वंशजको नागरिकता लिन सास्ती
वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई आइतबारदेखि वंशजको नागरिकता दिन सुरु गरेको छ। पहिलो दिन वीरगन्जमा तीन जनालाई वंशजको नागरिकता दिएको खबर सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयमा सोमबारदेखि वंशजको नागरिकता लिन जन्मसिद्ध नागरिकका सन्तानको भीड लागेको छ।
गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकताका लागि आमाबुवा दुवैको नागरिकता, जन्मदर्ता र नाता प्रमाणीतको सक्कल प्रति पेस गराउन निर्देशन दिएको छ। तर जिल्ला प्रशासन कार्यालय पर्साले वंशजको नागरिकता लिन १३ प्रकारका प्रमाण पेस गर्न सूचना जारी गरेको छ।
आमाबुवाको नागरिकता, जन्मदर्ता, नाता प्रमाणीत, जग्गाधनी प्रमाणपुर्जा, निरन्तर बसोबास गरेको किटानी सिफारिस, पारिवारिक विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, खानेपानी र विद्युत् महसुल तिरेको रसिद, आमाबुवाबीच नाता नखुलेमा विवाह दर्ता प्रमाण पत्र, आमा वा बुवाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र पेस गर्न भनिएको छ। त्यस्तै बसाइ सराइ भइ आएकाको हकमा बसाइ सराइ दर्ता प्रमाणपत्र, घर जग्गा नभएकाको हकमा कार्यालयको तर्फबाट स्थलगत सर्जमिन, आमा वा बुवाको नागरिकतामाथि उजुरी परेको भए उजुरीको टुंगो लागेको प्रमाणपत्रलगायत १३ प्रकारका काजपत्र पेस गरेपछि मात्र वंशजको नागरिकता दिने सकिने सूचना जारी गरेको छ।
वंशजको नागरिकताका लागि आवदेन दिएकालाई प्रहरी सर्जमिन र स्थलगत मुचुल्का जिल्ला प्रशासन कार्यालयले नै गर्नुपर्ने आवश्यकता देखिएको भन्दै कर्मचारीले आवेदन दिएकालाई पछि सम्पर्क गर्न भन्दै पठाएका छन्। सोमबार कार्यालयमा वंशजको नागरिकताका लागि आवेदन दिन आएका कतिपय जन्मसिद्ध नागरिकका सन्तान जिप्रकाले मागेका प्रमाणपत्र साथमा नभएपछि फर्किएका छन्।
‘वडाध्यक्षले भने जति सबै कागजातका साथ जेठो छोरा लिएर आएको थिएँ तर कर्मचारीले कागजात पुगेन भनेर फिर्ता पठाइ दिए’, जिल्ला प्रशासन कार्यालयमा सोमबार भेटिएका पर्सा छिपहरमाइ गाँउपालिका–३ झलमहीयाका सनहु यादवले भने, ‘१३ प्रकारका कागजात जुटाउन समस्या देखिएको छ।’
हुलमुलमा गैरनेपालीले नागरिकता लिन नपाउन् भनेर सतकर्ता अपनाइएको जिल्ला प्रशासन कार्यालयको भनाइ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार वंशजको नागरिकताका लागि आवश्यक कागजातसहित आएका ४१ जनाको आवेदन कार्यलयले लिएको छ। तर उनीहरुका बारेमा पनि प्रहरी सर्जमिन र स्थलगत मुचुल्का गराउन आवश्यक देखिएकाले कार्यालयमा पछि सम्पर्क गर्न आग्रह गर्दै पठाइएको शर्माले जानकारी दिए। थुप्रै व्यक्ति आवेदनसहित आए पनि सम्बन्धित वडा कार्यालयबाट निरन्तर बसोबास गरेको किटानी सिफारिस र पारिवारिक विवरण नभएकाले ती सिफारिस लिएर आउन आग्रह गर्दै फिर्ता पठाइएको छ।
जिल्ला प्रशासन कार्यालयमा भेटिएका पर्सा जयमंगलापुरका हरिन्द्र सिंहले भने, ‘गृह मन्त्रालयले आमाबुवा दुवैको नागरिकता, जन्मदर्ता र नाता प्रमाणीतको सक्कल प्रति भए पुग्छ भनेको छ तर यहाँ जिल्ला प्रशासन कार्यालयले अन्य प्रमाण पनि चाहिन्छ भनेर अड्को थापेको छ।’ सहायक प्रजिअ शर्माले २०६३/६४ सालमा जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन अप्ठयारो नपारिएको बताए। ‘हुलमुलमा गैरनेपालीले नागरिकता लिन नपाउन् भनेर सतकर्ता अपनाइएको मात्र हो’, उनले भने।
शर्माका अनुसार पर्सामा मात्रै २०६३/६४ सालमा जन्मका आधारमा नागरिकता लिनेको संख्या पाँच हजार १७ छ। गृह मन्त्रालयले जन्मसिद्ध नागरिकता लिएका आमाबुवा दुवैको नागरिकता भएकाको सन्तानलाई वंशजको नागरिकता उपलब्ध गराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस !