अझै बनेन भेरी पुल

अझै बनेन भेरी पुल

जाजरकोट : तीन वर्षभित्र सक्ने गरी निर्माण थालिएको मध्यपहाडी लोकमार्गको भेरी पुल ६ वर्ष बितिसक्दा पनि बनेको छैन। निर्माण कम्पनीको चरम लापरवाहीका कारण सडकखण्डअन्तर्गत पश्चिम रुकुमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने भेरी नदीको पुल निर्माण अलपत्र परेको हो।

१३ करोड ४७ लाख रुपैयाँ लागतको उक्त पुल निर्माण गर्ने जिम्मा वाईपी कन्ट्रक्सन प्रालि ललितपुरले लिएको थियो। ठेक्का सम्झौता भएको ६ वर्ष बितिसक्दा पनि पुलको मुख्य पिलरको जग खन्ने काम पनि पूरा हुन सकेको छैन। निर्माण व्यवसायी राजुप्रसाद श्रेष्ठ सम्पर्कविहीन छन्। पुल निर्माणमा चरम लापरवाही हुँदासमेत नियामक निकाय मौन रहेको भन्दै पश्चिम रुकुम र जाजरकोटवासी आक्रोशित छन्।

जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानीप्रसाद शर्माले भने, ‘ठेकेदारले पुलको काम नगरेर लामो समयसम्म अलपत्र पार्दा पनि सरकारले काम सुचारु गराउन कुनै पहल गरेको छैन, पुलको काम लामो समयदेखि अलपत्र छ।’ ठेक्का सम्झौता गर्ने, पेस्की लिने तर काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुपर्ने उपप्रमुख शर्माले बताए। मध्यपहाडी (पुष्पलाल)लोकमार्ग आयोजनाअन्तर्गत चौरजहारी–कुदुस्थित भेरी नदी पुल निर्माणमा भएको ढिलाइले रुकुम र जाजरकोट सडक सञ्जाल जोडिनबाट वञ्चित भएको छ। पुल नबन्दा दुवै जिल्लाका स्थानीय आवतजावतका लागि झोलुंगे पुलको भरमा छन्। समयमा पुल निर्माण नहँुदा लोकमार्ग स्तरोन्नति गर्ने कार्यमा समेत बाधा पुगेको छ। त्यस्तै, पुल निर्माण अलपत्र पर्दा चौरजहारीमा नयाँ सहर निर्माण आयोजनाको कामसमेत प्रभावित बनेको छ।

भेरी पुल नबन्दा यातायात सञ्चालन र दुई जिल्लाबीचको आर्थिक तथा सामाजिक सम्बन्धसमेत टुटेको चौरजहारी नगर प्रमुख विशाल शर्माले बताए। बारम्बार टेलिफोनबाट मध्यपहाडी सडक आयोजना पश्चिम खण्ड र सम्बन्धित ठेकेदारलाई पुल बनाउन आग्रह गर्दा पनि सुनुवाइ नभएको उनले बताए। ‘मैले हार खाइसकेँ, छिटोछरितो पुल निर्माणका लागि सम्बन्धित पक्षलाई पटक–पटक अनुरोध गरिसकेँ तर सुनुवाइ भएन’, उनले भने, ‘अबको विकल्प भनेको ठेक्का सम्झौता तोडी ठेकेदारलाई कारबाही गर्ने र पुनः अर्को टेण्डर खोल्नुपर्छ अनि मात्र पुल बन्छ।’

सडक विभागको डिजाइनअनुसार कार्यस्थलमा कार्य गर्ने वातावरण नहुँदा पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ। पुरानो डिजाइनअनुसार पिलर तथा स्टिलपार्ट भएको पुल निर्माण गर्नुपर्ने थियो। तर, नदीको बहाव डाइभर्सन गर्न नसकिने भएपछि पिलर निर्माण रद्द गरेर लठ्ठावाला सस्पेन्सन ब्रिज बनाउने नयाँ डिजाइन बनेको हो। सडक विभागकै कारण पुल निर्माण ढिलाइ भएको निर्माण व्यवसायी श्रेष्ठको भनाइ छ। तर, निर्माण व्यवसायीकै लापरवाहीले दोस्रो पटक म्याद थप्दासमेत पुल निर्माण अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग पश्चिमखण्ड आयोजना कार्यालय दैलेखले जनाएको छ।

मध्यपहाडी लोकमार्ग जाजरकोटखण्डको ट्र्याक खोल्ने काम पूरा भएको छ। तर, पुल नबन्दासम्म उक्त सडक उपयोगमा आउन नसक्ने स्थानीय बताउँछन्। मध्यपहाडी लोकमार्ग जाजरकोट खण्डका इन्चार्ज इन्जिनियर तुला शर्माले निर्माण कम्पनीलाई काम गर्न ताकेता गरिएको बताए। भेरी पुल निर्माण परियोजनाका डाइरेक्टर उद्धव खत्रीले पनि केही समयमै पुल निर्माण पुनः सुरु गरिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.