विप्लवको पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली पक्राउ
काठमाडौं : नख्खु बम विस्फोटका प्रमुख योजनाकार मानिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् । मध्य केन्द्रीय कमाण्ड इन्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन् । उनलाई प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखा स्रोतले दिएको जानकारीअनुसार ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका छन् ।
विप्ववले पार्टीभित्र धेरै विश्वास गर्ने नेतामा ओली पर्छन् । उनकै योजनामा फागुन १० गते ललितपुरकाे नख्खुमा रहेको एनसेल टावर अगाडी बम विस्फोट भएको प्रहरीको निष्कर्ष छ । विस्फोटमा एकजनाको मृत्यु भएको थियो ।
ओली विप्लवको पार्टीका तेस्रो नम्बरका नेता हुन् । दोस्रो नम्बरका मानिएका प्रकाण्डलाई भन्दा विप्लवले स्थायी समिति सदस्य ओलीलाई विश्वास गर्छन् । ओलीले नख्खु बम विस्फोटको जिम्मेवारी लिएका थिए।
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले उनका नेतालाई गाउँगाउँ पुगेर प्रकाउ गरिरहेको छ ।