घरेलु मदिरामा कडाइ
डोल्पा : त्रिपुरासुन्दरी नगरपालिकाभित्र घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा प्रहरीले कडाइ गरेको छ । घरेलु मदिरा बिक्री बढ्न थालेपछि प्रहरीले गस्ती बढाएको हो । नगरपालिका क्षेत्रअन्तर्गत खदाङ, श्रीविण्डे, चुँगाड, छलगाड र त्रिपुराकोट बगर बजार क्षेत्रमा मदिरा उत्पादन तथा विक्री वितरणमा पुर्णरुपमा रोक लगाएको प्रहरीले जनाएको छ ।
बजार क्षेत्रमा भित्रने नाकामा र गाउँको प्रवेशद्धारमा सादा र पोशाकसहितका सुरक्षाकर्मी परिचालन गरी मदिरा नस्ट गर्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । घरेलु मदिरा उत्पादक र वितरकलाई नियन्त्रणमा लिएर मदिराले समाजमा पार्ने नकारात्मक असरको बारेमा कक्षा पनि दिने गरिएको छ । त्रिपुराकोट प्रहरी चौकीका इन्चार्ज डीएसपी टेकबहादुर देउवाले त्रिपुराकोट बगर बजार क्षेत्रमा सबभन्दा बढी मदिरा विक्री वितरण हुने गरेको जनाए ।
त्रिपुराकोट बगरमा बिक्री वितरण गर्न ल्याइदै गरेको २ सय लिटर घरेलु मदिरा बुधवार नियन्त्रणमा लिएर नस्ट गरिएको छ । पटक पटक गरेर पाँच सय लिटरभन्दा बढी घरेलु मदिरा नष्ट गरिएको प्रहरीचौकी त्रिपुराकोटले जनाएको छ ।