गोरखाको विकट क्षेत्र काशिगाउँमा पुग्यो मोटर

गोरखाको विकट क्षेत्र काशिगाउँमा पुग्यो मोटर

गोरखा : गोरखाको दुर्गम गाउँ सडक सञ्जालमा जोडिएको छ।विकट गाउँपालिकामध्यको धार्चे गाउँपालिका- ६ को काशिगाउँमा सडक पुगेपछि ट्रक, ट्याक्टर चल्न थालेको वडाअध्यक्ष धनकुमार घले बताउँछन्। आरुघाट- १ मान्बुको छोटेखोला हुँदै गाउँसम्म तीनदिनदेखि मोटर चल्न थालेको घलेले जानकारी दिए। धार्चे गाउँपालिकाको लाप्राक, गुम्दा र लापुमा यसअघि नै गाडी पुगिसकेको छ।

काशिगाउँमा समेत गाडी चल्न थालेपछि अब धार्चेमा केरौंजा र उहिया मात्र सडक सञ्जालमा जोडिन बाँकी रहेको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले बताए। गाउँसम्म मोटर चल्न थालेपछि काशिगाउँका बासिन्दा खुशी भएका छन्। यसअघि आपतकालिन अवस्थामा स्वास्थ्य उपचारमा समस्या हुँदै आएको थियो।'गाडी चढ्न छ घण्टा हिँडेर सोती पुग्नु पथ्र्यो,' वडाअध्यक्ष घलेले भने, 'अब गाउँमै गाडी चल्न थाल्यो।गाउँलेका समस्या टर्ने भए।'
 

गाउँपालिकाको एक करोड ४८ लाख रुपैयाँको लागतमा गतवर्ष सडक निर्माण गरिएको थियो। यसवर्ष ३० लाख खर्च गरेर सडक सफा गरेपछि गाउँसम्म यातायातका साधन आइपुगेको वडाअध्यक्ष घलेको भनाइ छ। 'छोटेखोलासम्म तीनवर्ष अघि नै गाडी चल्थ्यो,' उनले भने, 'अहिले गाउँमै गाडी देख्न पाइयो।'

गाउँमा यातायातको सुविधा भएपछि सस्तोमा खाद्यान्न पाउने आशा स्थानीयमा देखिएको छ।गाउँ गाडी चल्न थालेपछि २४ सय रुपैयाँ पर्ने जीरा मसिनो चामल १८ सयमा पाइन थालेको छ।'१८ सय पर्ने सोना मन्सुली १२ सय २० मा गाउँमा ‍पायौं, उनले भने, 'नुन, तेल सबै सस्तोमा पाएपछि गाउँले दंग छन्।' किनमेलका लागि दिनभरिको बाटो हिँडेर माछाखोला, सोती, आर्खेत, आरुघाट जाने दिन अब सकिएको उनको भनाइ छ।

गाउँमै गाडी आएपछि गाउँमा उत्पादन हुने मकै, आलु, कोदो, चिराइतोलगायतका स्थानीय उत्पादनले बजार पाउने भन्दै वडा सदस्य आशबहादुर गुरुङले खुशी व्यक्त गरे। 'यहाँ आलु, मकै, कोदो धेरै उत्पादन हुन्छ।आफैले खाएर मात्र सकिदैन। अब धेरैथोरै बेच्न पाइने भयो।दुईचार पैसाको मुख देख्न पाइने भयो।'

अर्मलादेखि मान्बु जोड्ने बुढीगण्डकी नदीमाथि पुल बन्ने क्रममा छ। सो पुल बनेमा अझै ठूलो राहत पुग्ने वडाअध्यक्ष घले बताउँछन्। 'अर्मलामा पुल नबनेसम्म मान्बु, धादिङको बसेरी, बुढाथुमहुँदै आरुघाट पुग्न पाँच घण्टा लाग्छ। गोरखा पुग्न एकदिन नै लाग्छ', उनले भने, 'पुल बनेपछि चारपाँच घण्टा छोटिन्छ। जनतालाई ठूलो राहत हुन्छ।'

काशिगाउँसम्म मोटर पुगेपछि केरौंजाका लागि पनि राहत पुग्ने विश्वास स्थानीयबासीको छ। 'केरौंजाबाट माछाखोला जान आउन एकदम चर्को उकालो ओह्रालो हिड्नु पर्छ। काशिगाउँ आउन जान तेर्सो पर्छ', अध्यक्ष घलेले भने, 'त्यसैले रड, सिमेण्ट, पाइपजस्ता निर्माण सामग्री ढुवानी गर्न पनि सजिलो पर्छ।' 

केरौंजा जोड्ने सडकका लागि एक करोड ६० लाख रुपैयाँको बजेट परेको र टेण्डर पनि भइसकेको उनले बताए। उहिया र केरौंजालाई पनि सडक सञ्जालले जोड्ने योजना प्राथमिकतामा रहेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ बताए।

'बिगतका वर्षमा टुक्रे योजना थिए, ठूलो काम हुन सकेको थिएन। हामीले काशिगाउँ जोड्न एक करोड ६६ लाख रुपैयाँ बजेट बिनियोजन गर्‍यौं। देखिने काम भयो,' उनले भने, 'यस्तै ठूलो शीर्षकमा बजेट तथा कार्यक्रम बनाएर बाँकी गाउँपालिका पनि हामी सडक सञ्जालले जोड्दै छौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.