दाइजोको दर्द भुलाउने एसईई

दाइजोको दर्द भुलाउने एसईई

(बर्दिवास) महोत्तरी  : कहिलेकाहीँ दुःख पनि सुख बोकेर आउँदो रहेछ। यस्तै भएको छ, अमृताकुमारी कापरको जीवनमा पनि। तीन वर्षअघि दाइजोमा लैनो भैंसी नपाएको निहुँमा उनको सिउँदो नपुछिएको भए अहिले उनी चरम यातना सहँदै बाँचिरहेकी हुन सक्थिन्। न पढ्न नै पाउँथिन्। तिनै अमृता अहिले एसईई दिइरहेकी छन्।

महोत्तरीको बर्दिवासस्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाको परीक्षा केन्द्रमा एईईको दिइरहेकी छन्, उनी। बाबुआमाले दाइजोमा लैनो भैंसी दिन नसक्दा उनको बिहे बिथोलिएको थियो। मण्डपबाटै बेहुलाले उनलाई छाडी गएका थिए।

तीन कठ्ठा घडेरी बेचेर बुबा रामप्रकाशले केटापक्षले मागेको मोटरसाइकल, गरगहाना, लत्ताकपडासहित पाँच लाख रुपैयाँ दिएका थिए। तर केटा पक्षले दाइजोमा लैनौ भैंसी पनि मागे। अमृताको परिवारले दिन सकेन। त्यसपछि केटा पक्षले अमृताका बुबा र आफन्तलाई कुटपिट मात्रै गरेन, सिन्दूर हालिसकेकी अमृतालाई समेत छाडेर गयो। ‘अझै पढ्ने इच्छा छ’, एसईई केन्द्रमै भेटिएकी उनले भनिन्, ‘दाइजो नलिने केटासँग मात्रै अब विवाहको कुरा हुन्छ।’ छोरीलाई दाइजो होइन, शिक्षाको आवश्यकता रहेको उनले बताइन्।

गरिबीका कारण बर्दिवास नगरपालिका–७ फूलबारी टोलकी अमृताले कक्षा ९ पढ्दै गर्दा स्कुल छाडेकी थिइन्। १७ वर्षकै उमेरमा २०७३ माघ ९ मा अमृताको विवाह धनुषाको कान्छी बजारका रौदी कापरसँग हुँदै थियो। घटनापछि अमृताको परिवारले बेइज्जती भएको महसुस गर्‍यो। बाआमा मूच्र्छित भए।

तर अहिले अमृताको संघर्षलाई हेरेर गाउँले चकित छन्। सिउँदो बिथोलिएपछि अमृताले निधो गरिन्— दाइजोविरुद्ध लड्न स्कुल पढ्ने। सपना पनि सँगालिन्— नर्स बन्ने। त्यसैले गरिबीका कारण रोकिएको पढाइ उनले फेरि थालिन्।

‘लैनो भैंसी नपाउँदा विवाह बिथोलियो’ भन्ने शीर्षकमा अन्नपूर्ण पोस्ट् दैनिकले २२ माघ २०७३ मा समाचार छापेको थियो। समाचार पढेर काठमाडौंस्थित सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीको साकार नामक संस्था उनलाई पढाउन सघाउँछौं भन्दै घरमै पुग्यो। र, अमृतालाई महोत्तरीको बर्दिवास नगरपालिका—६ स्थित जनजागृति माध्यमिक विद्यालय कृष्णपुरको कक्षा ९ मा भर्ना गरिदियो पनि। स्कुल पोसाक, शैक्षिक सामग्री, विद्यालय आउजाउ गर्न साइकल खरिद गरिदिएको संस्थाले उनलाई दाइजोविरुद्ध लड्न हौस्यायो पनि।

पढाइ र दाइजोविरुद्धको लडाइँ सँगै

दाइजोविरुद्धको लडाइमा अमृत अघि बढ्दै छिन्। मधेसमा दाइजो प्रथाको अन्त्य गर्न अमृताले छाडेको पढाइलाई पुनः सुरु गरिन्। अनि दाइजोका नाममा बेइज्जत गराउने केटा पक्षविरुद्ध उनी कानुनी लडाइँ पनि थालिन्। अहिले दाइजोमा लैनो भैंसी नपाएको निहुँमा नारी अस्मितासँग खेलवाड गर्ने धनुषाको कान्छी बजारका रौदी कापरले कैद सजायँ भोगिरहेका छन्।

हुन त सिउँदो बिथोलिएपछि संघर्षको लडाइँमा अमृतालाई फेरि विद्यालय जान सजिलो थिएन। साइकलमा किताब राखेर घरबाट निस्किँदा उनलाई गाउलेहरूले खिसिट्युरी नगरेका कहाँ हो र ?       ‘अब पढेर जान्ने बन्ने रे, हेर हेर भन्थे’, बाटो हिँड्दा गाउँलेले कुरा काट्ने गरेको अमृताले विगत् सुनाइन्। तर उनले हिम्मत हारिनन्। र आफ्नो शैक्षिक बाटोमा अघि बढ्ने निश्चय गरिन्।

केटालाई प्रहरी खोरमा थुनाउँदा अमृताको परिवारलाई ज्यान मार्ने धम्की पनि नआएको होइन, बेहुला पक्षले। तर उनको परिवारलाई बुद्धिजीवीहरूले पनि सान्त्वना दिए। परिवार पनि हौसिँदै गयो।

दिनरात पढेर एसईई तयारी

अमृताले घरको कामकाज सकेर एसईईको तयारी गरिरहेकी छन्। ‘अमृता प्रेरणाले अघि बढिरहेकी छिन्’, जनजागृति माध्यमिक विद्यालय कृष्णपुरका प्रधानाध्यापक बलबाबुर सिलवाल भन्छन्।

स्कुलले परीक्षाको तयारी गर्न बिहान स्कुलमै कोचिङ क्लास लिने व्यवस्था मिलाइदियो। पाँच बजेदेखि साढे ९ बजेसम्म कोचिङ क्लास गरेर घर फर्किने अमृता साढे १० बजे पुनः पढ्न आउँथिन्। बेलुकी चार बजेसम्म पढाइ सकेर फर्किने उनले घरको कामकाज गरेर होमवर्क गर्थिन्। ‘अमृता नियमित विद्यालय आउँछिन्’, उनले भने, ‘अनुशासित र जेहेनदार छिन्।’

दाइजो पीडित अमृताको धोको छ— पढेर नर्स बन्ने। दाइजो नलिने केटोसँग बिहे गर्ने र आफ्नै खुट्टामा उभिने सपना बुनेर पढाइमा जोड दिइरहेकी छन्।

यसरी बिथोलिएको थियो बिहे

अमृताको रातिको बिहे भएको हो। लैनो भैंसी नदिएको निहुँमा अमृतालाई केटा पक्षले मण्डपमै छाडिदिए। बिहेमा केटापक्षले करै गरेर अमृताका बुबा रामप्रकाशसँग मोटरसाइकल, सुनचाँदी, कपडालत्ता र नगद सहितका दाइजो लिएका थिए। छोरीको विवाह नहुने पीरले रामप्रकाशले तीन कठ्ठा घडेरी बेचेर मागेको दाइजो दिए।

छोरीको विवाहमा झन्डै तीन लाख ऋण गरेर अमृताका बुबाले बरातीको खानपान, स्वयम्बरदेखि अथिति सत्कार सबै सके। अन्माउने दिनको दिउँसो मण्डपमा दिउँसोको खाना (मरजादी भात) खाने समय भएको थियो। त्यही बेला बेहुलाले दाइजोमा थप लैनो भैंसी मागे। नदिए भात नखाने सर्त पनि तेस्र्याए।

‘जे सक्यो, ज्वाइँ हजुरलाई दियौं। भैंसी दिन अब ज्यान बेच्नुपर्छ’ भन्दै अमृताका बुबाले मरजादी भोज खान बेहुलाई आग्रह गरे। वर ठुस्स परेर खाना छाडेर भागे। गाउँलेले सम्झाउन जाँदा बेहुला र जन्ती मिलेर अमृताका बुबासहितका गाउँलेलाई कुटपिट पनि गरे। सोही दिन गाउँकै प्रहरी चौकीमा पञ्चायत बस्यो। ‘भैंसी नदिए भात पनि खान्नँ, तेरो छोरी पनि लान्नँ’ भन्दै अमृतालाई छाडेर घर फर्किए।

पीडित अमृता उनका बुबा रामप्रकाश कापरले पीडक बेहुला रौदी कापरलाई पक्राउ गरी कडा कारबाहीको माग गर्दै तत्कालीन एकीकृत सेवा केन्द्र बर्दिवासमा उजुरी गरे। केन्द्रका प्रमुख विमलप्रसाद भट्टराईले आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा पत्राचार गरे। र तत्कालीन डीएसपी शालिग्राम शर्माले पीडकलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइदिए।

‘दाइजो लिनेसँग बिहे गर्दिनँ’

अमृता २० वर्षकी भइन्। उनले दाइजो लिनेसँग बिहे नगर्ने बताएकी छन्। साकार नामक संस्थाले उनलाई तीन वर्षदेखि पढाइमा आर्थिक सहयोग गर्दै आएको छ।

‘हाम्रो सानो सहयोगले अमृताको भविष्य सुःखमय बन्दै छ। एसईई परिक्षा लेखिरहेको थाहा पाउँदा खुसी लागेको छ’, साकार संस्थाका कृष्ण न्यौपाने भन्छन्। अमृता जस्ती पीडितलाई सामाजिक माया, ममता र शिक्षामा ल्याउन सके उनीहरूको जीवन सुखी बन्ने उनको भनाइ छ। ‘अमृता जति पढ्न चाहन्छिन्, त्यसमा हामी सघाउँछौं।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.