आँधीबाट सिक्नुपर्ने पाठ
![आँधीबाट सिक्नुपर्ने पाठ](https://annapurnapost.prixacdn.net/media/albums/bara-parsa-pm-obserev1_20190401090614_CpJsFymnTg.jpg)
नेपाल विभिन्न विपदबाट प्रभावित भइरहने संकटासन्न राष्ट्र हो। देशमा हरेक वर्ष बाढी, पहिरो, आगलागी, हावाहुरी आदिबाट अपार धनजनको नोक्सानी हुने गरेको छ भने भूकम्पबाट कुनै पनि समय क्षति हुन सक्छ। २०७२ सालको भूकम्पमा भएको क्षतिको पुनर्निर्माण नसकिँदै अहिले बारा तथा पर्सा जिल्लामा आँधी आएर २७ जनाले बहुमूल्य जीवन गुमाएका छन्।
नेपाल रेडक्रस सोसाइटीका अनुसार झन्डै ६६८ जना घाइते भएका छन् भने १२०० परिवार प्रभावित भएका छन्। यसका साथै करोडौंको सम्पत्तिको हानिनोक्सानी भएको छ। यस्तो खालको विपद् पहिले पनि हुने गरेको थियो। सन् २००० देखि २०१४ सम्ममा आँधीबेहेरीको कारणले ६३ जनाले जीवन गुमाएको तथ्य गृह मन्त्रालयले उल्लेख गरेको छ। यिनमा पनि सन् २००३ मा २० जनाको निधन भएको थियो भने सन् २०१२ मा १८ जनाको अवसान भएको थियो। गत साता मात्र एकजनाको हावाहुरीबाट मरण भएको थियो।
हावा उच्च वातावरणीय चापबाट न्यून वातावरणीय चापतिर बहने गर्छ। यी चाप एकअर्काबाट टाढा भएको स्थानमा सिर्जना भए भने हावाको गति कम हुन्छ। तर यस्तो स्थिति एकअर्काको नजिकै भयो भने उच्च वेगको कहिले हुरी र कहिले आँधी चल्ने गर्छ। यसबाट धनजनको क्षति अकल्पनीय मात्रामा हुन सक्छ। आँधीको गति ५० देखि २ सय माइलप्रति घन्टासम्म पनि हुन सक्छ। सन् २००५ मा गएको अमेरिकाको क्याट्रिना समुद्र आँधीको गति १८५ माइलप्रति घन्टासम्म पुगेको थियो। वातावरणीय उच्च र न्यून चापनजिकै सिर्जना भएर बारा तथा पर्सामा यो दुःखद घटना भएको हो।
एक अध्ययनअनुसार नेपालमा झन्डै ५६ लाख भवन भएको मानिएको छ। यसमध्ये २३ प्रतिशत माटो, बाँसले बनेका अस्थायी खालका, ४८ प्रतिशत ढुुंग, इँटा, काठले बनेका अर्ध स्थायी खालका र २६ प्रतिशत ढलान प्रयोग गरेका स्थायी खालका छन्। मधेसमा ४५ प्रतिशत अस्थायी खालका भवन छन् भने २० प्रतिशत अर्धस्थायी तथा ३१ प्रतिशत स्थायी खालका भवन छन्। यस्तो आँधीमा अस्थायी र अर्धस्थायी भवन क्षतिग्रस्त हुन्छन्। भवन र पूर्वाधार कमजोड भएकै कारणले बिजुलीको लट्ठा घर र गाडीमा झरेर दुईजनाको निधन भएको थियो।
विगतमा मधेसमा दुई प्रकारको घरको निर्माण गरिन्थ्यो। पहिलो त सानो खालको कम उचाइको घर बनाइन्थ्यो। यस्ता घर आँधीबाट त्यति प्रभावित हँुदैनथे। अर्काे दुईतले ठूूलो घर जसलाई बनाउँदा तल्लो तला खुला राखिने गरिन्थ्यो। यसले गर्दा हावा छिर्ने भएकोले क्षति हुँदैनथ्यो। तर अहिले भुइँदेखि नै बनाइने हुनाले पनि बढी क्षति हुन गएको हो।
