स्कल ड्रेस सिलाएपछि औधी खुसी भएँ

स्कल ड्रेस सिलाएपछि औधी खुसी भएँ

आफ्नो रुचिको विषयमा पैसा पनि पाउन थालेपछि नाटक नै मेरो कर्म बन्न थाल्यो। तर रुचिको विषयमा पैसाको कुरा पनि गौण हुने रहेछ। भाइबहिनीहरू, हमेशा ख्याल गर्नु, पैसा मात्रै सबै थोक होइन है।


नेपाली सिनेमा हेर्ने धेरैले मलाई अब ‘भस्मे डन’ भनेर चिन्छन्। त्यसो त सानोमा पढ्नेबेला म ‘फुच्चे डन’ नै थिएँ भन्दा हुन्छ। कक्षाका धेरैजसो मसँग डराउथे। जानीजानी त कल्ले पो बदमासी गर्छ र ?       तर सानोमा बदमासी गरेको सम्झिँदा मलाई अहिले पनि हाँसो उठ्छ। किन पो त्यसो गरे होला भन्ने ग्लानी पनि हुन्छ।

मेरो गाउँ मोरङको बाहुनी हो। महेन्द्र राजमार्गअन्तर्गत बेलबारीबाट १० किमि दक्षिणमा पर्छ यो गाउँ। भाइबहिनीहरूलाई म सानो हुँदाको एउटा घटना सुनाउँछु। म यस्तै ५ कक्षामा पढ्थे, आफ्नै गाउँको जनता सेकेन्ड्ररी स्कुलमा। मेरो मन मिल्ने साथीको नाम सन्तोष थियो। जोसँग मन मिल्छ, उसँग बढी झगडा पनि गरिँदो रहेछ। उसँग झगडा परेपछि बदला लिन हामीभन्दा २ कक्षा कम पढ्ने उसको भाइलाई दुःख दिन्थेँ। खै के कुरामा सन्तोषसँग मेरो झगडा परेको थियो, अहिले बिर्सिएँ। स्कुल छेउकै बारीमा जिरे खुर्सानी टिपेको थिएँ। चुँडाएर हातमा दल्दा मेरो हातै पोल्न थाल्यो। मलाई उट्पट्याङ गर्न मन लाग्यो। सन्तोषको भाइ मेरो अगाडि देखियो। मेरो पालो उसको आँखामा उही जिरेखुर्सानी दलिदिएँ। ऊ त बेहोस भयो। त्यसपछि म टाप कसेँ।

बाल्यकालका यस्ता अनगिन्ती घटना छन् मेरा। सबै सुनाउन लागे भाइबहिनीहरू पनि म जस्तै उरन्ठ्याउलो बन्लान् कि भन्ने डरले अहिले चाइँ सुनाइन ल। बरु मेरो अनुभवको पुस्तक लेखिरहेको छु। त्यसमा धेरै कुरा समेट्नेछु। बुक हिल प्रकाशन संस्थासँग पुस्तकबारे सम्झौतासमेत भइसकेको छ।

‘जात्रैजात्रा’ सिनेमाको सुटिङमा जानेबेला महिना दिनपहिले कालीमाटीमा मोटरसाइकल दुर्घटनामा परेको थिएँ। अहिले पनि राम्ररी सञ्चो भएको छैन, खुट्टा खोच्याउँदै हिँड्छु। कतै जान मन लाग्दैन। तर बालबालिकाको कुरा सुनेपछि मन हुरुक्क हुन्छ। हालै क्रियटिभ एकाडेमी कीर्तिपुरमा दोस्रो बालसाहित्य महोत्सव भयो, त्यसमा मलाई बोलाइएपछि ‘नाइँ’ भन्न सकिनँ। एकजना बालकले मलाई सोधे, ‘तपाईंलाई हालसम्म आफूले खेलेको कुन सिनेमाको रोल सबैभन्दा बढी मन पर्छ ? ’ तर मैले ठ्याक्कै यही भनेर भन्न सकिनँ। मलाई लाग्छ, मेरो आफ्नो सिनेमा यात्राको मूल्यांकन गर्ने बेला अहिले भएको छैन। अहिले नै सन्तुष्ट हुन थालियो भने प्रगति गर्न सकिन्न। म त भन्छु, विद्यार्थी भाइबहिनीहरू पनि आफ्नो पढाइमा कहिल्यै सन्तुष्ट नहुनु।

सानोमा बाबाले स्कुल डे«स सिलाइदिएकोमा औधी खुसी हुन्थेँ। तर अहिले पो थाहा पाउँछु कि डे«सको बहानामा मैले स्कुल डे«स मात्रै पाएको रहेछु। केटाकेटीलाई नयाँ डे«स सिलाइदिने बहानामा बुढाले स्कुल डे«समै टारेका रहेछन्। स्कुल पढ्दा क्लासमा टप फाइभबाट म कहिल्यै तल झरिनँ। तर कुनै वर्ष फस्र्ट आएको मान्छे अर्को वर्ष एकैपल्ट फोर्थ हुन्थे। घरकाले तैले आफ्नो पढाइ बिगारिस् भनेर गुनासो गर्थे। अर्को वर्ष फेरि पढाइ सुधार्थें।

जाँच आइरहेको बेला एकपल्ट बाबाले भन्नुभयो, ‘यसपालि फस्र्ट आइस् भने तँलाई जिनको पाइन्ट किन्दिन्छु।’ सायद कक्षा ७ को जाँच थियो त्यो। मैले फस्र्ट भएर देखाइदिएँ। अनि त जिउमा पहिलो पल्ट जिनको पाइन्ट छिर्‍यो। नयाँ जिनको पाइन्ट लाएर आफूलाई फिलिमको हिरोभन्दा कहाँ कम ठान्नु।

गाउँकै जनता सेकेन्ड्री स्कुलबाट मैले २०५५ सालमा एसएलसी गरेको हुँ। त्यसबेला एसएलसीपछि छोराले यस्तो विषय पढोस् कि फ्याट्टै काम पाओस् भन्ने घरकालाई लाग्थ्यो। एसएलसीपछि चाँडै काम पाइन्छ भनेर मलाई सीएमए पढ्न धरान पठाइदिए। मैले सीएमए पास पनि गरेँ। तर मैले त्यो कोर्स रहरले होइन, करले गरेको थिएँ। न त्यो विषय पढेर एकाडेमिक क्वलिफिकेसन बढ्थ्यो। त्यसैले पढ्न काठमाडौं उक्लिएँ। त्यसबेला पत्रकारिता विषयको चार्मिङ थियो। साथीहरूले त्यही विषय पढ्न हौस्याए। आरआर कलेजमा ऐच्छिक अंग्रेजीसहित पत्रकारिता पढ्न थालेँ।

एक वर्ष पत्रकारिता पढेपछि मलाई लाग्यो, मेरो यो पनि रुचिको विषय होइन रहेछ। अनि अर्को वर्ष मानविकीमा ऐच्छिक नेपाली विषय लिएर पढ्न थालेँ। नाटक, कथा, कविताबारे पढाइ हुन थालेपछि मन रमाउन थाल्यो। मलाई लाग्यो, मेरो रुचिको विषय यो पो रहेछ। तर त्यो बीचमा मेरो चार वर्ष त्यसै खेर गइसकेको थियो। भाइबहिनीहरूले पनि आफ्नो रुचिको विषय के हो ?       एसएलसी पछि के पढ्ने भनेर बेलैमा छान्न सक्नुपर्छ। बा आमाको करले गरेको पढाइमा उन्नति गर्न सकिन्न।

कक्षामा नाटक पढ्ने मान्छे गुरुकुलमा नियमित नाटक हेर्न जान थालेँ। कहिलेकाहीँ कोर्सकै नाटक मञ्चन हुँदा गज्जब लाग्थ्यो। गुरुकुलको ओहोरदोहोरले नाटकको नशा लाग्दै गएको थियो। २०६३÷०६४ मा चुनावसम्बन्धी जनचेतनामूलक सडकनाटक खेल्ने अवसर पाइयो। त्यो नाटक कुनै एनजीओको थियो। नाटक खेलेर राम्रै रकम पनि पाइयो। आफ्नो रुचिको विषयमा पैसा पनि पाउन थालेपछि नाटक नै कर्म बन्न थाल्यो। तर रुचिको विषयमा पैसाको कुरा पनि गौण हुने रहेछ। भाइबहिनीहरू, हमेशा ख्याल गर्नु, पैसा नै सबै थोक होइन है।

नायक विपिन कार्कीसँग कृष्णराज सर्वहारीले गरेको कुराकानीमा आधारित।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.