युरेनियम खानीले सास्ती

युरेनियम खानीले सास्ती

मकवानपुर : पूर्वी मकवानपुरको बकैया गाउँपालिका–२ स्थित धियाँलमा दुई दशकअघि युरेनियमको खानी पत्ता लागेको थियो । गाउँमा बहुमूल्य युरेनियमको खानी फेला परेपछि उत्साहित गाउँले आजभोलि दिक्क छन् ।

उनीहरूको अपेक्षा थियो, खानीले गाउँको विकास हुन्छ । तर युरेनियम खानी धियाँलका लागि रोगको भकारी बनेको छ । खानी हुँदै बग्ने पानी खान बाध्य स्थानीय क्यान्सरलगायत घातक रोगहरूको सिकार भएका छन् । लामो समयदेखि खानी उत्खनन हुन नसकेपछि उनीहरूले आफ्नो बस्ती स्थानान्तरण गरिदिन सरकारसँग माग गरेका छन् ।

धियाँलस्थित कालापानी, चाँदे, तीनभँगाले र छतिवनस्थित मामदमार क्षेत्र युरेनियमको विकिरणबाट प्रभावित छन् । विकिरणयुक्त पानी खाँदा क्यान्सर भएर १२ जना स्थानीयले अकालमा नै ज्यान गुमाइसकेको कालापानीकी कान्छीमाया स्याङ्तानले बताइन् । ‘खानेपानीको अर्को विकल्प छैन, पहाडबाट रसाएको पानी खाँदा धेरैले ज्यान गुमाइसकेका छन्’, उनले भनिन्, ‘सरकारले आजसम्म केही गरेको छैन । बरु हामीलाई यहाँबाट अन्यत्र सारिदिए हुन्थ्यो ।’

धियाँलस्थित कालापानी, चाँदे, तीनभँगाले र छतिवनस्थित मामदमार क्षेत्र युरेनियमको विकिरणबाट प्रभावित छन् ।

खानी स्रोतबाट आएको पानी खाँदा झाडापखाला लाग्ने, शरीरमा खटिरा आउने गरेको स्थानीय लालबहादुर स्याङ्तानले बताए । प्रदूषित पानीकै कारण आफन्त गुमाएका स्याङ्तान यो ठाउँमा बस्ने रहर नभएको बताउँछन् । ‘क्यान्सर भएर दाजु बित्नु भयो, पानीकै कारण यहाँका मान्छेको ज्यान पनि सुकेको छ’, उनले भने, ‘मान्छेमात्र होइन खानी क्षेत्रको जंगलसमेत राम्ररी फस्टाएको छैन ।’ अरु ठाउँको जंगलमा ठुल्ठूला रुख भए पनि यहाँ भुइँमै हराउँला जस्तो जंगल रहेको उनले बताए ।

कालापानी फेदीमा भूमेश्वरी प्राविका विद्यार्थी पनि खानी भएको पहाडबाटै बग्ने पानी खान बाध्य छन् । यहाँका स्थानीयको स्वास्थ्यमा खानीले पारेको असरबारे अहिलेसम्म अनुसन्धान भएको छैन । स्थानीय स्वास्थ्यकर्मी प्रकाश काउछा मगरले यहाँको पानी स्वास्थ्यका लागि हानिकारक भए पनि खानेपानीको विकल्प नभएको बताउँछन् ।

खानी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेर युरेनियम उत्खनन् गर्न पहल गरिरहेको बकैया गाउँपालिका–२ धियाँलका अध्यक्ष वीरमान बलले बताए । ‘स्थानीय सरकारले चाहेर मात्रै केही गर्न सकिने अवस्था छैन’, उनले भने, ‘सम्बन्धित निकायमा हामीले यसबारे ध्यानाकर्षण गराए पनि खासै चासो दिएको छैन ।’ बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले बस्ती स्थानान्तरण गर्न गाउँपालिकाले आवश्यक पहल गरिरहेको बताए । ‘यहाँको बस्ती अन्यत्र सारेर खानी उत्खनन गर्न हामी पहल गर्छौं’, उनले भने । यहाँ करिब सय परिवारको बसोबास छ ।

सरकारले खानी उत्खनन गर्ने हल्ला लामो समयदेखि चले पनि सरकारले आधिकारिक रूपमा खानीको परीक्षण गरेको छैन । तर बर्सेनि देसी विदेसी अनुसन्धानकर्ता युरेनियम अनुसन्धानका लागि यहाँ आउने गरेका छन् । पहिलो पटक त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र विभागका प्राध्यापक देवीदत्त पौडेलको सुपेरीवेक्षणमा अर्जुन पाठकले गरेको अध्ययनमा मकवानपुरको सिवालिक क्षेत्रमा सघन अक्साइडका रूपमा युरेनियम रहेको पत्ता लगाएका थिए । युरेनियम सबैभन्दा बढी पारमाणविक भार भएको रेडियोधर्मी धातु हो । २३८ पारमाणविक भार हुने यो धातुले लगातार रेडियोधर्मी विकिरण फ्याँकिरहने भएकाले सीमित आयु हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.