हृदयाघात हुँदैमा आत्तिनु पर्दैन
मुटुरोगको उपचार खर्चिलो र जटिल छ तर रोगबाट बच्ने उपाय सजिला छन् ।
४७ वर्षका पूर्वयुवराज पारस शाहलाई तेस्रोपटक हृदयाघात हुँदा धेरैजना तर्सिए। गम्भीर अवस्थामा भए पनि १५ मिनेटभित्रै अस्पताल पुर्याइँदा ज्यान जोगियो। उपचार सुरु भएको एक सातापछि नै पुनर्जीवन पाएर अस्पतालबाट उनी घर फर्किए।
१२ वर्षअघि पनि छातीमा दुखाइ महसुस भएपछि उनलाई तत्कालै अस्पताल पुर्याइयो। २० भदौ ०६४ सालमा उनलाई पहिलोपटक हृदयाघात भएको थियो। धमनी अवरुद्ध भएपछि एन्जिओप्लास्टी गरी खोलिएको थियो। त्यसपछि थाइल्यान्डमा बसेका बेला उनलाई ८ फागुन ०६९ मा फेरि हृदयाघात भयो। गत माघ १४ गते उनलाई तेस्रोपटक हृदयाघात भएको थियो। तत्कालै नर्भिक इन्टरनेसनल हस्पिटलमा पुर्याइएकाले उनको ज्यान जोगियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायलाई पहिलोपटक हृदयाघात भएको १२ वर्ष भइसक्यो। हृदयाघात भएको आधा घन्टाभित्रै गंगालाल हृदय केन्द्रमा पुगकाले बाँच्न सफल भएको उनी बताउँछन्। ‘अप्ठेरो महसुस भइरहेका बेला अचानक बेहोस भएछु। पत्नी र ड्राइभर मिलेर तत्कालै अस्पताल पुर्याएछन्’, उनले भने। उनलाई ०६३ सालमा हृदयाघात भएको थियो।
मुटुको एन्जिओप्लास्टी गरेर अवरुद्ध धमनी खोलेका उपाध्याय अहिले औषधि सेवन गरिरहेका छन्। वरिष्ठ मुटु सर्जनद्वय डा. भगवान् कोइराला र डा. यादव भट्टले सल्लाह गरी दुईवटा स्टेन्ट राखिदिएका छन्। हृदयाघात भएपछि पनि सक्रिय जीवन बिताइरहेका उपाध्याय भन्छन्, ‘हृदयाघात भयो भन्दैमा पिर गर्नुपर्दैन। जीवनशैली परिवर्तन, नियमित औषधि सेवन र शारीरिक व्यायाम गर्ने हो भने आयु लम्ब्याउन सकिन्छ। ठूलो समस्याका रूपमा लिनु पर्दैन।’
मुटुरोग विशेषज्ञहरू हृदयाघात हुनेबित्तिकै अस्पताल ल्याउन सुझाव दिन्छन्। हृदयाघात हुनासाथ ज्यान जाने अवस्था नरहेकाले आत्तिन नहुने उनीहरूको धारणा छ।
मुटुरोगमध्ये सबैभन्दा खतरनाक मानिने हृदयाघातको उपचार सहज हुँदै गएको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्छन्, ‘छाती दुख्न सुरु भएको एक घन्टाभित्र उपचार थालिहाल्नुपर्छ। उपचारमा धेरै परिवर्तन भएका छन्। उपचार पद्धति प्रभावकारी छ। पटकपटक हृदयाघात भएकाहरू पनि सहज जीवनयापन गरिरहेका छन्।’
युवावयमै हृदयाघात
हृदयाघात हुँदा छातीमा बेस्सरी दुखाइ महसुस हुने डा. रेग्मी बताउँछन्। छातीमा ढुंगाले थिचेजस्तो, डोरीले कसेजस्तो, निचोरेजस्तो वा आगोले पोलेजस्तो अनुभव बिरामीले गर्छ। यो दुखाइ बाया कुम, पाखुरा, घाँटी, चिउँडोलगायत अंगतर्फ सर्न सक्छ। आराम गरेपछि यो दुखाइ ठीक भएर पनि जान सक्छ। छातीमा हुने यो पीडालाई एन्जाइना भनिन्छ। यो मुटुका रक्तनली साँघुरिएको लक्षण हो। कोलेस्टरोल जमेर रक्तनली साँघुरो भए मुटुका मांसपेसीलाई चाहिने ग्लुकोज र अक्सिजनको आपूर्तिमा कमी हुन्छ र मुटुमा पीडा उत्पन्न हुन्छ। यस्तो दुखाइ सबैभन्दा पहिले छातीको बीचमा अनुभव हुन्छ। पछि विस्तारै फैलिँदै जान्छ।
मुटु स्वस्थ राख्न धेरै समय खर्चिनु पर्दैन। कडा व्यायाम पनि गर्नु पर्दैन। सातामा पाँच दिन कम्तीमा ३० मिनेट मध्यम खालको व्यायाम गरे पनि मुटु स्वस्थ राख्न सकिन्छ।
