भीआईपी ठगका किस्सैकिस्सा
काठमाडौं : रौतहट गौरका सतेन्द्रप्रसाद यादव वीर अस्पतालका पूर्व कर्मचारी हुन्। वीरमा काम गर्दा आर्थिक हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दामा कारबाही भोगेका यादव बिस्तारै ठगी धन्दामा लागे। ठगी धन्दामा उनले आफ्नो सक्कली नाम ढाँटेर वीरेन्द्र अधिकारी हुँ भन्दै आएका थिए।
कलंकी बस्दै आएका यादवले कसैलाई अमेरिका त कसैलाई क्यानडा पठाइदिन्छु भनेर लाखौं रुपैयाँ ठगे। ठगीकै आरोपमा २०६९ मा २० लाख धरौटी बुझाएर छुटेका यादव अहिले पुनः ठगीकै आरोपमा प्रहरी हिरासतमा छन्। अहिले उनीविरुद्ध एक करोड ८४ लाख रुपैयाँबराबरको बिगो रकम ठगी गरेको आरोप छ। क्यानडा पठाइदिन्छु भनेर यादवले ३० जनालाई ठगी गरेको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको छ।
सुरुमा महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली अपहरण र ठगी घटनामा यादवलाई समातेको थियो। मुद्दा चालाउन यादवलाई काठमाडौं परिसरमा बुझाएपछि पीडितको संख्या ह्वात्तै बढेको हो। २५ दिनदेखि हिरासतमा रहेका यादवविरुद्ध क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गरेको र जबर्जस्ती करणी घटनामा उजुरी परेको छ। उनले एक युवतीलाई क्यानडा पठाइदिने प्रलोभनमा यौन शोषण गरेको पीडित युवतीको आरोप छ। तपाईंको भिसा आयो, अब मलाई अन्तिम उपहार दिनुपर्छ भन्दै यौन सम्पर्कको प्रस्ताव राखेका थिए। युवतीले इन्कार गर्दा भिसा रद्द गरिदिने भनेपछि यादवले ती युवतीसँग एक रात बिताएका थिए। अहिले ती युवतीले यादवविरुद्ध जबर्जस्ती करणी मुद्दामा उजुरी दिएकी छिन्।
महाशाखाका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरका अनुसार यादवले यतिसम्म गरे कि आफू अपहरणमा परेको भन्दै नाटक रचेर पीडितबाटै फिरौति बुझे। महाशाखाले अपहरणबारे अनुसन्धान गर्दा उनी एक होटलमा मदिरा पिएर बसेको अवस्थामा फेला पारेको थियो। जेल बसेर छुटिसकेका यादव पीडितसँग चेक वा आईएमीबाट पैसा बुझ्दैनथे। अधिकांशसँग पैसैमा कारोबार गर्ने यादवप्रति विश्वास नलागेपछि केही पीडितले विश्वास नलागेर यादवले पैसा लिएको भिडियो समेत बनाएका थिए। प्रहरीमा उजुरी दिँदा पीडितले उक्त भिडियो समेत पेस गरेका छन्। भिडियोमा यादव पैसाको थुप्रोमा देखिन्छन्।
परिसरका प्रवक्ता डीएसपी होवीन्द्र बोगटीका अनुसार ठग्न यादवले उच्च पदमा बसेको प्राय अधिकांशको नाम बेच्न भ्याए। उनले कसैलाई पूर्वन्यायाधीश भने त कसैलाई गृह सचिवको सहयोगी हुँ भन्दै पैसा उठाउँदै आएको पीडितले बताएका छन्। यादवले कसैलाई भने गृह मन्त्रालयकै सहसचिव हुँ भन्न समेत भ्याए। २०७२ को विनाशकारी भूकम्पपछि क्यानडा सरकारले भूकम्पपीडितलाई सहयोगस्वरूप काम गर्न भीसा दिन लागेको र त्यसको नेतृत्व आफूले गरेको भन्दै यादवले पैसा असुल्न थालेका थिए।
काठमाडौं परिसर टेकुको मुद्दा शाखामा बिहीबार पुगेका पीडितले यादवले धेरैलाई ठगेको सूचना दिएका थिए। परिसरले यादवविरुद्ध जबर्जस्ती करणीमा समेत अभियोग दर्ता गरेर अनुसन्धान गर्ने मुद्दा शाखाका प्रमुख डीएसपी मोहनकुमार थापाले जानकारी दिए। उनका अनुसार यादवविरुद्ध काठमाडौं जिल्ला अदालतले पुरानो ठगी घटनामा चार वर्ष जेल सजायँ सुनाएको छ। तर यो फैसला अहिलेको घटना भन्दा अगाडीको ठगी घटनासँग सम्बद्ध रहेको थापाले जानकारी दिए।