रोजी-रोजी पढ्न पाइने 'डिजिटल लाइब्रेरी'
![रोजी-रोजी पढ्न पाइने 'डिजिटल लाइब्रेरी'](https://annapurnapost.prixacdn.net/media/albums/digital-library_20190331060248_YfzM3KrJxm.jpg)
यूकेजीमा पढ्ने कलंकीका अनुभव सिग्देलले बालपुस्तक पढ्न ‘डिजिटल लाइब्रेरी’को सहयोग लिने गरेका छन्। आठ वर्षका उनी आफ्नो उमेर समूहको बालपुस्तक छानीछानी पढ्छन्।
आमाको मोबाइलमा डाउनलोड गरिएको ‘डिजिटल लाइब्रेरी’को एपमा अनुभवले सर्च गर्ने गरेका छन्। उनकी आमा अनु सिग्देल भन्छिन्, ‘छोराले डिजिटल लाइब्रेरीमा पढेको नयाँनयाँ किताबको कथा मलाई पनि सुनाएर मक्ख पार्छ।’
द एसिया फाउन्डेसनले ‘डिजिटल लाइब्रेरी’को एप २०१७ सेप्टेम्बरबाट ल्याएको हो। बुक फर एसियाकी प्रबन्धक समिरा राजभण्डारी श्रेष्ठका अनुसार ‘लेट्स रिड’ नामक एप डाउनलोड गरेपछि यसमा अफ लाइनमा पनि भिजिट गर्न सकिन्छ। ‘डिजिटल लाइब्रेरी’मा हाल करिब १८ सय पुस्तक छन्। तीमध्ये दुई सय नेपाली पुस्तक छन्।
फागुन तेस्रो साता दोस्रो कीर्तिपुर बालसाहित्य महोत्सवमा ‘लेट्स रिड’ले स्टल राखेको थियो। स्टलमा विभिन्न पुस्तक पनि झुन्डिएका थिए। एपमा ‘डिजिटल लाइब्रेरी’मा मात्र पढेको पुस्तक देखेपछि अनुभव सिग्देलले झिकेर पढ्न थालिहाले। उनकी आमा अनु सिग्देलले भनिन्, ‘छोराछोरीलाई सिर्जनात्मक बनाउन आउट कोर्सको पुस्तक निकै महत्वपूर्ण छ। तर सबै किन्न सकिँदैन, न त स्कुलले जुटाउन सक्छ। यस्तोमा निःशुल्क पढ्न पाइने डिजिटल लाइब्रेरी बरदान साबित भएको छ।’
डिजिटल लाइब्रेरीमा प्रायः अंगे्रजी भाषाका बालपुस्तक छन्। भाषामा ज्ञान हुनेहरूका लागि भने यसमा एसियाका लाओस, थाइल्यान्ड, भियतनामलगायत देशका १६ भाषाका पुस्तक उपलब्ध छन्। कतिपय नेपाली भाषाका किताब अंग्रेजीमा पनि पढ्न सकिन्छ। यसको विशेषता भनेकै कुनै मौलिक भाषाको कृति छानेर आफू अनुकूलको भाषामा पढ्नु हो। दुर्गालाल श्रेष्ठका बालगीतका पुस्तकहरू नेवारी, नेपाली र अंग्रेजी भाषामा उपलब्ध छन्। अब छिटै थारूलगायत नेपालका अन्य भाषाका पुस्तक पनि डिजिटल लाइबे्ररीमा राखिने बुक फर एसियाकी प्रबन्धक समिरा बताउँछिन्।
डिजिटल लाइबे्ररीमा तीन वर्ष अघिसम्म प्रकाशन गरिएका पुस्तक उपलब्ध छन्। तीभन्दा पुराना पुस्तक राख्ने योजना छैन। १५ वर्ष मुनिकालाई लक्ष्य गरी लेखिएका बालपुस्तक यहाँ छन्। इन्टरनेट सेवा राम्रो नभएको हिमाली जिल्लाका शिक्षकहरूले डाउनलोड गरी प्रिन्ट गरेर पनि यी पुस्तक प्रयोग गर्ने सुविधा दिइएको छ।
बालपुस्तक पनि सहयोग
बुक फर एसियाले सरकारी स्कुलको पुस्तकालयलाई निःशुल्क बालपुस्तक पनि सहयोग गर्ने गरेको छ। यसले विद्यार्थीको संख्या हेरेर दुईदेखि तीन बाकस किताब दिने गरेको छ। एउटा बाकसमा सय थान किताब हुन्छन्। जेलदेखि अस्पताल सम्मको पुस्तकालयमा पनि बुक फर एसियाले निःशुल्क बालपुस्तक पनि पठाएको छ। प्रबन्धक समिरा भन्छिन्, ‘जेलमा बस्नेहरू बढी उमेर समूहका व्यक्तिहरू पनि बालपुस्तक पढ्न पाएर निकै रमाउने गरेका छन्। उनीहरूलाई मन भुलाउन सजिलो भएको छ।’
‘लेट्स रिड’ले डिजाइन गरेको एउटा पोस्टरमा नारा छ— लेखौं, लेखौं, लेखौं। प्रश्नहरू सोधौं। वरिपरि शब्दहरूले घेरौं। पुस्तकहरूको बारेमा कुरा गरौं। कतिपय बालबालिका अभिभावकका मोबाइलमा गेम हेरेर मात्रै समय बिताउँछन्। तिनका लागि ‘लेट्स रिड’को डिजिटल लाइबे्ररी निकै उपयोगी हुन सक्छ। सिर्जनात्मक ज्ञानका लागि यसमा अभिभावकले पनि सघाउनु पर्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)