दुई मिनेटमै पड्किएको थियो बम, सीसीटीभी फुटेज केलाउँदै प्रहरी
काठमाडौं : बेलुका ७:५४ । शुक्रबार ।
तीन वटा मोटरसाइकलमा तीन जना आउँछन्। बम राखिएको बस्तु ललितपुर नख्खुस्थित एनसेलको मुख्य कार्यालयभित्र प्यासेजमा छाडेर जान्छन्।
सेक्युरिटी गार्डले हेर्छन्। प्रेसर कुकर देखेपछि आत्तिएर कार्यालयको बाहिर गेट फाल्छन्।
दुई मेनेटमै ठूलो विस्फोटको आवाज आउँछ। धुलोले कुइरिमण्डल हुन्छ। सडकमै पैदल हिँडिरहेका सिंहबहादुर गुरुङ भुईँमा छट्पटाइरहेका हुन्छन्।
एनसेल कार्यालयमा रहेको सीसीटीभीमा कभर भएको दृश्य हो यो।
अनुसन्धानमा खटिएको प्रहरी टोली आइतबार सीसीटीभीको फुटेज केलाइरहेका देखिन्थे। सीसीटीभीमा सबै दृश्य कैद भएपनि बम विष्फोटको घटना कल्पना गरेका थिएनन सेक्युरिटी गार्डले।
प्रारम्भमा प्रहरीले दुई सेक्युरिटी गार्डलाई नियन्त्रणमा लिएपनि अहिले उनीहरूलाई छोडिसेकेको छ।
एक महिना अघि विप्लवका कार्यकर्ता भन्दै केही व्यक्ति एनसेल कार्यालयमै पुगेका थिए। ऊएको बुधबार मात्रै पनि चन्दा नदिए ‘दुर्भाग्यपूर्ण घटना व्यहोर्नुपर्ने’ चेतावनी दिएर फर्किएका थिए।
‘एनसेलका आधिकारिक व्यक्तिबाट आफूमाथि आएको धम्की समयमा प्रहरीलाई जानकारी नहुँदा यो घटना हुनपुग्यो, ‘अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘ घटना भइसकेपछि पछुताउनुबाहेक के हुन्छ।’
आइतबारै ललितपुरस्थित जिल्ला प्रशासन कार्यालयमा एनसेलका कर्मचारी सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीलाई भेट्न पुगेका थिए।
जोशी उल्टै कड्के। भने,‘ ‘घटना घटेपछी प्रहरीलाई जानकारी गराउन पर्दैन?’
शुक्रबार र शनिबार देशभर भएका शृंखलाबद्ध विस्फोटहरूको जिम्मा विप्लव निकट नेकपाले लिएको छ। शुक्रबार ललितपुरमा भएको घटनामा सिंहबहादुरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।