आशाको मुस्कान
अखण्ड भण्डारी, दिवाकर भण्डारी, राजकरण महतो, क्रान्ति साह, फणि महत र आकाश क्षत्री। भरवलिया (बारा) :
टन्टलापुर घाम छेक्ने सयल छैन। राति शित रोक्ने ओत छैन। पेटमा पोसिलो खाना छैन। नुहाएर फेर्न नाना छैन। तर, पनि अनुहारमा तनाव छैन। बरु छ– मीठो मुस्कान। उद्दण्ड हुरी–भुमरीले उजाडेका बाराका गाउँमा नियाल्नुहोस्, पीडितका मन भने उजाडिएका छैनन्। उनीहरू भन्छन्, ‘चिन्ता लिएर के गर्नु ? जे हुनु भइगयो। बरु सरकारले बेलैमा हेरिदिए हुन्थ्यो।’
गरिबीले पुस्तौंपुस्ता थिचेका यहाँका बासिन्दा आफैं पुनर्वासको बन्दोबस्त गर्ने औकातमा छैनन्। सोझो आशा छ सरकारतिरै। र, त्यही आशाको मुस्कान छरेर भरोसाको दियो बाल्दै बाँचेका छन् उनीहरू। ‘त्यो घटना हामी बिर्सन चाहन्छौं। यस्तो घटना कहिल्यै–कहीं नहोस्’, भलुई भरबलियाका छठु राउत कुर्मीले भने, ‘हाम्रो घर त रहेन। तर, आपतमा सबैले देखाएको मायाले पीडा बिर्साउँदै लगेको छ। आउने–जानेको बाक्लो भीडले हामीलाई एक्लो महसुस हुन दिएको छैन।’
निर्वाहको अवस्था असामान्य छ। तर, पीडित आफैंले सामान्यीकरण गर्दै लगेका छन्। जिन्दजी अस्तव्यस्त छ। शरीर गलेको छ। मनमा तनाव छ। अनुहार भने उज्यालै छ। घटनाको पाँचौं दिनसम्म सामान्य टेन्टको ओत नपाउने अझै धेरै छन्। सेना र प्रहरी सहयोगमा जुटेका छन्। तर, सानो संख्यामा। पार्टीका झन्डा हल्लाउँदै आउने नेताका सवारीलाई अरू गाडी र सर्वसाधारणको भीड छिचोलाउन सुरक्षार्कीको अधिकांश समय खेर जान्छ।
‘राहत’ भन्दै गाडीबाट बिस्कुट, चाउचाउ, पानी जुस आदि भेडा–बाख्रालाई झैं फालिदिने पनि थुप्रै भेटिए। तिनको पछि–पछि हात लम्काउँदै दगुर्ने आधासरो सर्वसाधरण र बालबालिकाले केवल धुलोको मुस्लो खान पाउँछन्।
रित्तो हात फर्किए पनि मीठो मुस्कान छर्छन्। भरवलियाकै बिक्रम मुखिया बिहिवार दिउँसो नेपाली सेनाले लगाइदिएको टेन्टभित्र भेटिए। हुरीले घर भत्काएपछि उनको परिवार चार दिनदेखि बिचल्लीमा थियो। खुल्ला आकाशमै रात बिताउँदै आएका उनी टेन्ट पाएपछि खुशी देखिन्थे।
घरको भग्नावशेषबाट टेन्टमा सर्ने तयारी गर्दै गरेका उनलाई बोल्नसम्म फुर्सद थिएन। ज्यालादारीबाट जीवीकोपार्जन गर्ने उनको काम टुटेको पाँचै दिन भयो। ‘चौरमा सुतिरहेका थियौं। सुत्न पाइने भयो’, खुसी भावमा देखिएका उनले भने, ‘सरकारले सहयोग गरे विस्तारै घर बनाउँला। जे भयो त्यसलाई बिर्सनुपर्छ अब।’
बिक्रमले आफूलाई सम्हालेका छन्। घटनामा घाइते भएकी उनकी आमाको वीरगन्जमा उपचार भइरहेको छ। अस्पतालमा आमालाई उनका दाइले हेरचार गरिरहेका छन्। उनी भने यता परिवार सम्हाल्दै छन्। परिवारमा ८ जना छन्। ती कसैसँग एकसरोभन्दा लुगा छैनन्।
राहत बाँड्ने टोली बाक्लै आउँछन्। तर, सबैजसो उही बिस्कुट–चाउचाउमा केन्द्रित छन्। कति रमिता हेर्न पुगेका छन्। कति ‘समाजसेवी’ देखिने रहरमा आएका छन्। कतिपय भने भएको थोरै स्रोत मनैदेखि दिन चाहन्छन्।
खास चाहिने के हो, बुझेर ल्याइदिने खासमा कोही छैनन्। गाउँमा बिजुली छैन। मायाले हुर्काएका सयल दिने रूख–बिरुवा जरैदेखि उखेलिएका छन्। घर लडेका भग्नावेश पन्छाइनसक्नु छ। शौचालय छैन। गाडीले उडाएको धुलोले रोगव्याधि बढाउने जोखिम छ। राति मच्छडले ‘गीत गाउँदै’ घेर्छन्। निदाउन पाउँदैनन्। तर, अनिदाजस्ता कोही देखिँदैनन्।
