एयरपोर्टका दुई तस्बिर : 'यस्तो देख्न नपरे जाती हुन्थ्यो'
गत शनिबार पत्रकार राजु स्याङतानले एक मन छुने तस्बिर फेसबुकमा पोस्ट गरे । भित्रुवन अन्तराष्ट्रिय विमानस्थलमा एक वृद्ध परदेश हिडेको आफ्नो छोरा भित्र छिरेर ओझेल परिसकेपछि पनि टोलाएर त्यतै हेरिरहेका थिए।, उनको हुलिया टीठ लाग्दो थियो। शरीरमा पुराना कपडा, गोडामा थोत्रा चप्पल।
ढल्किदो उमेर, शिथिल बन्दै गएको शरीर, गल्दै गरेका नौनाडी,। आफ्ना सन्तान आफ्नै अगलबगल बसेर साथ सहयोग गरुन्, स्नेह दिउन, भन्ने इच्छा कसलाई नहोला र ? यस्तो बेलामा आफ्नो छोरालाई आफूभन्दा धेरै टाढा पराई देशमा विदाइ गर्नु परेकोमा चिन्तित थिए सायद उनी।
मैले पनि अढाइ वर्षअघि वैदेशिक रोजगारीमा जान लागेको भाइलाई विमानस्थलमा छोड्न जाँदा त्यसैगरी भित्र पुगुञ्जेलसम्म हेरेको थिएँ। त्यही दिनको पुनर्ताजगी गराइदियो त्यस तस्बिरले।, भाइलाई छोड्दा पीर मानुहुन्छ भनेर हामीले बुबालाई एयरपोर्ट जान दिएका थिएनौं त्यस दिन। टोलाएर उभिइरहेका ती वृद्धमा मैले मेरै बुबाको रुप देखें, अनि तिनीसँग विदा भएर एयरपोर्टभित्र छिर्ने युवामा मेरो भाइको, नरमाइलो अनुभूति भयो।
यो तस्बिर सामाजिक सञ्चालमा निकै चर्चित बन्यो, बनिरहेको छ । यसै तस्बिर देखाएर देशको राजनीतिक अवस्थाप्रति व्यंग्य गरिएका, नेता नेतृत्वहरुलाई गाली गरिएका सयौं पोस्टहरु सामाजिक सञ्जालतिर देख्न सकिन्छ । यस तस्बिरले ती वृद्ध, मेरा वा कसैको मात्रै नभएर हजारैाँ नेपालीको प्रतिनिधित्व गर्दछ । नियाल्ने हो भने त्यही विमानस्थलमा एकैदिन त्यस्ता कयौं तस्बिरहरु भेला हुनसक्छन्।
त्यसकै भोलिपल्ट त्यही ठाउँमा खिचेके अर्काे तस्बिर पनि त्यत्तिकै चर्चित बन्यो। आइतबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीतालाई लिएर उपचार गर्न अमेरिका उडे । नेकपाको युवा संगठन वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले प्रचण्ड, सीता अमेरिका प्रस्थान गर्नुअघि विमानस्थलमा विदाई गर्दाका तस्बिरहरु फेसबुकमा पोस्ट गरे।
त्यस मध्ये नेकपाका नेता कार्यकर्ताको ठूलो समूह हातमा खादा लिएर दुईतिर लाइन बसेको तस्बिर भाइरल बन्यो। एकातर्फ नेता पत्नीलाई विदेशमा उपचार गर्न लान लागेको भनेर आलोचन भइरहेको थियो । विशुद्ध पारिवारिक कामले, बिरामी उपचारका लागि विदेश जान लागेका नेतालाई विदाइ गर्ने भद्धा तरिकाप्रति धेरैले तिखो आलोचना गरे।
नेतालाई चाकडी गर्ने नेपालका राजनीतिक दलका कार्यकर्ताको भद्धा चर्तिकला विभिन्नरुपमा देखिइ नै रहेको छ । यहाँ कुन दलका नेतालाई ठूलो माला लगाइदिने ? दलभित्र पनि कुन गुटका नेतालाई धेरै किलोको मालाले स्वागत गर्ने भन्ने कुराको प्रतिस्पर्धा देखिदै आएको छ।
प्रचण्ड दम्पत्तिलाई बिदाइ गर्ने नेकपा कार्यकर्ताको तरिकालाई चाकडीको पराकाष्ठाका भन्दै आलोचना भइरहेको छ । विभिन्न तुच्छ शब्द प्रयोग गरी उनीहरुलाई गाली गरिएको छ।
वाईसीएल अध्यक्ष सापकोटाले आफ्ना अध्यक्षविरुद्ध सर्बत्र प्रहार भइरहेकाले उनको मनोबल बढाउनका गएको भनी विभिन्न माध्यामबाट प्रतिक्रिया दिएका छन्। उनले विभिन्न कोणबाट यो ठीक रहेको भन्दै बचाउ गरेका छन्।
आलोचना वा बचाउभन्दा पनि यसले हाम्रो राजनीतिमा कस्तो संस्कारको स्थापित गरिंदैछ भन्ने कुरा सोचनीय छ । सामन्ती संस्कारकै विरोध गरेर जनताबाट शक्ति आर्जन गरेका पार्टीका नेता, कार्यकर्ताले यस्तो तरिका प्रदर्शन गर्नु ठीक हो, होइन उनीहरुले नै विचार गर्नुपर्ने होइन र? राजारानीका हरेक यात्रामा उनीहरुलाई दर्शन गर्दा पनि पुण्य मिल्छ, भन्ने भावमा आसपास झुम्मिने आसेपासे र आफूलाई क्रान्तिकारी दाबी गर्ने पार्टीका कार्यकर्ताबीच कसरी फरक छुट्याउने ?
वरिपरि समर्थकहरु भेला भएर आफ्नो जयजयकार गरिरहँदा मख्ख पर्ने, अनि त्यसबाट प्रशन्न भई बक्सिस दिने शाकककै दाँजोमा पुर्याउने हो आफ्ना नेतालाई? कार्यकर्ताको काम नेता जता झुल्किन्छन्, ह्वार्रह्वार्ती त्यतै झुम्मिने हो वा पार्टीका नीति, कार्ययोजना जनतामा पुर्याउने, जनताका सुख, दुखमा साथ दिने हो।
सामान्य व्यक्तिगत कामका लागि, कतै जादै वा आउँदै गरेको नेतालाई निर्वाचनमा विजय हासिल गरे जस्तो, राष्ट्रपति, प्रधानमन्त्री पदमै बहाली भएजस्तो, विश्वकप जितेर फर्केको खेलाडीलाई जस्तो माला र खादाले पुरिदिएको देख्दा, गर्नेलाईभन्दा देख्नेका अनुहार लाजले रातोपिरो हुन्छ । खासमा नेता आफैंलाई पनि यस्ता कुराले अप्ठेरो लाग्नु पर्ने हो ।
एकदिनको फरकमा एकै ठाउँमा देखिएका यी चर्चित दुई तस्बिरलाई हेरेर यति भन्न मन लागेको छ ‘यस्तो देख्न नपरे कति जाती हुन्थ्यो?’ कुनै बाहरूले बुढेसकालमा छोरा/छोरीलाई विदा गरी निराश चेहेरामा एयरपोर्टमा टोलाउनु नपरे हुन्थ्यो । राजनीतिक दलका नेता, कार्यकर्ताले हेर्नेलाई पनि अप्ठेरो लाग्ने खालका चाकडीयुक्त संस्कार त्यागे हुन्थ्यो।