कर्णालीमा महिला भलिबल प्रतियोगिता सुरु
जाजरकोट : आठौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट गर्न प्रथम कर्णाली प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
जाजरकोटमा शनिबार सुरु भलिलबल प्रतियोगिता बाट उत्कृष्ट १० जना महिला खेलाडी कर्णाली प्रदेशको तर्फबाट आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुने छन् । जाजरकोटमा पहिलो पटक आयोजना भएको क्षेत्रीय महिला भलिबल प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाका खेलाडीहरुको सहभागिता छ ।
प्रदेश खेलकुद परिषद कर्णाली प्रदेशको आयोजनामा सञ्चालन भएको उक्त भलिबल प्रतियोगिता खलंगाको थाप्लेचौरस्थित त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा सञ्चालन भइरहेको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरबहादुर बस्नेतका अनुसार लिककम नकआउटको माध्यामबाट खेलाइँदै छ । खेल आगामी २१ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा जाजरकोट, सुर्खेत, रुकुम पश्चिम, सल्यान, दैलेख, कालिकोट, मुगु, हुम्ला, डोल्पा, जुम्ला जिल्लाका सय महिला खेलाडीको सहभागिता छ ।