एक फरक समाचार
![एक फरक समाचार](https://annapurnapost.prixacdn.net/media/albums/patrakar-ghush-_20190330022848_OoXv5T9MQy.jpg)
पत्रकारका लागि समाचार–स्रोत देउतासमान हुन्छ। पेसागत धर्मले भन्छ– बरु जेल जा, अदालतको कठघरामा उभिँदा पनि स्रोतको गोपनीयता नखोल्। उसलाई अप्ठ्यारो नपार्। भड्किन नदे। पानीको मुहानै थुनियो भने तिर्खा लाग्दा के खाने? जोखिम मोलेर अनियमितताका खबर दिने व्यक्ति त्यो पानीभन्दा दानी हो। उसको मन नदुखा।
तर, मेरो एउटा ‘स्रोत’ अचानक सम्पर्कविहीन भयो। फोन गर्दा उठाएन। संयोगवश भेट हुँदा नमीठो गरी चित्त दुखायो। त्यही बेला उही संस्थाको अर्को समाचारको प्रसंग उठ्यो। मैले पहिलाजस्तै कागज निकाल्न आग्रह गरें।
‘तपाईंलाई उताबाट पैसा झार्न मैले कागज दिनु छैन अब’, उसले प्याच्च भन्यो।
...
अन्नपूर्ण पोस्ट्भन्दा अघिल्लो मिडियामा काम गर्दा मैले नेपाल रेडक्रसको अनियमितताबारे शृंखलाबद्ध समाचार लेखें। गहन खोजीका। ब्लड बैंक पुनर्निर्माणमा थाई रेडक्रसले पठाएको करोडौं रुपैयाँ लठिभद्र थियो। भूकम्पपीडितको सहयोगार्थ संसारले दिएको÷दिने भनेको अर्बौं रकमको चरम दुरुपयोग थियो। गोदाम बनाउन भनी किनिएको जग्गामा ठूलो नाफा निकालिएको थियो। उच्च पदाधिकारी ‘आफ्नो हात जगन्नाथ’ गरिरहेका थिए।
भूकम्पपीडितका लागि आएको पैसाबाट अध्यक्षलगायत केही पदाधिकारीलाई गहु्रँगो ‘तलबी’ गरिएको थियो÷छ। भूकम्प आउनुअघि उनीहरू स्वयंसेवी थिए। तर, २०७२ को त्यही विनाशकारी विपत्ति रेडक्रसकर्मीका लागि ‘शुभदिन’ बनेर आयो। ‘पीडितलाई अचार, भान्छेलाई भोज’ जस्तै बन्यो। त्यसपछि उनीहरू गतिलो कमाइ गर्न थाले।
यस्ता गडबडी मैले सप्रमाण लेखें। मसँग झ्वाँक्किने त्यो त्यही ‘स्रोत’ थियो, जसले मुख्य रूपमा ती प्रमाण जुटाइदिएको थियो। रेडक्रसका आर्थिक कारोबारको प्रणाली नै उसले झिकेको थियो। त्यसैमा आबद्ध उसले यति जोखिम मोलेको थियो, त्यही कारण उसको जागिर जान सक्थ्यो। तर, सुशासनका खातिर उसले ठूलै हिम्मत गर्यो।
तर, उसले मलाई अनौठो वचन लगायो। ‘पैसा झार्न’ भन्ने शब्द तीरले हाने झैं ममाथि प्रहार गर्यो। मैले त्योचाहिँ सहन सकिनँ। त्यसलाई प्रस्ट पार्न आग्रह गर्दै भनें, ‘तपाईं बरु अपराध गर्नुहोस्, पाप नगर्नुहोस्। जुन कुरा गर्नुभयो, त्यो पाप हो।’
उसले पनि नधकाई भन्यो, ‘तपाईंले अघिल्लो पत्रिकामा पछिल्लो समय रेडक्रसको अनियमितताबारे समाचार लेख्न छाड्नुभएको थियो। त्यसमा उच्च पदाधिकारीसँग पैसा खानुभएछ भन्ने आयो।’
आरोपको पनि हद हुन्छ। उसका अनुसार अनौपचारिक खर्च विवरणमा एउटा यस्तो टिपोट भेटियो रे, ‘अखण्ड भण्डारीलाई समाचार नलेखाउन दिइएको रकम।’ लेखाकै एक कर्मचारीलाई सोधें। त्यस्तै–त्यस्तै कुरा आयो। रेडक्रसमा राम्रो सम्बन्ध भएका दर्जनौं व्यक्तिसँग यसबारे सोधीखोजी गरें। प्रायले भने, ‘समाचार निरन्तर नलेख्दा धेरैले शंका गरेका छन्।’
...
नेपाली समाज पत्रकारप्रति अनुदार छ। सबै पत्रकार भ्रष्ट हुन्छन् भन्ने ठान्छ। देश वा संस्था लुटेर खानेले पनि पत्रकारलाई ‘घाँस खुवायो’ भने जोगिन सकिन्छ भन्ने मनोभावना पालेका हुन्छन्।
त्यसैको उपज हो यो घटना। समाचारको निरन्तरता टुट्नु नै घुस वा घाँसमा बिक्नु होइन। अर्कोतिर, कुनै पनि संस्थामा खान ढंग जान्नेहरूले म वा मजस्ता पत्रकारका नाममा कृत्रिम खर्च देखाउनु अस्वाभाविक होइन। घटना बनाइयो वा मलाई दिएको नाममा कसैले आफ्नै गोजी भर्यो, त्यो उनीहरू नै जानून्। मलाई मात्र यति थाहा छ– रेडक्रसमा अनियमितता दर्जनौं छन्।
यसको संस्था दर्ता नवीकरणमै समस्या थियो। एउटा सीडीओले नवीकरण रोकिदिए। कारण थियो– लामो समयदेखि लेखापरीक्षण नभएको। अनियमितताको चौतर्फी आरोप लागेको। अडान राख्ने सीडीओ अन्तत:सरुवा भए। अर्काले त तीन वर्षको एकैपटक ठोकिदिए। यसरी थोकमा नवीकरण कुनै संस्थाको सम्भव छैन। रेडक्रसमा सम्भव भयो।
संस्था दर्ता ऐनअनुसार आएको रेडक्रसले आफूलाई त्यसभन्दा उपल्लो ठाउँमा राख्न खोज्छ। अरू संघसंस्थाजस्तो आफूलाई देशको नियम–कानुनमा बाँध्न वाञ्छनीय मान्दैन। परोपकारी आवरणमा आफ्ना सम्पूर्ण गल्ती छोपिने ठान्छ। र, त्यसमा उद्यत् हुन्छ। पत्रकारलाई किन्छु भन्छ। राज्यलाई चिन्छु भन्छ।
समाचारमा नियत हुँदैन। मात्र अनियमितता सच्चियोस् भन्ने चाहना हुन्छ। निश्चित समय ‘फलोअप’ गर्दा पनि दायरामा नआउनेको पछि लागिरहने चलन पनि हुँदैन। कतिपय अवस्थामा न्यायिक निकायले कानुनी प्रक्रिया सुरु गरेपछि पत्रकारको अभिभारा पूरा हुन्छ। रेडक्रसको मामला अलि फरक थियो। म जुन मिडियामा काम गर्थें, मेरो जिम्मेवारी नियमित समाचार लेख्ने थिएन। विशेष विषयवस्तुमा लेख्ने गर्थें। पछिल्लो समय कामको दायरा बढ्यो। स्वदेश–विदेश यात्राले समय खायो। रेडक्रसको पछाडि एकोहोरो लाग्न सकिएन। त्यही कुरो त्यहाँ प्रश्नवाचक बनेर बसेछ।
रेडक्रसमा आर्थिक अनियमितताको चाङ छ। परोपकारी र मानवीय यो संस्थाको गरिमा वास्तवमा घटेको छ। पहिला समाचार लेख्दा धेरै दातृ निकायले मसँग बुझे। अन्तर्राष्ट्रिय रेडक्रसले नेपाल रेडक्रसका पदाधिकारीलाई स्पष्टीकरण सोध्यो। अनियमितताबारे अख्तियारले छानबिन थाल्यो। तानशाही शैलीमा नचल्न स्थानीय प्रशासनले ध्यानाकर्षण गरायो। समाज कल्याण परिषद्ले संस्थाको नीति–नियम पालना गर्न सचेत गरायो।
तर पनि स्वेच्छाचारिता उत्तिकै रह्यो। रहिरह्यो। पदाधिकारी (व्यक्तिविशेष) को बदमासीविरुद्ध समाचार आउँछन्। खण्डन गर्न संस्थाको ठूलो रकम खर्च गराइन्छ। व्यक्तिले संस्थामा अनियमितता गरेको÷डुबाइरहेको अभियोगमा अदालतमा मुद्दा पर्छ, ठूला–ठूला वकिल संस्थाकै खर्चमा भिडाइन्छ। लाखौं अर्को खर्च थपिइन्छ। उल्टै पत्रकारको बदनाम गरिन्छ।
खोजी पत्रकारिता गर्नुहोस्, पाठकले रुचाउँछन्। जसले बेइमानी र बदमासी गरेका हुन्छन्, ती चिढिन्छन्। तिनको पछि सधैं लागेर साध्य हुँदैन। तब तिनै पाठकले तपाईंको कुरा काट्छन्, ‘सेटिङ मिलायो क्यारे’ भनेर नहिँडे पनि अन्दाज पक्कै गर्छन्।
रेडक्रस मामला त्यस्तै हो।
....
अन्नपूर्ण पोस्ट्मा आएपछि मैले नेपाल वायु सेवाको वाइड बडी विमान खरिदमा भएको अनियमितताबारे समाचार लेखें। यसमा मैले नै हात हालें। धेरै खोजें। उसरी नै भित्रैबाट जोखिम मोलेर अर्को ‘स्रोत’ ले कागजपत्र दियो। पटक–पटक छापियो।
यो विषय टुंगोमा पुगेको छैन। अझै लेख्नु त छ। तर, बीचमा लामै समय केही आएन। कतिपयले भेट्नेबित्तिकै सोध्छन्, ‘वाइड बडी खोइ त? ’
थाहा छैन, त्यहाँको स्रोत पनि कुनै दिन रिसाउँदै आउन के बेर, ‘तपाईंले निगमको पुरानो व्यवस्थापनबाट पैसा खाएको हुनुपर्छ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)