प्रदेश-३ मा मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम सुरु
हेटौंडा : ३ नम्बर प्रदेश सरकारले आइतबारदेखि मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ।नसर्ने रोगको समयमा पहिचान, रोकथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्ने उद्देश्यले हेटौंडा अस्पतालमा उक्त कार्यक्रम सुरु गरिएको हो।
मुख्यमन्त्री डोरमणी पौडेलले एक कार्यक्रमका बीच स्वास्थ्य परीक्षण कार्यक्रम शुभारम्भ गरे। नसर्ने रोगका कारण अकालनमा नै ज्यान गुमानुपर्ने बाध्यताबाट मुक्त गर्न र जनतालाई आफ्नो स्वास्थ्यको बारेमा सचेत बनाउन प्रदेश सरकारले स्वास्थ्य परीक्षण अभियान सुरुवात गरेको बताए।
'प्रदेश सरकारले निशुल्क गर्ने स्वास्थ्य परीक्षणमा गरिब, दलित, शारीरिक अशक्त र विभिन्न आन्दोलनमा घाइते भएका तथा सहिद परिवार सामेल हुनसक्छन्,' उनले भने, 'त्यसका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस अनिर्वाय गरिएको छ।'
गत माघ २४ गतेको मन्त्रिपरिषबाट पारित कार्यविधिअनुसार यसवर्ष प्रदेशका हेटौंडासहित पाँच जिल्लाका जिल्ला अस्पतालबाट सेवा सुरु हुनेछ। मकवानपुरको हेटौंडा अस्पतालसँगै धादिङ अस्पताल, भरतपुर अस्पताल, चौतारा अस्पताल, भक्तपुर अस्पताल र सिन्धुली अस्पतालमा दश दिनभित्र कार्यक्रमको सुरुवात गरिने सामाजिक विकास मन्त्री युवराज दुलाले बताए।'एकजनाको स्वास्थ्य परीक्षण गरेवापत हामीले सम्बन्धित अस्पताललाई २२ सय रुपैयाँ अनुदान दिन्छौं,' उनले भने, 'यो सेवालाई आगामी वर्षमा अन्य अस्पतालमा पनि विस्तार गरिनेछ।'
प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको उक्त लोकप्रीय कार्यक्रमका लागि तीन करोड २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता सतिश विष्टले चालु आर्थिक वर्षमा दश हजार नागरिकको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको बताए। 'यो सेवा आम नागरिकको लागि नभई अस्पताको पहुँचमा आउन नसक्नेका लागि हो,' उनले भने, 'प्रत्येक जिल्ला अस्पतालबाट यस वर्ष कम्तिमा पनि दुई हजार जनाले सेवा लिने हामीले अनुमान गरेका छौं।'
सम्बन्धित वडाको सिफारिसका आधारमा लक्षित वर्गका नागरिकले अस्पतालबाट १६ प्रकारको जाँच सेवा निःशुल्क पाउनेछन् । ३० देखि ७० वर्ष उमेर समुहका व्यक्तिमा भएका नसर्ने रोगको अध्ययन गरी स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालनको लागि परीक्षण कार्यक्रममार्फत रोगीहरुको तथ्याङ्क संकलन पनि गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !