गुरुणां गुरु

गुरुणां गुरु

प्रा.डा. माधवप्रसाद पोखरेल, भाषाविद्

भाषाविद् एवं प्राध्यापक बालकृष्ण पोखरेल नेपाली भाषा पढ्ने सबै विद्यार्थीका र गुरुका पनि गुरु थिए। भाषाविद् चूडामणि बन्धुका पनि गुरु हुन्, उनी। त्यसैले त उनलाई भनिन्थ्यो, ‘गुरुणां गुरु।’ उनी मेरा पनि आदरणीय भतिजा पर्छन्।

त्यही धरोहर अब ढलेको छ। सर्वमान्य गुरु आइतबारदेखि हामीमाझ छैनन्।

भारतको बनारसबाट २०१३ सालमा पहिलो पटक निस्किएको ‘नौलो पाइलो’ पत्रिकाको सम्पादक रहेका बेला पोखरेलले झर्राेवादी आन्दोलन थालेका थिए। त्यति बेला उनलाई सघाउनेहरूमा बल्लभमणि दाहाल, कोषराज रेग्मी, ताना शर्मा, चूडामणि रेग्मी आदि थिए।

झर्राेवादी आन्दोलन सुरु गर्नुमा ‘नौलो पाइलो’ पत्रिकाको विशेष योगदान छ। त्यसको सुरुवात गर्ने र सम्पादकीय नेतृत्व गरेका पोखरेलको पनि यसमा योगदान नहुने कुरै भएन। हुन त त्यसअघि पनि महानन्द सापकोटा झर्राेवादी लेखनमा सक्रिय थिए। तर उनी आन्दोलनमा लागेका थिएनन्।

तीन किसिमले नेपाली भाषामा आक्रमण भयो अर्थात् यो बिटुलियो भनेर पोखरेलले आन्दोलन थालेका थिए। अंग्रेजी, हिन्दी र संस्कृत भाषा जान्नेहरूले नेपालीमा जबर्जस्ती अन्य भाषाका शब्द घुसाइदिए र बिटुल्याए भन्ने उनको भनाइ थियो। चोखो नेपाली शब्द प्रयोग गर्नुपर्नेमा अंग्रेजी, हिन्दी आदि भाषा मिसाएर नेपाली भाषालाई बिटुल्याइएको उनी बताउँथे।

अंग्रेजी पढ्नेहरूले नेपालीमा अंग्रेजी शब्द घुसाइदिए। संस्कृत जान्नेहरूले पनि यस्तै गरे। त्यसैले तीन किसिमको बिटुलोपनबाट मुक्त गर्नुपर्छ भन्ने आन्दोलनको उद्देश्य थियो। नेपाली भाषाका लागि झर्राे शब्द पहिलोपल्ट प्रयोग भएको पनि ‘नौलो पाइलो’ पत्रिकाबाट नै हो। त्यसको प्रयोक्ता पनि उनै पोखरेल हुन्।

झर्राे आन्दोलनसँगै नेपाली भाषामा प्रयोग हुने आगन्तुक शब्दको नेपालीकरण गर्ने काम पनि सुरु भयो। ‘स्कूल’ दीर्घ नलेखेर ह्रस्व लेख्ने, शहर शब्दमा पातलो ‘स’ प्रयोग गर्ने र ‘गरिब’ पनि ह्रस्व लेख्ने आदि प्रयोग त्यति बेलै सुरु भएका हुन्।

पोखरेलले कोलकाता विश्वविद्यालयबाट भाषाशास्त्रमा एमए गरेका हुन्। त्यसपछि उनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत नेपाली केन्द्रीय विभागमा पढाउन थाले। पढाउँदै थिए, २०३१ सालमा नेपाली भाषाको व्याकरणमा भारतको पुणे विश्वविद्यालयबाट बल्लभमणि दाहाल विद्यावारिधि गरेर आए। उनले पनि सँगै पढाउन थाले। त्यति बेला राष्ट्रिय शिक्षा पद्धतिअन्तर्गत नयाँ शिक्षा योजना लागू भएको थियो। त्यसबेला सबैभन्दा पहिले त्रिविले पाठ्यक्रममा अनिवार्य नेपाली विषयलाई पनि समेट्यो। यो काममा पनि पोखरेलको योगदान महŒवपूर्ण छ। त्यसअघि यस्तो व्यवस्था थिएन। यससँगै बल्लभमणि दाहाल अनिवार्य नेपालीको अध्यक्ष भए।

२०३४ सालको कुरा हो, त्रिविका देशभरिका आंगिक क्याम्पसमा नेपाली विषय पढाउने गुरुहरूको राष्ट्रिय अधिवेशन भयो। यसमा झर्राेवादी आन्दोलनका उठाइएका कुरालाई दाहालले अधिवेशनमा पेस गरे। र त्यहाँ सहमति जुट्यो पनि। परिणामस्वरूप २०४० सालमा छापिएको नेपाली बृहत शब्दकोषले झर्राेवादी शब्द ग्रहण गर्‍यो। झर्राेवादी आन्दोलनले दस्ताबेजको स्वरूप ग्रहण गरेको त्यही शब्दकोषबाटै हो।