डा. रेग्मीका अनुसार छातीको दुखाइ बेस्सरी बढ्दै गयो, आराम गर्दा पनि ठीक भएन, चिटचिट पसिना आयो, वाकवाकी लाग्यो र मरिन्छ कि भन्ने डरसमेत भयो भने हृदयाघातको शंका गर्नुपर्छ। ‘हृदयाघात हुँदा छातीको दुखाइ असह्य हुन्छ। धेरैजसो केसमा ५० वर्ष नाघेका व्यक्तिमा हृदयाघात बढी देखिएको छ। तर अहिले त जवानीमै पनि हृदयाघात भएका बिरामी देखा पर्न थालेका छन्’, डा. रेग्मीले भने। ५० ननाघेका व्यक्तिलाई पनि हृदयाघात हुने क्रम बढेको छ। सहिद गंगालाल हृदय केन्द्रमा युवावस्थामै हृदयाघात भएर भर्ना भएका बिरामीको संख्या उल्लेख्य छ।
मृत्युको मुखमा पुर्याउने हृदयाघात हुनासाथ तत्काल अस्पताल लगेर उपचार गराए आयु लम्ब्याउन सकिने वरिष्ठ मुटुरोग विशेषज्ञ एवं सर्जनहरू बताउँछन्। तीनपटक हृदयाघात भइसकेका व्यक्ति पनि समयमै उपचार गर्दा बाँचिरहेको डा. रेग्मी बताउँछन्।
विश्वमै सबैभन्दा खतरनाक रोग बनिरहेको मुटु तथा रक्तनलीजन्य रोगले अकालमा करोडौंको ज्यान लिइरहेको छ। विश्व मुटु संगठनका अनुसार विश्वमा बर्सेनि मुटु तथा रक्तनलीजन्य रोगहरूका कारण १ करोड ७५ लाख मानिसको मृत्यु हुन्छ। अन्य नसर्ने रोग क्यान्सर, दम, मधुमेहभन्दा मुटुको समस्याले मृत्यु हुनेको संख्या धेरै छ। त्यसैले मुटु रोगलाई एक नम्बरको हत्यारा मानिने गरिएको छ।
विशेषगरी ३० वर्ष नाघेका उमेर समूहका पुरुष र महिलामा मुटु तथा रक्तनलीजन्य समस्या देखिएको छ। यी रोगबाट मृत्यु हुनेको संख्या सन् २०३० सम्ममा २ करोड ३० लाख पुग्ने अनुमान विश्व मुटु संगठनले गरेको छ।
जीवनशैलीले जोखिम
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीका अनुसार मुटुमा रगत आपूर्ति गर्ने नसा बन्द भयो भने उत्पन्न हुने खतरनाक समस्या नै हृदयाघात हो। हृदयाघातमा मुटुको रक्तनली पूरै बन्द भएर समस्या उत्पन्न हुन्छ।
कोरोनरी आर्टरी (धमनी) ले मुटुको मांसपेशीलाई आवश्यक रगत पुर्याउन नसक्दा पीडा हुन्छ। पीडा विस्तारै बढ्दै गएर रक्तसञ्चार प्रक्रिया नै बन्द गराइदिने सम्भावना हुन्छ। हृदयाघात हँुदा छाती बेस्सरी दुख्ने, सास फेर्न गाह्रो हुने, रिंगटा लाग्नेसमेत हुन्छ।
हृदयाघात हुने स्थिति निम्त्याउने मुख्य कारण जीवनशैली हो। मानसिक तनाव, सुर्तीजन्य एवं अत्यधिक मदिरा सेवन, अस्वस्थ खानपान, मोटोपना, उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्टेरोलका कारण हृदयाघात हुने गरेको छ। ‘अस्वस्थ जीवनशैली नै हृदयाघात हुनुको मुख्य कारण हो’, डा. रेग्मी भन्छन्।
वरिष्ठ मुटु सर्जन प्रा. डा. उत्तमकृष्ण श्रेष्ठ भन्छन्, ‘शारीरिक श्रम गर्ने बानी घटेको छ। धन आर्जन गर्ने होडमा अनावश्यक दौडधूप र तनाव लिने बानी बढेको छ। अस्वस्थ खानपानका कारण पनि हृदयाघात हुने गरेको छ। हृदयाघात हुनेबित्तिकै समयमै उपचार गर्ने हो भने बाँचिन्छ।’
मुटुको चाल र गति थाहा पाउन ईसीजी गरिन्छ। ईसीजीबाट हृदयाघात भए÷नभएको छुट्ट्याउन सकिन्छ। मुटुको नसाको जाँच गर्नुलाई एन्जिओग्राफी भनिन्छ। एन्जिओग्राफीमा मुटुको नसा साँघुरिएको देखिए एन्जिओप्लास्टी गर्नुपर्ने हुन सक्छ। एन्जिओप्लास्टी गर्दा बेहोस पारिँदैन। क्याथल्याबमा चिकित्सकले हात वा खुट्टाको नसाबाट मुटुका नसामा तार पठाएर बेलुनद्वारा साँघुरिएको नसा फुलाएर स्टेन्ट हाल्ने पद्धति नै एन्जिओप्लास्टी हो। यसमा छाती चिर्नु पर्दैन। एन्जिओप्लास्टी गरेपछि नसा खुलेर मुटुमा रगत प्रवाह हुन्छ। कतिपय अवस्थामा हृदयाघात भएपछि तुरुन्तै एन्जिओप्लास्टी गरे ज्यान जोगिन सक्छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार हृदयाघात भएको ९० मिनेटभित्र एन्जिओप्लास्टी गरी अवरुद्ध नसा खोल्नुपर्छ।
