कोड भाषासहित सलबलाए पाकेटमार
काठमाडौं : फागुन १३ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रामबन्धु शर्मा सुन्धारामा पाकेटमारको सिकार बने। सानीमा बैंक र ग्लोबल आईएमई बैंकको एटीएम कार्ड (पिनकोडसहित) पर्समै थियो। पाकेट मारिएकै राति उनको बैंक खाताबाट १ लाख ४० हजार रुपैयाँ झिकियो।
दरबारमार्गस्थित सानीमा बैंकको र जमलमा ग्लोबलको एटीएम बुथबाट पाकेटमारले रकम झिकेको भिडियोमा देखिन्छ। राति मास्क लगाएर रकम झिकेकाले प्रहरीलाई अहिले पाकेटमार पत्ता लगाउन हम्मेहम्मे परेको छ। शर्माले प्रहरीलाई पाकेटमार पक्राउका लागि पटकपटक ताकेता गर्दै आएका छन्।
जानकार भएर पनि एटीएम कार्डसँगै पिनकोड राखेका शर्माको लापरवाहीले उनले रकम गुमाउनु प¥यो। राजधानीमा पाकेटमारीको यो एउटा प्रतिनिधि घटना मात्र हो। शर्माजसरी धेरै सर्वसाधारण पीडित छन्। महानगरीय प्रहरी परिसर टेकुले एक महिनाअघि सय जना पाकेटमार सार्वजनिक ग¥यो। डीएसपी होविन्द्र बोगटीको कमान्डमा टोली नै खटाएर पाकेटमार पक्राउ गर्ने अभियान थालेको परिसरले एक महिनामै सय जना पाकेटमार नियन्त्रणमा लिएको थियो।
अहिले संगठित तवरबाट पाकेटमारी गर्ने गिरोहले राजधानी छाडेको दाबी प्रहरीको छ। तर छिटपुट घटना भइरहेको स्वीकार्छन् डीएसपी बोगटी। भन्छन्, ‘ सार्वजनिक बसमा पेसेवर रूपमै पाकेटमारी गर्ने गिरोह छन्। केहीको बसका कर्मचारीसँग मिलेमतोसमेत देखिएको छ।’ उनका अनुसार विशेषगरि कान्तिपुर यातायातमा बढी पाकेटमारी हुने गरेको छ।
रिङरोड परिक्रमा गर्ने मिनी र ठूला बसमा पाकेटमार सक्रिय छन्। रत्नपार्क, सुन्धारा, गौशाला, कोटेश्वर र पुरानो बसपार्क क्षेत्रमा पाकेटमारी धेरै हुने गरेको बोगटीले बताए। भने, ‘जहाँ बढी घुइँचो हुन्छ, त्यहाँ पाकेटमार सलबलाउँछन्, उनीहरू कोड भाषा प्रयोग गरेर पाकेट मार्छन्। सर्वसाधारण पनि त्यस्ता ठाउँमा सचेत हुन जरुरी छ।’ प्रहरीको अध्ययनले राति डान्सबारमा काम गर्ने केही युवतीले दिउँसो पाकेट मार्ने गरेको देखाउँछ।
डीएसपी बोगटीका अनुसार अदालतमा मुद्दा दर्ता गरेपछि धरौटी खुल्ने बित्तिकै पाकेटमार छुट्छन्। कारण अर्को पाकेटमारले नै पक्राउ परेकाको धरौटी तिरिदिन्छन्। ‘अदालतबाट छुटेका पाकेटमारको अनुसन्धान ग¥यौं, जसले धरौटी तिरिदियो, उसलाई नै पछि पाकेटमारेको आरोपमा पक्राउ ग¥यौं’, उनले भने, ‘अदालतले पनि पटके पाकेटमारको हकमा कडा फैसला गरे सजिलो हुन्थ्यो।’ उनले पाकेटमार जेल चलान भएको अभिलेख न्यून छ।
परिसरका मुद्दा शाखाका एक अधिकृतले भने, ‘पीडितलाई तुरुन्त पैसा चाहिन्छ, कोही उपचारका लागि आएका हुन्छन्, कोही कामकाजका लागि काठमाडौं आएर तुरुन्त फर्कनुपर्ने हुन्छ। यस्तो अवस्थामा पैसा लिने र पाकेटमारलाई छाडिदिने सहमति हुन्छ।’ यस्तो बेला अदालतले सरकारी वकिल कार्यालयको मिसिल हेरेर बरामद रकम पीडितलाई फिर्ता दिए केही हदसम्म सजिलो हुने बताउँछन् डीएसपी बोगटी। प्रहरीले ३ महिनामा ६ लाख रुपैयाँ पाकेटबारबाट पीडितलाई फिर्ता गरिसकेको छ।
पाकेटमारका कोडभाषा
टिनुवा–पाकेटमार
खडी–लुटपाट
घोप्टे–खुकुरी
चिसो–छुरी÷चक्कु
द–पैसा
ध्रुवदाइ–पैसावाला मानिस
कान–मोबाइल
दस्ती तोड–रुपैयाँ निकाल
दह–रुपैयाँ निकाल
थान–हजारको नोट
गज–सयको नोट
सेतो आधा–५ सयको नोट
टिप्ली मास्टर, कासी–पाकेटमारको मुख्य मानिस
छापा–केटा
भद्री–केटी
माम–ड्राइभर
मले–चालक सहयोगी
टप्की–गाडीबाट झरेर भाग
अकल जा–गाडीभित्र अगाडि सर
चिछल जा–गाडीभित्र पछि सर
ढेक–पाकेट मार्दा छेकछाक गर्ने मानिस
ठूला–सादा पोसाकको प्रहरी
लाटा–युनिर्फमको प्रहरी
मानबेचे–प्रहरी भ्यान
डे–केरकारको प्रहरी
टिप–पैसा खसालेर टिप्न भन्ने र अरूको खल्तीबाट निकाल्ने
निलचरी–आर्मी र सशस्त्र प्रहरी
बिरालो–सेतो भ्यान
-(स्रोत : नेपाल प्रहरी)