अग्नीपीडितलाई किरिया खर्चको पिरलो
जनकपुरधाम : आगलागीले बेहाल बनेको र छोरीको हत्याले शोकमा डुबेको रेश्माको परिवार किरिया गर्दा लागेको खर्च ५० हजार ऋणले पिरोलिएको छ ।
छिमेकको विवाहमा नाच्दै गरेकी रेश्मालाई राति लाइन कटेको मौका छोपेर फ्रुटी र चाउचाउको लोभ देखाएर उखुबारीमा लगी बलात्कारपछि हत्या गरेर जलाएको अवस्थामा फागुन २ गते उनको शव फेला परेको थियो । छोरीको हत्या हुनुभन्दा एक महिनाअघि देवनारायणको घरमा आगलागी भई सबै सम्पत्ति जलेर खरानी भयो । रेश्मा हत्या भएको २० दिन बितिसक्दा पनि स्थानीय, प्रदेश र संघीय सरकारबाट न राहत पुगेको छ न त आश्वासन नै ! ‘बेटी बढाऊ, बेटी बचाऊ’ को रटान लगाइरहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र उनको नेतृत्वको सरकारका कुनै मन्त्री पनि पीडित परिवारसामु पुगेका छैनन् ।
रेश्माका काका देवराज रसाइलीले भने, ‘आईएनजीओ र एनजीओको गोष्ठीमा प्रदेश सरकारका मन्त्रिमण्डल नै सहभागी हुन्छन् । गरिब समुदायकी छोरीको निर्मम हत्याले शोकमा डुबेका परिवार ऋणले पिरोलिँदा पनि वास्ता गर्दैनन् ।’
रेश्माका बुवा देवनारायण भाइको घरमा बस्दै आएका छन् । छोरीलाई उच्च शिक्षामा प्रोत्साहित गर्न मिथिला नगरपालिका ढल्केवरले ‘घरघरमा साहना, मिथिलाको चाहना’ भन्ने नारा अघि सारेको छ । कक्षा २ मा पढ्दै गरेकी रेश्मालाई बलात्कार गरेर हत्यापछि जलाइयो । उनको परिवारले ऋण गरेर काजकिरिया गर्दा पनि स्थानीय सरकारले राहत प्रदान नगरेको रेश्मा संघर्ष समितिका अध्यक्ष उमेशजंग गजमेरले आक्रोश व्यक्त गरे ।
घटनाका एक जना अभियुक्तलाई समातेर प्रहरी निश्चिन्त बनेकोप्रति पीडित परिवारजनले जनकपुरमा पत्रकार सम्मेलन गरेर आपत्ति जनाएका छन् । बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको रेश्मा संघर्ष समितिका अध्यक्ष गजमेरले बताए । ‘उच्चस्तरीय समिति गठन गरेर रेश्मा हत्याको छानबिन गरिनुपर्छ,’ रेश्माको घटनालाई दबाउन खोजेको दाबी गर्दै जनकपुरमा पीडित परिवारले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘घटनाको सत्यतथ्य नआए कडा आन्दोलन चर्काउँछौं । त्यसबाट उत्पन्न हुने परिस्थितको जिम्मेवारी सरकारले लिनुपर्छ ।’
पीडित परिवारलाई तुरुन्त प्रदेश सरकारले राहत उपलब्ध गराउनुपर्ने प्रदेश सांसद शारदा देवी थापाले माग गरेकी छन् । उनले भनिन्, ‘सबै दोषीलाई कानुनी कठघारामा ल्याइनुपर्छ । अनि न नागरिकलाई देशमा सरकार छ भन्ने अनुभूति हुन्छ ।’
प्रतिक्रिया दिनुहोस !