ट्रमा सेन्टरमा खारा भिडन्तका लडाकु विजय-वन्दना

ट्रमा सेन्टरमा खारा भिडन्तका लडाकु विजय-वन्दना

जाजरकोट : ज्यान जोखिममा राखेर उनी पार्टीका लागि युद्धमा होमिइन्। सशस्त्र द्वन्द्वको क्रममा माओवादी लडाकु रहेकी भेरी नगरपालिका २ की मीना पुन रुकुमको खारा आक्रमणमा अग्रपंक्तिमा थिइन्। र, तत्कालीन शाही नेपाली सेनासँगको भिडन्तमा उनी घाइते भइन्।

जुन पार्टीको निर्देशनमा उनले ज्यानको बाजी लगाइन्, त्यही पार्टी अहिले झन् ठूलो शक्तिसहित सत्तामा छ। तर घाइते जीवन बिताइरहेकी मीनामाथि अर्को पीडा थपिएको छ।

उनी दुबै हात भाँचिएर उपचारका लागि राजधानीको ट्रमा सेन्टर पुगेकी छन्। तर आर्थिक अभावले उनको उपचारमा समस्या परेको छ।

दुबै हात भाँचिएको पीडा त छँदैछ, उपचार खर्च र खाने बस्ने पैसा नहुँदा उनी झन् तनावमा छिन्। उनका कोही पनि नेता उनलाई भेट्नसमेत अस्पताल आएका छैनन्।

‘घरको कोठामा जाने क्रममा लिस्नोबाट लडेर दुवै हात भाँचिएपछि उपचारको लागि काठमाडौं लिएर आएँ', उनका श्रीमान् दलबहादुर पुनले टेलिफोनमा दुखेसो पोखे, 'दुःखजिलो गरी जम्मा गरेको रकम केही दिनमै सकियो। अब बाँकी उपचार कसरी गरुँ ?'

दलबहादुर पनि माओवादी जनयुद्धका घाइते हुन्। उनले दाहिने हात सशस्त्र द्वन्द्वककै क्रममा गुमाएका छन्। कैलालीको शंकरपुरमा बम हान्ने क्रममा दुर्घटना हुँदा उनले हात गुमाएका थिए।

उपचारका लागि उनीहरू अझै केही दिन काठमाडौंमै बस्नुपर्ने अवस्था छ। ‘दुवै हात भाँचिएकाले स्याहार सुसार आफैंले गर्नुपर्छ', दलबहादुरले भने, 'आफूसँग भएको रकम सबै सकियो। थप पैसा खोज्न कहाँ जाउँ ?’

युद्धकालका कमरेड 'विजय' र 'वन्दना' लाई भेट्न ऊबेलाका कोही कमरेडहरू अहिलेसम्म ट्रमामा आएका छैनन्।

सँगै लडेका 'कमरेड' हरूले बिर्सँदा दुख लागेको उनी सुनाउँछन्। ‘पार्टीका लागि दुवै जनाले जीवन दियौँ। दुवै जीवनभर घाइते भएर जिउनु परिरहेको छ तर त्यही पार्टीका नेताहरू ठूलो पद र ओहोदामा पुगे। दुःख पर्दा एक पटक पनि नसम्झिदा निकै पीडा हुँदोरहेछ’, दलबहादुरले सुनाए।

नेकपाका केन्द्रीय सदस्य रामदीप आचार्यले फेसबुकबाटै सहयोगको अनुरोध गरेका छन्। 'दुखजिलो गरी दुवैजना एक एक हातको सहारामा बाँचिरहेका थिए। अचानक उनी घरको लिस्नोबाट लडिन् र दुवै हात भाँचिए !! अहिले ट्रमा सेन्टरमा उपचाररत छिन्। सहयोगको जरुरी छ सबैतिरबाट', उनले भनेका छन्।

घरको आर्थिक अवस्था निकै नाजुक रहेका दलबहादुरले श्रीमतीको उपचारका लागि सहयोगको याचना गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.