एन्जिओप्लास्टी सफल भयो र कुनै खराबी नदेखिए एक साताभित्रै डिस्चार्ज गरिन्छ। यो सामान्यतया झन्डै ९८ प्रतिशत सफल हुन्छ। तर लामो समय नसा पूरै बन्द भए, मुटुको नसामा क्याल्सियम जमेको भए, मुटुको नसा सानो वा ठूलो भए सफलसमेत नहुन पनि सक्छ। यस्तो अवस्थामा चिकित्सकले ध्यान दिनुपर्छ। एन्जिओप्लास्टी सफल भए अधिकांश बिरामी छाती दुख्ने वा मुटुको समस्याबाट मुक्त हुन्छन्।
हृदयाघात भइसकेपछि हुने दुखाइ न्यून गर्न विभिन्न औषधि सेवन गराइन्छ। औषधिले मुटुका साँघुरिएका धमनीमा रगत जम्न दिँदैन। पटकपटक हृदयाघात हुनबाट जोगाउँछ। औषधिले मुटुमा रगतको आपूर्ति कम हुँदा छातीमा हुने दुखाइ घटाउँछ। हृदयाघातपछि केही महिना औषधि सेवन गरे बिरामीले नियमित काम गर्न सक्छन्। छाती दुख्दैन।
हृदयाघातका कारण मुटुका धमनीमा रगतका ससाना डल्ला बन्छन्। ती डल्लाले त्यस भागमा रगत आपूर्ति बन्द हुन्छ। यस्ता डल्लालाई थ्रोम्बस भनिन्छ। यस्ता डल्ला बन्न नदिन औषधि सेवन गर्नुपर्ने हुन्छ। त्यस्तै कोलस्टेरोलको मात्रा धेरै छ भने घटाउन पनि औषधि सेवन गर्नुपर्ने हुन्छ।
स्वस्थ खानपान
चिनी एवं चिनीजन्य गुलिया खानेकुराको सेवन घटाउनुपर्छ। मिठाई, चकलेट, डिब्बाबन्द जुस सकेसम्म नखाने र ताजा फलफूल खाने बानी बसाउनुपर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसीको सुझाव छ। सकेसम्म दिनको चारपाँच कचौरा फलफूल तथा तरकारी खाँदा मुटु स्वस्थ र बलियो राख्न सकिन्छ। सुर्ती एवं अल्कोहलजन्य पदार्थ सेवन त्याग्नुपर्छ।
टिन, बट्टा वा प्लास्टिकमा प्याक गरिएका तयारी खानेकुरा नखानु उत्तम हुने चिकित्सक बताउँछन्। अत्यधिक मात्रामा नुन हुने खानेकुरा जस्तै पापड, भुजिया, ससेज, सिसीमा राखिएका पुराना अचार, दालमोठ सकेसम्म प्रयोग नगरौं। घरमै बनाएका खाजा तथा खाना स्कुल र कार्यालयमा खाने बानी बसाले स्वस्थ हुन सघाउ पुग्ने डा. केसी बताउँछन्।
नियमित व्यायाम
मुटु स्वस्थ राख्न धेरै समय खर्चिनु पर्दैन। कडा व्यायाम पनि गर्नु पर्दैन। सातामा पाँच दिन कम्तीमा ३० मिनेट मध्यम खालको व्यायाम गरे पनि मुटु स्वस्थ राख्न सकिन्छ। साथीभाइ एवं परिवारका सदस्यसँग खेल्ने, हिँड्ने, घरको काम गर्ने, नाच्नेलगायत शारीरिक क्रियाकलाप गरे पनि मुटु स्वस्थ राख्न सकिने वरिष्ठ मुटु सर्जन डा. श्रेष्ठको सुझाव छ। उनी भन्छन्, ‘भर्याङ चढ्ने, हिँड्ने, साइकल चलाउने, नाच्ने गरेर सक्रिय भए मुटु स्वस्थ हुन्छ।’ मुटुरोगको उपचार खर्चिलो र जटिल छ तर रोगबाट बच्ने उपाय सजिला छन्।
नियमित स्वास्थ्य परीक्षण गर्नुका साथै उच्च रक्तचाप, कोलेस्टरोल, सुगर छ भने तुरुन्तै उपचार थाल्न सुझाव दिन्छन् डा. रेग्मी। ‘परिवार वा जवानीमा कसैलाई हृदयाघात भएको छ भने उनीहरूलाई हृदयाघात हुने सम्भावना धेरै हुन्छ। उनीहरूले पथपरहेज र रोकथामका उपाय अरूले भन्दा बढी गर्नुपर्छ’, उनले भने।
प्रतिक्रिया दिनुहोस !