बुलबुले–काँक्रेबिहार जोडिँदै
सुर्खेत : सुर्खेतका मुख्य दुई पर्यटकीय क्षेत्र बुलबुले ताल र काँक्रेबिहार क्षेत्रलाई एकैसाथ जोडिने भएका छन्। यी पर्यटकीय स्थलको दूरी बढीमा दुई किलोमिटर जति छ। नजिकै भए पनि सडक मार्ग लामो भएका कारण बुलबुलेबाट सिधै काँक्रेबिहार दर्शन गर्न जान सकिने अवस्था छैन।
यी दुवै फरक क्षेत्रमा आउने पर्यटकलाई एकैसाथ दुईवटै स्थानको भ्रमणका लागि एकैसाथ जोड्ने तयारी भइरहेको हो। बुलबुले ताल र काँक्रेबिहार जोड्न बीचको भागमा रहेका व्यक्तिगत जग्गा अधिग्रहण गरी ठूलो ताल बनाउँदै योजना निर्माण हुने चर्चा चलिरहेको बेला वीरेन्द्रनगर–१० वडापालिकाले भने नयाँ विकल्प सहितको योजना बनाएको हो।
वडाध्यक्ष रत्नबहादुर बुढाको अगुवाईमा बुलबुले–काँक्रेबिहार जोड्ने द्रूत (छोटो) मार्ग निर्माणका लागि नयाँ योजना अगाडि सारिएको हो। बुलबुले ताल भएर बग्ने इत्राम खोलाको भाग छुट्याउँदै, संरक्षण गरी खोलाको दुवै किनार मोटरबाटो निर्माण गर्न वडाले नयाँ योजना अगाडि सारेको हो।
‘सुर्खेतका महत्वपूर्ण दुई पर्यटकीय स्थललाई हामीले जोड्ने योजना बनाएका छौं’, वडाध्यक्ष बुढाले भने, ‘अहिले नै जग्गा अधिग्रहण गर्न सम्भव त छैन, तर त्यही बीचबाट बग्ने इत्राम खोलाको संरक्षण गरेर वैकल्पिक मार्ग निर्माणमा लागेका छौं।’ बुलबुले तालबाट काँक्रेबिहारसम्म पुग्न घुमाउरो बाटो प्रयोग गर्दै सवारी साधनमा ४० मिनेटसम्मको समय लाग्ने गरेको छ। वैकल्पिक छोटो बाटो निर्माण भएमा दुई स्थलसम्म आवतजावत गर्न बढीमा २० मिनेट लाग्नेछ। इत्राम खोलाको भागलाई छुट्याएर तटबन्धन गर्दै वारीपारी रहेका दर्ता जग्गाधनीहरूको सहमतिमा दुवै तर्फबाट ८ देखि १२ मिटरसम्मको मोटरबाटो निर्माणको प्रस्ताव गरिएको छ। यही बाटो बुलेबुले–काँक्रेबिहार जोड्ने सबैभन्दा छोटो मोटरबाटो हुनेछ।
वीरेन्द्रनगर ९ र १० वडा भएर बग्ने इत्राम खोला वरिपरिका जग्गाधनीको भेला बोलाइएको छ। वैकल्पिक मार्ग निर्माणका लागि जग्गाधनीलाई फागुन २४ गते बुलबुले पार्कमा भेला बोलाइएको छ। वडामा विकासलाई चरणबद्ध रूपमा नमूनायोग्य बनाउँदैछौं। हाम्रै वडामा सुर्खेतका महत्वपूर्ण पर्यटकीय स्थल पर्ने भएकाले यिनको संरक्षण र दिगो विकासका लागि वडाले छुट्टै योजना बनाएर लागेको छ’, उनले भने। बुलबुले ताल र काँक्रेबिहार घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको कमी छैन। दसैं–तिहार सकिएलगत्तै बुलबुले उद्यान र काँक्रेबिहारमा पिकनिक खान आउनेको लर्को नै लाग्ने गरेको छ। सुर्खेतका साथै छिमेकी जिल्ला बाँके, कैलाली, बर्दिया र दाङबाट समेत पिकनिक खान आउनेको लर्को लाग्छ।
बुलबुलेमा पिकनिकका साथै डुंगा शयरले पनि पर्यटकको मन तान्दै आएको छ। यी दुवै स्थलको दूरी छोटो भए दुवै स्थानको प्रचारप्रसारका लागि सहज हुने अपेक्षा गरिएको छ। नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाका अनुसार, एक करोडभन्दा बढीको लागतमा बुलबुलेको संरचना निर्माणको काम भइरहेको छ। साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले जिल्लाकै पहिलो गन्तव्यमा पर्छ। पर्यटन मन्त्रालयले बुलबुले ताललाई पर्यटकीय गन्तव्यमा नपारे पनि यसको ख्याति र सुन्दरताले पर्यटकलाई आकर्षित गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !