दुई करोड ३२ लाख खर्चेर सगरमाथा सफाइ गरिँदै, आरोहीका शव पनि उठाइने

काठमाडौं : सरकारले यही अप्रिलदेखि जुनसम्मका लागि ४५ दिने सगरमाथा सफाइ अभियान सुरु गरेको छ ।
यो अभियानमा सगरमाथाबाट पाँच हजार र सरमाथाको अन्य क्षेत्रबाट गरी अर्को पाँच हजार किलोग्राम फोहोर संकलन गरिने भएको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर सगरमाथा सफाइको बारेमा जानकारी दिइएको हो । अभियानका लागि दुई करोड ३२ लाख रुपैयाँ खर्च गरिने भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार सफाइ अभियानले पर्वतारोहण पर्यटनको अन्तर्राष्ट्रिय छवि सुधार्ने छ । घिमिरेले भने, ‘नेपालको पर्वतारोहण पर्यटनको अन्तर्राष्ट्रिय छविलाई सुधार गर्न र यो क्षेत्रलाई स्वच्छ बनाउन सफाइ अभियान सुरु गरिएको हो ।’
अभियानमा सरकारले निजी संघ संस्थासँग सहकार्य गर्ने भएको छ । यसका लागि सरकारले पर्यटनसँग क्रियाशिल संस्था नेपाल पर्यतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति, सगरामाथा राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खुम्बु पासाङल्हामु गाउँपालिका र नेपाली सेनासँग सहकार्य गरेर यो सफाइ अभियान गर्दै छ ।
सफाइ कार्यक्रममा सगरमाथा क्षेत्रमा रहेका र वर्षौँदेखि उठाउन नसकिएका शवलाई पनि उठाइने छ । सगरमाथाको पाँच हजार मिटर माथि ज्यान गुमाएका आरोहीका शव वर्षौँसम्म उठाइएको छैन ।
सफाइ अभियान १२ औं अन्तर्राष्ट्रिय सगरामाथा दिवसको अवसरमा अप्रिलदेखि जुन महिनासम्म सञ्चालन गरिने छ । वर्षेनी मनाइँदैआएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस मे २९ का दिन सफाइ अभियानबाट संकलित फोहोर नाम्चेमा प्रदर्शन गरिने छ । त्यसपछि नाम्चेमै उक्त फोहोर प्रशोधन गरिने र त्यसपछि बाँकी रहेको ठोस फोहोरलाई मात्रै काठमाडौं ल्याइने पनि सफाइ आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस !
