नेपाली महिला फुटबल टोलीलाई नगद पुरस्कार
विराटनगर : नेपाली महिला राष्ट्रिय टोलीलाई विराटनगरमा नगद पुरस्कारसहित सम्मान गरिएको छ । ओलम्पिक छनोटमा पहिलो पटक भाग लिएर दोस्रो चरणमा प्रवेश र भारतमा सम्पन्न हिरो कपमा उपविजेता बनेर आएको महिला फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नगद पुरस्कार प्रदान गरेको हो ।
एन्फाका प्रवक्ता किरण राईका अनुसार ओलम्पिक र हिरो कपमध्ये एकमा सहभागीलाई ५०÷५० हजार पुरस्कार र दुवै प्रतियोगितामा सहभागीलाई एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ । एन्फाले उपलब्ध गराएको नगद पुरस्कार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदान गरे ।
एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेमा अन्जना राना मगर, एन्जिला तुम्बा, मन्जिलाकुमारी योन्जन, विमला चौधरी, दीपा राई, निरु थापा, रेणुका नगरकोटी, सरु लिम्बू, अनिता केसी, अनिता बस्नेत, हीराकुमारी भुजेल, सावित्रा भण्डारी, गीता राना, मनमाया लिम्बू, पुनम जर्घामगर, कविता धिमाल र अमृता जैसी छन् ।
५० हजार नगद पाउनेमा सुनिता चौधरी, उषा नाथ, रेखा पौडेल, रन्जना दर्जी, रुपा राना, दीपा न्यौपाने, अनु लामा, शर्मीला थापा र पूजा राना रहेका छन् ।
अफिसियलतर्फ फिजियोमा विवेक विक्रान्त अधिकारी, मनीषा महर्जन र जिनी बज्राचार्यलाई जनही ५० हजार पुरस्कार दिइएको छ । सहायक प्रशिक्षक भगवती राना मगर, गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र, टोली व्यवस्थापक कमला हिराचन र टोलीका मुख्य प्रशिक्षक हरि खड्कालाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरियो ।
मेयर पराजुलीले तीन जना मोरङका खेलाडी सरु लिम्बू, कविता धिमाल र मनमाया लिम्बूलाई विराटनगर महानगरपालिकाको सद्भावना दूतमा नियुक्त गरेका छन् । उनले मंगलबारबाट विराटनगरमै सुरु हुने पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिपमा विजयको सुभाकामना दिंदै उपाधि उचालेपछि नगद पुरस्कारले खेलाडीलाई सम्मान गर्ने घोषणा गरे ।
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली राष्ट्रिय टोलीलाई विजयको शुभकामना दिए । ओलम्पिक छनोटमा पहिलो पटक भाग लिएको नेपाली महिला राष्ट्रिय टोली भारतसँग १–१, म्यानमारसँग १–१ र बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।
पहिलो पटक भाग लिएको टोली दोस्रो चरणमा प्रवेश गरेको थियो । भारतमा भएको हिरो कपमा भने उपविजेता बनेको थियो ।