहमा धनकुटाका रोशन श्रेष्ठ र झापाका सुरेन्द्र राई क्वाटर फाईनलमा प्रवेश गरेका छन्।
धनकुटाका रोशनले मोरङका पियूष शर्मालाई अंकका अधारमा हराउँदा झापाका सुरेन्द्रले सुनसरीका पावेल राई आरएसीका आधारमा पराजित गरे।
पुरुष ६० केजीमा इलामका तोविन प्रधानले घनकुटाका नवीन लिम्बूलाई आरएसीका आधारमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाए। फाल्गुन ११ गतेसम्म सञ्चालन हुने बक्सिङमा महिलातर्फ ६ तथा पुरुषतर्फ १० तौल समूह रहेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)