ठगका नटवरलाल : जहिल्यै चेकमा कारोबार, तर पैसा हुँदैन
काठमाडौं : काठमाडौं बानियाटार बस्ने कैलालीका दीपक बलायर गोंगबुका व्यापारीलाई ठगी गरेको आरोपमा प्रहरी हिरासतमा छन्। बलायरको ठगी कला देखेर अनुसन्धानमा संलग्न प्रहरी अधिकृतसमेत चकित छन्। उनी हत्तपत्त पैसामा कारोबार गर्दैनन्। उनका खल्तीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका चेक भइरहन्छन्। टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बलायरविरुद्ध ठगीका उजुरी आउने क्रम बढेको छ।
सामाखुसीमा घिसिङ इनर्जी सेन्टर खोलेर बसेका देवकुमार घिसिङ बलायरबाट ठगिए। उनको पसलबाट ४४ हजार पर्ने सामसुङ कम्पनीको ३२ इन्चको स्मार्ट टीभी किनेका बलायरले पैसाको साटो चेक दिए। संयम बचत तथा ऋण सहकारी संस्थाको चेक पाएपछि घिसिङ साट्न पुगे। तर बलायरको खातामा एक हजार रुपैयाँ मात्रै मौज्दात थियो। घिसिङले ठगी मुद्दामा बलायरविरुद्ध उजुरी दिएका छन्। गोंगबुकै महेशराज सिलवालले सञ्चालन गरेको नेपाल लिकर्स सपबाट बलायरले विभिन्न ब्रान्डका मदिरा खरिद गरे। पैसा दिएनन्। ९१ हजार रुपैयाँबराबरको चेक दिए। चेक साट्न पुगेका सिलवाल पनि बलायरको खातामा पैसा नभएपछि त्यत्तिकै फर्किनुपर्यो।
सिलवालको पसलबाट लगेको मदिरा बलायरले गोंगबुमै भवीन्द्र घिमिरेको पसलमा बिक्री गरे। ‘बुबाको साथीबाट गिफ्ट आएको’ भन्दै बलायरले घिमिरेलाई मदिरा किन्न सुझाएका थिए। बलायरको ठगी धन्दाबारे जानकारी पाएपछि सिलवालले प्रहरीलाई गुहारेर घिमिरेको पसलबाट लगेको मदिराबराबरको ३९ हजार रुपैयाँ फिर्ता लगे। अहिले घिमिरेले बलायरबाट ठगिएको भन्दै उजुरी दिएका छन्।
गोंगबुमै अजय लामाले सञ्चालन गरेको मोबाइल पसलबाट बलायरले महँगो मोबाइल लिए। बलायरले चेकमा कारोबार गर्ने बताएपछि लामाले मानेनन्। त्यसपछि बलायरले नयाँ टीभी ल्याएर खरिद गरिदिन भने। टीभीको मूल्य ३० हजार रुपैयाँ तोकियो। चलाख बलायरले अग्रिम भुक्तानीबापत लामाबाट १० हजार रुपैयाँ लिए। त्यसपछि उनी गुमनाम भए। लामाले प्रहरीमा उजुरी दिन जाँदा बलायर ठगी धन्दामै पक्राउ परिसकेका थिए।
घिसिङ, सिलवाल, घिमिरे र लामा मात्रै होइन, बलायरले यसैगरी बालाजु क्षेत्रमा एक दर्जनभन्दा बढी पसलमा ठगी गरेको प्रहरीमा उजुरी परेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामालाई समेत बलायरको ठगी धन्दाबारे गुनासो आएपछि उनले बालाजु वृत्तबाट उक्त मुद्दा काठमाडौं परिसरमै झिकाएका छन्। शुक्रबार बलायरबाट ठगिएको भन्दै उजुरी दिन पीडित पुगेका थिए।
‘बलायरको ठगी काइदा अनौठो रहेछ। एउटा ठाउँबाट सामान किन्यो, अर्कोमा बेचिदियो। पैसाको भन्दा पनि चेकबाट कारोबार गर्ने प्रवृत्ति उनमा देखियो। उनीबारे थप अनुसन्धान भइरहेको छ’, एसएसपी लामा भन्छन्। गोंगबुमै नेपाल इलेक्ट्रोनिक्स सोलुसन नामक पसलबाट ४६ हजार रुपैयाँको टीभी किनेका बालयरले कृष्णबहादुर थापालाई बिक्री गरे। भ्याट बिलसहितको टीभी किनेका थापाले पछि मात्रै थाहा पाए, बलायरले ठगी गरेर ल्याएका रहेछन्। अग्रिम भुक्तानीबाट १५ हजार लिएर गएका बलायर पछि थापाको पसलमा फर्किएनन्। प्रहरीले बलायरले बेचेका सामान जफत गरी सम्बन्धित धनीलाई दिन उनीहरूको खोजी गरेको छ।