साफ महिला फुटबल : भुटानविरुद्ध नेपाल दुई गोलले अगाडि
विराटनगर : विराटनगरमा मंगलबार सुरु महिला साफ च्याम्पियन्यसिप फुटबल प्रतियोगितामा नेपालले भुटानविरुद्ध सुरुवातमै दुई गोलको अग्रता लिएको छ ।
विराटनगरको सहिद रंगशालामा भइरहेको उद्घाटन खेलमा नेपालका लागि १३ औँ मिनेटा मञ्जलीकुमारी योञ्जनले पहिलो गोल गर्न सफल भइन् ।
त्यसको तीन मिनेट नबित्दै नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारीले गोल गरेपछि नेपालले २-० को अग्रता बनाउन सफल भएको हो । पहिलो हाफको २५ मिनेटको खेल चलिरहँदा नेपालले भुटानविरुद्ध दबाब बढाउँदै २्-० अग्रता कायमै राखेको छ ।
भारतमा भएको हिरोकपमा उपविजेता बनेको नेपाल यो पटक नेपाल घरेलु भूमिमा साफ फुटबलको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ।
च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्स सहभागी छन्। खेलअघि सोमबार विराटनगरमा नेपालका प्रशिक्षक हरि खड्काले खेलाडीले उपाधि लक्ष्यसहित उच्च मनोबलका साथ प्रदर्शन गर्ने बताएका थिए।
नेपाली टोलीकी कप्तान नीरू थापाले घरेलु मैदानको फाइदा उठाएरै छाड्ने दाबी गरेकी थिइन्। नेपालसँग भिडिरहेको भुटानी टोलीले यसअघि नेपालसँग भएका कुनै पनि प्रतिस्पर्धामा सफलता भने पाउन सकेको छैन। घरेलु मैदान र यसअघि जित्न नसकेका कारण पनि भुटानमाथि जित निकाल्न त्यति गाह्रो नभएको नेपाली टिमको विश्लेषण छ।
नौ वर्ष अघिबाट सुरु भएको साफमा हालसम्म नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएको छ। भारतले चारैपटक उपाधि हात पारेको छ। समूह ‘ए’मा नेपाल, भुटान र बंगलादेश छन्। ‘बी’मा श्रीलंका, माल्दिभ्स र भारत छन्।