हुरीले घर भत्कँदा दुई बहिनी गुमाएका फेटा गाउँपालिका ६ पुरैनियाका सलि उल्लाह अन्सारी पनि आफ्नो परिवारलाई सम्हाल्दै छन्। उनको परिवारमा २० जनाभन्दा बढी छन्। घटनामा चार जना घाइते भएका थिए। घर पूर्णरुपमा भत्किएको छ। टेन्टमा भेटिएका उनले भने, ‘जे नहुनु थियो, भइगयो। अब चिन्ता मात्रै लिएर गुजारा चल्दैन। बाँकी परिवारको बाँकी जीवन घाउ बिर्सिएर बाँच्चुछ।’
नेपाली मन सहनशील हुन्छ। शोकलाई शक्तिमा बदल्न सक्छन् नेपाली। दुःखमा खुशी खोज्छन्। मुठीभर सास रहेसम्म खुसीले बाँच्ने अभिलाशा बोक्छन्। अनि, जीवन बाँच्ने पाइला चाल्छन्। यसरी नै गहिरो पीडालाई भुलेर खुशी खोज्दै छन् भरवलियाका ५५ बर्षीय रामसुरत दास। उनीसंग जीवनमा कहिले नभुल्ने गहिरो पीडा छ। तर, उनले आत्मबल उच्च बनाउँदै लगेका छन्।
त्यो हावाहुरीले आइतबार उनको घर मात्रै ढालेन, श्रीमति मोतिसर र बुहारी रुनालाई निल्यो। विपतीले उनलाई गहिरो चोट दिएको छ। तर, उनी यो पीडा मन दह्रो बनाएर भुल्न चाहन्छन्। दुधे नाती रञ्जितले बाल्यकालमा आमाको काख गुमाए। ‘जे हुनु थियो, दैवले गरायो,’ दुधदानीमा नातीलाई दुध खुवाउँदै रामसुरतले भने, ‘राहत ढिलै भएपनि पाइरहेका छौं। अब सरकारले घर बनाइदिने भन्छ, बनाइदिए त हुने थियो। अनि, यही नातीको मुहार हेरेर बाँकी जुनी बाँच्ने थिएँ।’
उनी आफैंले श्रीमती र बुहारीको अन्तिम संस्कार गरे। हावाहुरी आएपछि घरमा लुक्न आएका उनीहरुको घरको खम्बाले थिचेर ज्यान गयो।
मन बुझाउने लालाबाला
वीरगंज शहरदेखि उत्तरपूर्वी क्षेत्रको पुरैनिया गाउँ ! गाउँलेको आखाँमा अनौठो सन्नाटा देखिन्छ। कुनै भयानक आँधीपछिको शान्त बतास जस्तो। बसपार्कबाट करिब दश किलोमिटर कच्चीबाटोमा दौडिएपछि मान्छेको भिडैभिड देखिन्छ। कोही राहत बाँडिरहेका। कोही राहत लिइरहेका। कोही फोटो खिचिरहेका। कोही निरासामा डुबिरहेका। अनेकन मान्छेका भिड।
तर, ती गाउँलेहरूको निराशामा आशा जगाउने स्रोत बनेका छन् कलिला मुनाहरू।
आधा भत्किएको घर बस्न लायक देखिदैनन्। त्यही घरको एक छेउमा बसेको छ दिलशादको परिवार। त्यही घरमा दिलशाद आफ्ना दाइ र भाइसँग खेलिरहेका थिए। उनले लगाएको कालो हाफकमिज र सेतो हाफपाइन्ट मैलिसकेको थियो। उनी उफ्रिरहेका थिए। हाँसिरहेका थिए। नाचिरहेका छन्। सँगै, दाइभाइलाई पनि चलाइरहेका थिए।
तस्विर खिच्न खोज्दा दिलशादका दाई अतुररहमान पनि छेवैमा आएर नाच्न खोजे। लगाएको कालो–सेतो धर्से सट र हल्का निलो जिन्स पनि मैला भइसकेको थियो। अतुररहमानका अर्का भाई नवशाद पनि सँगै आएर हाँस्न थाले। हातमा लिएको पीपीरी बजाउँदै अतुररहमान खण्डहर बनेको घरभित्रै दगुरे।
यी कलिला लालाबाले भयानक विपत्तिको घाउ भुल्दै गएका छन्। ती मुनाहरूको चन्चलतालाई निरास र हतास आँखाले एकटकले हेरिरहेकी थिइन् अम्बे अखातमले। अम्बेको सानो घर पनि आइतबारको हुरीले उडाइदिएको छ। उनको घरमा खानाको नाममा केही रहेन।
राहत बाँढ्न आएकाले दिएको चाउचाउ चपाइरहेकी अम्बे दिलशादको चन्चलता देखेर मुस्कुराउन खोज्छिन्। ‘१२ जनाको परिवार छ, बस्ने ठाउँ छैन’, उनले भनिन्, ‘तर, सधैं यस्तै विजोग त पक्कै नहोला।’
तस्बिर : विकास कार्की