आँधीप्रतिरोधी भवन निर्माण गरेमा मात्र यस्ता विपदबाट केही हदसम्म छुटकारा पाउन सकिन्छ। यसका लागि प्रथमतः वर्गाकार भवन बनाउनु राम्रो हुन्छ किनभने यो बढी बलियो हुन्छ। साथसाथै बलियो जग बनाउनुपर्छ। १५ प्रतिशत मधेसका घरमा जग नभएको पाइएको छ। बाँसले घरलाई ठड्याउनुका साथै यी बाँसका बीचमा बाँसको टाटीले बारेर घर बनाइएको हुन्छ। यसको अतिरिक्त पर्खालमा माथ्लो तल्लाका दलिनलाई र छानोका डाँडा, भाटा तथा धुरीलाई राम्ररी नजोड्नाले पनि आँधीले घर र यसको छानालाई क्षति पुर्याएको हुन्छ।
भविष्यमा यस्तो विपद् रोक्न विभिन्न उपाय अवलम्बन गरिनुपर्ने हुन्छ। पहिलो त, नयाँ खालका विपद् उत्थानशील बस्तीको विकास गरिनुपर्छ। किनभने तदर्थ रूपमा बनाइएका यस्ता बस्तीहरू विपद्को ख्याल गरेर बनाइएका हुँदैनन्। नयाँ बस्ती बसाउँदा स्थानीय पहिचान, परिचय तथा पनलाई पनि समायोजन गरिनुपर्छ। यसका साथै बस्ती निर्माण गर्दा चौडा बाटो, ढल तथा पर्याप्त खानेपानीजस्ता आधुनिक पूूर्वाधारको पनि व्यवस्था गरिनुपर्छ। भवन बनाउँदा भवन निर्माण संहिताको पालना गर्नुपर्छ। यसतर्फ स्थानीय सरकार तथा प्रान्तीय सरकारले कदम चाल्नु आवश्यक छ।
नयाँ विपद् उत्थानशील बस्ती निर्माण गरेर त्यस बस्तीका घरघडेरीसित प्रभावित मानिसको घरघडेरी साट्ने व्यवस्था विभिन्न देशमा सफलताका साथ गरिएको छ। विशेष गरेर चीनमा सियांग्रोङ, किङजियाङ, सिकाओ तथा लुचीमा यो प्रयोग सफल पाइएको छ। चिनियाँहरूले विपद् भएको स्थानमा एक एकीकृत बस्ती निर्माण गरे। त्यस बस्तीमा भएका घर तथा घडेरी विपदप्रभावित जनताका घरघडेरीसित आदानप्रदान गरे। विपदप्रभावित जनताले पनि छिमेकीसित साथमा बस्ने बस्ती प्राप्त गरे भने सरकारले पनि छरिएर रहेको बस्तीलाई एकीकृत बस्तीमा रूपान्तरण गर्न सक्यो। अहिले प्रभावित भएका परिवारलाई पनि उनीहरूको घरघडेरीसित साट्ने गरी नयाँ बस्ती बनाउन सके धेरै हदसम्म यस समस्याको हल हुने थियो।
पूर्णरूपमा भने आँधीलाई सम्बोधन गर्न सकिन्न। अमेरिकाजस्तो सम्पन्न राष्ट्रमा पनि समुद्री आँधीबाट बर्सेनि क्षति हुने गर्छ। तर उनीहरूको पूर्व चेतावनी प्रणाली प्रभावकारी भएकाले मानिस धेरै हताहत हँुदैनन्। भवन जति नै बलियो बनाए पनि २ सय माइलप्रति घन्टाको आँधीबाट सीमान्त रूपमा भए पनि क्षतिग्रस्त भइ नै हाल्छ। नेपालमा पनि पूर्व चेतावनी प्रणालीलाई राम्ररी विकास गर्न सकेमा मानवीय क्षतिलाई धेरै कम गर्न सकिन्छ।
विपदले धनजनको क्षति गर्छ। तर यसले देशको मुहार फेर्ने, अनुहार बदल्ने अवसर पनि सिर्जना गरेको हुन्छ। यस्तो अवसर २०७२ सालको भूूकम्पले पनि प्रदान गरेको थियो। चीनले सिचुवान प्रान्तमा गएको भूकम्पपछि त्यस भेगलाई नयाँ कलेबर प्रदान गरेको छ। विपदजस्तो अभिशापलाई आशीर्वादमा परिणत गरेको छ। तर हामीले आफ्ना पहिचानलाई बलिदान गरेर आधुनिक भवन निर्माण गर्यौं। हाम्रा पुर्खाले शदीयौंदेखि निर्माण गरेको पहिचान गुमायौं। अहिले आँधीले सीमित भए पनि नयाँ अवसर दिएको छ। यसको सदुपयोग गरौं।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)