मध्यराति सडकबत्तीमा पढ्दै ९ वर्षीया रञ्‍जीता : न जन्मदर्ता, न स्कुलमा नाम (भिडियो)

मध्यराति सडकबत्तीमा पढ्दै ९ वर्षीया रञ्‍जीता : न जन्मदर्ता, न स्कुलमा नाम (भिडियो)

महोत्तरी (बर्दिबास) : ९ वर्षकी रञ्जीता कापर हरेक रात सडकबत्तीको प्रकाशमा भविष्य खोज्छिन्। नजिकैबाट सयौं बटुवा आउजाउ गर्छन्। सडक किनारको पोलमा बालिरहेको बत्तिको उज्यालोमा उनको ध्यान किताबमै हुन्छ।

बालापनमै आमाको काख गुमाएकी रञ्जीताको पढेर ‘मास्टर्नी’ बन्ने सपना छ। त्यही सपनाले प्रत्येक राती तानेर उनलाई सडक छेउको बत्तिमुनी ल्याइपुर्‍याउँछ। सडकमै फ्याँकिएको कुट ओछ्याएर क, ख, ग लेखिछिन् र पढ्छिन् उनी।

महोत्तरीको औरही नगरपालिका २ औरहीकी उनी हाल बर्दिबास नगरपालिका—१ को सडक किनारमा बुवा मदन कापरसँग बस्दै आइरहेकी छन्। बुवा मदन  कवाड बटुलेर गुजारा चलाउँछन्। 

रञ्जीता स्थानीय राष्ट्रिय अधारभूत विद्यालय बर्दिबासमा कक्षा १ मा पढ्छिन्। तर, उनको थोत्रो झोलामा बोडिङ स्कूलको कक्षा तीनमा पढ्ने पुराना किताब छन्। उनी ती किताब कवाडबाट संकलन गरेर स्कुल जान्छिन्।

तर, जन्मदर्ता अभावमा स्कुला उनको नाम लेखिएको छैन। बुवाको नागरिकता हराएकोले उनले जन्मदर्ता प्रमाणपत्र पाउन नसकेकी हुन्।

आत्तिँदै बित्छ रात

बर्दिबास बजार जाने सडकको पेटीमा  रञ्जीता बस्दै आएकी छिन्। उनको न  खाने ठेगान छ, न बस्ने घर, न त कोही आफ्न्त नै।  कहिले भोजभतेर, कहिले होटलमा मागेर छाक टार्दै आइरहेकी छिन् उनी।

फालिएका पानीका बोतल, कुट बटुल्छछन उनका बुवा मदन। नजिकैको भिखारी चौधरीको कवाडमा  बिक्री गर्छन्। सडकसँग टाँसिएरै  भिखारीको कवाड छ। कवाडको गेटको उत्तरतिर रञ्जीता आफ्ना बुवा मदनसँगै बस्दै आएकी छन्।

मदन मुस्किलले दिनभरमा चार/पाँच सय कमाउँछन्। बचाउनु त कहाँ हो कहाँ भट्टीमा सबै पैसा सिध्याउँछन्। मदन महिले कवाड अगाडि भुईँमै त कहिले बाटोघाटोमै मातिएर सुत्छन्।

दिन जसो तसो पढेर खेलेर बिताउँछिन् रञ्जीता। तर, हरेक रात डरमर्दो हुन्छन्। मध्यरातमा बर्बराउँदै  बाटोमा हिँड्ने ट्यापे, जड्याहाहरूसँग उनी एकदमै डराउँछिन्। केही हुने हो कि भन्ने सन्त्रासमा उनी रात कटाउँछिन्।

सहयोगी हातको खोजी

ढेड महिना अघि उनी आफैं स्कुल आएको राष्ट्रिय अधारभूत विद्यालय बर्दिबासका प्रधानाध्यापक शिवविक्रम थापा बताउँछन्।

‘रञ्जीता आफैं आइन्। स्कूलमा  बसिरहिन्। हामीले बाबु कसलाई खोजेको भन्दा रञ्जीताले भनिन्- पढ्न आएको,’ प्रधानाध्यापक थापाले भने, ‘पढ्न तेज छिन् । राम्रो चित्र बनाउँछिन्। अनुशासित छिन्। तर, यिनलाई हेरचाह गर्ने कोही छैन।’

सहयोगी हात भेटाए रञ्जीताको सपना पूरा हुने बताउँछन् प्रधानाध्यापक थापा।

श्रीमतीलाई कात्रो  किन्न सकेनन्

हिउँद होस् या बर्खा।  ९ वर्षकी रञ्जीता र उनका बुवा मदनको बास सडक पेटीमै हुन्छ। दशक अघिदेखि सडक किनारको पेटीमा खुल्ला आकाशमुनी रात काट्दै आएकी रञ्जीताले गत वर्ष आमा  कल्पना कारप (मुसहर)लाई गुमाइन् । न्यानो ओढ्ने ओच्छ्याउने कपडाको अभावमा उनकी आमा कल्पना विरामी भइन् । मदनले उपचार गराए तर बाँचिनन्।

मदन गरिबीको दलदलमा पिरोलिएका छन्। श्रीमतीलाई दाहसंस्कार गराउन कात्रो र जलाउने दाउरो किन्ने उनीसँग  रुपैयाँ भएन।

रञ्जीताकी १२ वर्षका साथी जाविर दर्जी आलम भन्छन्,‘एक वर्ष अघि रञ्जीताककी आमा बितिन्।  उनका बुवाले खोलामा लगेर गाडे। शव कुकुर—स्यालले उखेलेर खाए।'

मदनको दुखान्त प्रेम

मदनको पहिलो विवाह धनुषाको बटेश्वरकी शान्ति कापरसँग भएको थियो। विवाह भएको दुई महिनामै शान्ति गाउँकै मुसहर समुदायका युवकसँग कुलेलाम ठोकिन्। मदन फर्काउन गए । तर, उनलाई शान्तिका प्रेमी पक्षकाले रुखमा बाँधेर निर्घात कुटपिट गरे।

मदनले पछि गाउँकै मुसहर जातकी कल्पना मुसहरलाई विवाह गरे। शान्तिसँग बुवाआमाले खोजेर विवाह गराइदिनु भन्दा पहिलेदेखखि नै कल्पणा मदनले एक अर्कालाई प्रेम गर्थे ।

समयमा आफूले मन पराएकोसँग विवाह गर्ने त के कुरा गर्न पनि गाह्रो हुने खालको थियो। अन्तरजातीय विवाह गर्नेले समाजबाट ठूलो सजाय भोग्नु पर्थ्यो।

अन्तरजातीय विवाह गरेको भन्दै मदनलाई घरपरिवारले तिरस्कार गर्‍यो। शीर उठाएर हिँड्न दिएनन्। परिवारको तिरस्कार र समाजको हेपाइले उनी १२ वर्षअघि उनी विरक्तिएर घर छाडेका थिए। त्यसपछि सडक पेटी नै उनको बास बन्यो।

मदनले दोस्रो श्रीमती कल्पनाको कोखबाट छोरी ममता, रञ्जीता र छोरो रञ्जीत सन्तानको रुपमा पाए।

‘प्रेम गरेर कसैलाई बाटोमै छोड्न मिल्छ भन्नु त ?,’ कल्पणासँगको प्रेम सम्झिँदै उनले भने,‘समाजमा मिलेर बस्छौ भने कल्पणालाई छाडेर आइजा अनि मात्र बस्न दिन्छौ गाउँले र घरपरिवारले मलाई भन्यो।’

कल्पणालाई मरेपनि नछाड्ने कसम खाएर उनले गाउँ छोडे। ‘जीवनमा औरही गाउँको मुख देख्न मन छैन। बरु म सडकमै मर्छु—बाँच्छु।’

छोरीलाई कसैले पढाइदेओस्

मदनले जेठी छोरी ममताको सानैमा सर्लाहीको बरहथवामा विवाह गरिदिए। माइलो छोरो रञ्जीत सर्लाहीबाट काठमाडौं चल्ने रात्रीबसमा सहचालको काम गर्छन् भने कान्छी छोरी रञ्जीतालाई लिएर बर्दिबासको सडक पेटीमा लिएर रात काट्दै आएका छन्।

मदनले नागरिकता हराइसकेका छन्। जसका कारण छोराछोरीको जन्मदर्ता बनाउन सकेका छैनन्। तीन पटक वडा कार्यालय गए तर उनले नागरिकताको प्रतिलिपि पाउन सकेका छैनन्।

‘नागरिकताको प्रतिलिपि लिन जाँदा तीन हजार घुस माग्छ,’ मदनले पीडा सुनाए, ‘खान त हामीलाई पुग्दैनँ, घुस कहाँबाट दिने ?’ नागरिकताको प्रतिलिपि पाए छोरीको जन्मदर्ता बनाएर स्कुलमा नाम लेखाइ दिने उनको इच्छा छ। छोरीलाई राम्रोसँग पढाइदिने मान्छे पाए 'भगवान' मान्ने उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.