सन्तान हुर्काउनै सकस
महोत्तरी : जनकपुरका लालबाबु साहलाई सन्तान हुर्काउन कठिन छ । विपन्नताका कारण उनलाई सन्तान हुर्काउन सकस भएको हो । उनले लामो समयदेखि बजार क्षेत्रमा ठेला मजदुरी गर्दै आएका छन् । दुई बालक छोरालाई ठेलामै राखेर कामको खोजीमा सहरबजार पस्नु लालबाबुको दैनिकी हो ।
उनका जेठा छोरा ऋषभ अढाई वर्षका भए । कान्छा छोरो रिसु एघार महिनाका छन् । पत्नी सुधीरा बर्दिबासचोकस्थित सिन्धुली रोडको फुटपाथमा फलफूल व्यापार गर्छिन् ।
लालबाबुले बालापनमै आमाबुबा गुमाए । छरछिमेकीको सहयोगमा हुर्किएका लालबाबु दुई छोरालाई मुलुकको योग्य नागरिक बनाउन चाहन्छन् । खानलाउनका लागि संघर्षरत उनी आफ्नो सपना कसरी पूरा होला भन्ने चिन्तामा छन् ।
सुखको खोजीमा लालबाबु जनकपुरबाट महोत्तरीको बर्दिबास सरेका छन् । जनकपुरको लक्ष्मणअखडा उनको जन्मस्थल हो । उनको नाममा एक धुर जग्गा छ न त घर । ३२ वर्षीय लालबाबु लेखपढ गर्न पनि जान्दैनन् । पत्नी सुधीराले चार कक्षा पढेकी छन् । पाँच कक्षा नटेक्दै उनले पढाइ छोडिन् ।
। लालबाबु बिहानदेखि लालबाबु ठेलामा सरसमान ओसारपसार गर्छन् । सुधीरा बिहानै उठेर घरको कामकाज सकेर फलफूल बिक्री गर्न बजार पस्छिन् । खाना र पानी पनि सँगै लिएर बजार पस्नु लालबाबुको दिनचर्या हो । पतिपत्नीको दैनिक कमाइ पाँच सय जति हुन्छ ।
दिनभरको कडा घाम र धुलोधुवाँले बच्चाको अनुहार बिग्रिएको सुधीरा बताउँछिन् । ‘बसेर खान कसले दिन्छ ? ’ उनी भन्छिन्, ‘गरिबको जीवन कुकुरको भन्दा खत्तम छ ।’ कमाएर खानु भन्दा सन्तान हुर्काउन र पढाउन मुस्किल परेको उनको गुनासो छ ।
लालबाबु भन्छन्, ‘सन्तानलाई शिक्षा दिन्छौं ।’ कमाएर जग्गा जोडेर आफ्नै घर बनाउने लालबाबु—सुधीराको सपना छ ।
प्रदेश २ मा गरिबीको अवस्था कहालीलाग्दो छ । आठवटै जिल्लालाई पूर्वपश्चिम राजमार्गले छोए पनि जनताको जीवनस्तर निकै दयनीय छ । मुलुकको कुल जनसंख्याको २०.४ प्रतिशत अर्थात् ५४ लाख ४ हजार १ सय ५४ जना मानिस प्रदेश २ मा बस्छन् । त्यसमध्ये २८ प्रतिशत विपन्न छन् ।
प्रतिक्रिया दिनुहोस !