देश सरकारले चलाउने हो, संयन्त्रले हैन : शेखर कोइराला

देश सरकारले चलाउने हो, संयन्त्रले हैन : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले देश संयन्त्रले नभइकन सरकारले चलाउनुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलान खोजिरहेको उनको आरोप छ। 

‘देश सरकारले चलाउने हो। संयन्त्रले हैन। तर, यहाँ संयन्त्रमार्फत प्रधानमन्त्रीले चलाउन खोजेजस्तो देखिन्छ,’ विराटनगरस्थित कोइराला निवासमा बुधबार बिहान नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले भने। उनी भन्छन्, ‘‘डेमोक्रेटिक सिस्टम’मा संयन्त्रले देश चलाउने नभइ सरकारले चलाउने हो। संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्री। यो गलत हो। बिलकुल गलत हो।’ 

नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन सरकार बनेपछि दुई दलले सरकार सञ्चालनका लागि भनेर संयुक्त संयन्त्र बनाएका छन्। प्रदेश तहमा पनि संयन्त्र छन्। ती संयन्त्रले सरकार सञ्चालनमा सहजीकरण गर्ने भनिएको छ। कोशीमा बनेको संयन्त्रले केही दिनअघि सरकारलाई बजेट पुनरावलोकन गर्न निर्देशन दिएको थियो। तर, बजेट पुनरावलोकन नहुने भएको छ।  

दुई दलले वडा तहसम्म संयन्त्र बनाएर काम गर्ने सहमति गरेका छन्। डाक्टर कोइरालाले संयन्त्र बनाउने काम गलत भएको टिप्पणी गरे। ‘२०५१ सालमा एमालेको सरकार थियो। त्यो बेला सचिवको कोठामा एक जना एमालेको आधिकारिक व्यक्ति बस्नु हुन्थ्यो। हामीजस्तो मान्छे जाँदाखेरी उहाँको के काम छ ? भन्दै सोध्नुहुन्थ्यो। फेरि संयन्त्रले त्यही गर्न खोजिरहेको छ,’ उनले भने। संयन्त्र कम्युनिस्ट मुलुकमा मात्रै हुने उनको जिकिर छ। 

‘संवैधानिक प्रावधानको दुरुपयोग गरेर अध्यायदेश ल्याइयो’

डा. कोइरालाले संवैधानिक प्रावधानको दुरुपयोग गरेर सरकारले अध्यादेश ल्याएको बताए। देशै नचल्ने अवस्थामा मात्रै ल्याउनुपर्नेमा अध्यादेश ल्याउनसक्ने प्रावधानको दुरुपयोग गरिएको उनको भनाइ छ। ‘अध्यादेश के हो भने संविधानमा जुन प्रावधान छ। त्यो एकदम देशै नचल्ने अवस्थामा मात्रै ल्याउनु पर्ने हो,’ उनले भने, ‘ कांग्रेस र एमालेको बहुमत छ। दुई ठूला दलको बलियो सरकार रहेका बेलामा समेत अध्यादेश ल्याइनु गलत हो।’

ऐन बनाउन बहुमतले पास गर्नुपर्ने र दुईतिहाइ नचाहिने भन्दै कोइरालाले अध्यादेश ल्याउने सरकारको कदमप्रति असन्तुष्टि जनाए। अध्यादेशबाट देश चलाउनु निरंकुशताको ‘वान स्टेप’ भएको उनको टिप्पणी छ। ‘अब त १८ गते संसद बोलाइसकियो। त्यो आफ्नो ठाउँमा भयो। तर, अध्यायदेशबाट देश चलाउनु निरंकुशताको ‘वान स्टेप’ हो भन्ने चिन्ता लाग्छ। त्यो गर्नुहुन्न। त्यो गलत कुरा हो,’ कोइराला भन्छन्। 

उनले विषयवस्तु के आयो भन्ने भन्दा पनि कसरी आयो भन्ने कुराले अर्थ राख्ने बताए। ‘अहिले अध्यादेश ल्याउनु भयो। यसको भित्रको ‘कन्टेन्ट’हरु खराब त छैनन्। धेरै अध्यादेशहरु ठीकै छन्। राम्रै छ भन्छु म। तर, संसद बोलाएर गर्नुपथ्र्यो नि त,’ कोइरालाले भने। 

सरकारले पुस १४ गते  ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ ल्याएको थियो। पुस २९ गते ४ वटा र माघ २ गते १ वटा अध्यादेश जारी गरियो। गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत संशोधन गर्ने सरकारको काम लोकतान्त्रिक हुन नसक्ने भनेर विपक्षी दलहरूले समेत आलोचना गर्दै आएका छन्। यही बेला सत्तारुढ दल कांग्रेसकै नेता कोइरालाले पनि अध्यादेश ल्याउनसक्ने संवैधानिक प्रावधानको दुरुपयोग भएको बताएका हुन्।

‘कांग्रेस र एमालेबाट मात्रै संविधान संशोधन सम्भव छैन’

नेता कोइरालाले नेपाली कांग्रेस र नेकपा (एमाले)ले चाहेर मात्रै संविधान संशोधन सम्भव नहुने बताएका छन्। संविधान संशोधनमा सबैलाई समेट्नुपर्ने उनको धारणा छ। ‘संविधान भन्नेबित्तिकै नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन। नेपाली कांग्रेस र एमालेले सुरु गर्ने कुरा होला। तर, माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्छ,’ उनले भने। 

उनले संविधान सबैलाई पाच्य हुनुपर्ने बताए। दुईतिहाइ पुर्‍याएर संशोधन गर्दिन्छौं भन्नु नै गलत भएको उनको भनाइ छ। ‘संविधान यस्तो ‘डकुमेन्ट’ हो, जो कि सबैलाई पाच्य हुनुपर्छ। अनिमात्रै हुन्छ। दुईतिहाइ बनाएर गर्दिन्छौं भन्नु गलत हुन्छ। कांग्रेस एमालेबीच अलिअलि छलफल भएको छ। तर, त्यतिले हुँदैन। यो सबैको माझामा जानुपर्छ। अरु दलहरुसित पनि छलफल गर्नुपर्छ,’ नेता कोइराला भन्छन्। 
उनले संविधान संशोधनका बारेमा नागरिकले यो के हो ? के भइरहेको छ ? भनेर बोलिरहेको पनि बताए। कांग्रेस र एमालेको बीचमा भएको सहमतिका आधारमा मात्रै संविधान संशोधन नहुने कोइरालाले बताए।

‘नेपालमा संसदीय व्यवस्था नै उत्तम’

कोइरालाले नेपालजस्तो देशमा संसदीय व्यवस्था नै उत्तम हुने बताए। नेपाल दुई ठूला देशको बीचमा रहेका बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश भएकोले संसदीय व्यवस्था ठीक हुने उनको भनाइ छ। ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिभन्दा पनि ‘पाल्र्यामेन्ट्री सिस्टम’ नै ‘बेटर’ हुन्छ भन्ने लाग्छ,’ कोइरालाले भने। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबारे कांग्रेसभित्र छलफलसमेत नभएको उनको भनाइ छ। 
‘सरकार ढल्ने कुरामा सत्यता छैन’

डा. कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने कुरामा कुनै सत्यता नभएको बताएका छन्। गठबन्धन सरकारले ७ बुँदे सम्झौता अनुरुप काम गर्नुपर्नेमा उनको जोड छ। 

‘संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर काम गर्नुपर्ने हो। ६ महिनाको यो अवधि काममा धेरै हुन सकेकै छैन। जसरी अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेन। तर, सरकार ढल्ने कुरामा सत्यता छैन,’ कोइरालाले भने। 

विराटनगरस्थित कोइराला निवासमा बुधबार बिहान नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा आफ्ना कुरा राख्दै कांग्रेस नेता शेखर कोइराला। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.