विप्लवका हतियार खोज्दै प्रहरी
काठमाडौं : गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका हतियार खोज्न देशभरिका प्रहरी कार्यालयमा सर्कुलर गरेको छ। तत्कालीन सशस्त्र द्वन्द्वमा सुरक्षा निकायबाट लुटिएका हतियार विप्लवसँग अझै रहेको आशंका प्रहरीको छ।
‘द्वन्द्वमा कति हतियार लुटियो एकिन तथ्यांक छैन, तर लुटिएका हतियार अझै विप्लवको पार्टीसँग रहेको आशंका छ’, गृह मन्त्रालयका एक अधिकृतले भने, ‘प्रहरीले गोप्य निगरानीमा हतियार कब्जामा लिन थालेको छ।’ सबै माओवादी एक हुँदा शान्ति सम्झौतापछि हतियार राज्यलाई बुझाएका थिए। तर पटकपटक बेवारिसे अवस्थामा हतियार बरामद हुँदै आएका छन्।
कपिलवस्तुको प्रहरी र सशस्त्रको संयुक्त टोलीले बुधबार राति विशेष अपरेसन गरी दुर्गाबहादुर रोक्कालाई पक्राउ गरेको छ। उनको घरबाट एसएमजी राइफल २ थान, त्यसको ६८ राउन्ड गोली र म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान र त्यसको म्यागजिन १ थानसहित ३ राउन्ड गोली, ५.५६ क्यालिभरको गोली १ सय ३१ राउन्ड, बम बनाउने सामाग्री र रिमोट समेत बरामद गरेको छ। यी हतियार द्वन्द्वकै बेला लुटिएको आशंका प्रहरीको छ।
रोक्काको घरबाट प्रहरीले ‘जनमुक्ति सेना नेपाल आधारभूत सैन्य तालिम शिविर २ नम्बर कम्पनी’ लेखिएको ब्यानरसमेत बरामद गरेको छ। रोक्काले सैन्य तालिमका क्रममा ब्यानर टाँसिने गरेको बयान दिएका छन्।
प्रहरीले नख्खु बम विस्फोटमा संलग्न भएको आरोपमा बुधबार नख्खुबाट केदार खतिवडालाई पक्राउ गरेको छ। उनी विप्लवको पोलिटब्युरो सदस्य रहेको प्रहरीले जनाएको छ। यसअघि अर्का नेता सूर्य भुजेल पक्राउ परेका थिए। भुजेल र रोक्का दुवै विस्फोटका बेला घटनास्थलमै रहेको दाबी प्रहरीको छ।
प्रहरी प्रवक्ता उत्तम सुवेदीले ज्यान लिनेसम्मका अपराधमा संलग्न भएपछि विप्लवका कार्यकर्तामाथि विशेष निगरानी बढाइएको स्विकारे। उनले भने, ‘बम बनाएर पड्काउने, हतियार राखेर धम्क्याउने र मान्छे मार्न कसैलाई छुट छैन। विशेष योजना बनाएरै प्रहरी परिचालन गरेका छौं।’ उनले विप्लवसँगका अवैध हतियार बरामद गर्नकै लागि विशेष योजना बनाएर प्रहरी खटिएको बताए।
गृहले सशस्त्रलाई समेत निर्देशन दिँदै प्रहरी अपरेसनमा सघाउन र नाकामा कडाइपूर्वक जाँच गर्न आदेश दिएको छ। गृहका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले हतियारको आडमा राजनीति गर्न कसैलाई छुट नभएको बताए। उनले भने, ‘यो वा त्यो पार्टी नभनी जो कोही भए पनि अवैध हतियारको आडमा राजनीति गर्ने छुट कसैलाई छैन। त्यसमा प्रहरीले एक्सन लिन्छ।’
प्रदेशस्तरीय गोष्ठी सुरु
गृह मन्त्रालयले प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु गरेको छ। फागुन २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा गोष्ठी भयो। बिहीबार कर्णाली प्रदेशमा दुईदिने गोष्ठी जारी छ। गृहमन्त्री रामबहादुर थापा, तीनवटै सुरक्षा निकायका प्रमुख र सेनाका प्रतिनिधि सहभागी छन्।
विप्लवका गतिविधि बढेपछि शान्ति सुरक्षाबारे जानकारी लिन र सुदृढ बनाउन निर्देशन दिन गोष्ठी आयोजना गरिएको हो। गोष्ठीमा प्रदेश प्रहरी प्रमुख, सीडीओलगायत सुरक्षा अधिकारीको समेत सहभागिता छ। जिल्लाको वस्तुस्थिति र अपराध नियन्त्रणका चुनौतीसँगै केन्द्रले गर्नुपर्ने सहयोगबारे समेत छलफल हुनेछ।