त्यति बेला पोखरेल त्रिविबाट काजमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आएका थिए, सदस्य बनेर। शब्दकोषमा आगन्तुक शब्दको नेपालीकरण गर्ने काममा उनको भूमिका विशेष रह्यो। ‘नौलो पाइलो’ बाट सुरु भएको झर्राेवादी आन्दोलन बत्ती बनेर नेपाली बृहत् शब्दकोषका रूपमा सल्किएको थियो। यस काममा पनि पोखरेललाई बल्लभमणि दाहाल लगायतले सघाएका थिए।

भाषाशास्त्रमा एमए गरेर फर्केपछिको कुरा हो, पोखरेलले २०१९ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकाशन गर्ने ‘नेपाली’ भन्ने पत्रिकामा ‘नेपाली भाषाको कथा’ भन्ने लेख लेखेका थिए। त्यो लेखले नेपाली भाषालाई ऐतिहासिक रूपमा वर्गीकरण गर्ने काम गर्‍यो। लेख लेख्नुअघि उनले साविक मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका गाउँगाउँ डुलेर नेपाली भाषाको स्वरूपबारे सूक्ष्म अध्ययन गरेका थिए।

लेखमार्फत उनले नेपाली भाषालाई विसं १५५५ अघिको प्राचीनकाल, विसं १५५५ देखि पृथ्वीनारायण शाहभन्दा अघिसम्म माध्यमिक काल र त्यसपछि आधुनिक काल भनेर वर्गीकरण गरे। अहिलेसम्म उक्त वर्गीकरणमा छिटफुटबाहेक परिवर्तन भएको छैन। गाउँगाउँ घुम्ने क्रममा पोखरेलले गुरुप्रसाद मैनालीको ‘नासो’ कथाको एउटा अनुच्छेदलाई जुम्ली, डोट्याली, बैतडी आदिमा अनुवाद गराएका थिए। त्यही अनुवादको विश्लेषण गरेर नै उनले नेपाली भाषाका तीन भौगोलिक भाषिका छन् भनेर पत्ता लगाए। नेपाली भाषाको भौगोलिक अनुसन्धान गर्ने पहिलो व्यक्तिका रूपमा पनि उनी परिचित छन्। उनले सेती महाकाली क्षेत्रमा पश्चिमी भाषिका, कर्णाली क्षेत्रमा केन्द्रीय भाषिका र त्यहाँदेखि पूर्वतर्फ पूर्वी भाषिका बोलिने भनेर वर्गीकरण गरेका हुन्।

पहिले उनले तीन भाषिका छन् भने। तर पछि २०२२ सालमा ‘राष्ट्रभाषा’ पुस्तकमा पाँच भाषिका छन् भनेर संशोधन गरे। तिनै पाँच भाषिकालाई विश्वविद्यालयहरूले पढाइरहेका छन्। तर, डा. यज्ञेश्वर निरौलाले नेपाली भाषाका १२ भाषिका छन् भनेर पत्ता लगाएका छन्। यसमा उनले प्रमाण पनि पेस गरेका छन्। तैपनि प्राध्यापकले पाँच वटा नै भनेर पढाइरहेका छन्। यसलाई पनि बालकृष्ण पोखरेलको शक्तिका रूपमा चिन्न सकिन्छ।

पोखरेलले २०२० मा नेपाली भाषाका अभिलेखलाई कालक्रममा मिलाउने काम पनि गरे। र, पुस्तक नै लेखे— पाँच सय वर्ष। यो पुस्तकमा उनले पाँच सय वर्षका अभिलेखलाई कालक्रममा मिलाएका छन्। यो किताबमा ऐतिहासिक भाषिका छुट्याउने आधारका लागि प्रमाण पनि छन्।

पुस्तकमा उनले लामो भूमिका लेखेका छन्। त्यहाँ उनले खस जातिको परिचय लेखेका छन्। भूमिकामा राहुल सांकृत्यायनको प्रभाव देखिन्छ। त्यो पुस्तकबारे पछि पुष्कर लोहनीले आलोचना गरेर ‘पाँच सय वर्ष सुन हो कि घुन हो’ भन्ने किताब नै लेखे। त्यसपछि पोखरेलले ‘पाँच सय वर्ष’ पुस्तकबाट भूमिका हटाए। तर उनले खस जातिको अनुसन्धान छाडेनन्। फलस्वरूप ‘खस जातिको इतिहास’ पुस्तक नै ल्याए, २०५५ सालमा। त्यो किताब प्रकाशनमा आउनुमा लोहनीको आलोचना प्रमुख कारण थियो। साथै ‘पाँच सय वर्ष’को पुस्तकको भूमिका पनि एउटा कारण थियो।

हामी खस हौं, हाम्रो भाषा खस हो भन्ने सिकाउने व्यक्ति पनि उनै हुन्।

सबै चेलाका तर्फबाट उनीप्रति हार्दिक श्रद्धाञ्जलि।

(भूमीश्वर पौडेलसँग गरिएको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.