चोरी आरोपमा एसईई दिने विद्यार्थीसहित दुई पक्राउ
बागलुङ : जिल्लाको काठेखोला गाउँपालिकामा चोरी गरेको आरोपमा शनिबार दुईजना पक्राउ परेका छन्।
विभिन्न स्थानका पसलबाट चोरी गरेको आरोपमा काठेखोला ६ सौरनीका १५ वर्षीया बुद्धि सुनार र वडा नम्बर ५ देउरालीका वर्ष २७ वर्षीय मिठु भनिने हर्कबहादुर सुनार पक्राउ परेका हुन्।
पक्राउ परेकामध्ये बुद्धि सुनार भिमसेन मावि बिहुँबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने तयारीमा थिए।
प्रहरीले उनीहरुको साथबाट नगद ५९ हजार ५ सय १ रुपैयाँ बरामद गरेको प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर थापाले जानकारी दिए।
पक्राउ परेका दुईलाई थप सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको थापाले जानकारी दिए।
गत चैत ३ गते काठेखोला गाउँपालिका ६ बिहुँ हटियाका छविलाल कँडेलको पसल फोडेर नगद ५२ हजार र रिचार्ज कार्ड चोरी भएको थियो।
त्यसअघि काठेखोला गाउँपालिका ६ इनारपानीबाट खिमानन्द कँडेलको नगद जिन्सी चोरी भएको थियो भने सोही वडाका हरिलाल कँडेलको घरमा समेत चोरी भएको थियो।
प्रतिक्रिया दिनुहोस !