नेपाल मानव अधिकारको रक्षा र प्रवर्द्धनमा सधैं प्रतिबद्ध छ : परराष्ट्रमन्त्री राणा

नेपाल मानव अधिकारको रक्षा र प्रवर्द्धनमा सधैं प्रतिबद्ध छ : परराष्ट्रमन्त्री राणा
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव प्रतिबद्ध रही आएको बताएकी छन्।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औं उच्चस्तरीय सत्रलाई आज जेनेभामा सम्बोधन गर्दै मन्त्री राणाले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनका क्षेत्रमा नेपाल विश्वकै एक अग्रपंक्तिको राष्ट्रका रूपमा रहँदै आएको बताइन्।

उनले भनिन्, 'नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अधिकारहरूलाई मौलिक अधिकारका रूपमा समेटेको छ। नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्णरूपमा प्रतिबद्ध रही आएको छ।'

नेपालमा हालः लोकतन्त्र र मानवअधिकारका लागि लामो समयदेखि संघर्ष गर्दै आएका राजनीतिक दलहरूको सरकार रहेकाले पनि नेपाल सरकार प्रजातन्त्र र मानवअधिकारको रक्षा तथा प्रवर्द्धनप्रति थप प्रतिबद्ध रहेको मन्त्री राणाले स्पष्ट पारिन्।

नेपालले दश वर्षे सशस्त्र द्वन्द्वको समाधानका लागि अपनाएको शान्ति प्रक्रियाको मोडल विश्वमै उदाहरणीय रहेको उल्लेख गर्दै मन्त्री राणाले शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई पनि छिट्टै टुंग्याउने गरी संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको जानकारी गराइन्।

नेपालको संविधानले संघीय र प्रादेशिक संसदमा महिलाको एक तिहाइ र स्थानीय सरकारमा चालीस प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको तथा अल्पसंख्यकहरूको मानवअधिकारको व्यवस्था र रक्षाप्रति प्रतिबद्ध रहेको पनि स्पष्ट पारिन्।

नेपाल सरकार सदैव राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रताका पक्षमा रही आएकाले गानरी प्रमाणीकरणमा स्थापनादेखि नै नेपालको आयोग ‘ए ग्रेड’ मा रहँदै आएको उल्लेख गर्दै मन्त्री राणाले नेपाल प्रेस स्वतन्त्रताको सुनिश्चितताको पक्षमा रही आएको बताइन्।

जलवायु परिवर्तनले नेपाललाई परेको असर, नेपालको अवस्था र जलवायु न्यायका विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा वकालत गरिरहेको बताउँदै मन्त्री राणाले नेपालले आगामी मे महिनामा काठमाडौंमा ‘सगरमाथा संवाद’ कार्यक्रमको आयोजना गरेको जानकारी गराइन्। 

'जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य' मुख्य शीर्षक रहेको सो संवादमार्फत अन्तर्राष्ट्रिय समुदायलाई यस महत्त्वपूर्ण पहलमा सामेल गराउने प्रयास नेपालले गरेको उनको भनाइ छ। मन्त्री राणाले नेपालले मानव अधिकारका क्षेत्रमा व्यक्त गर्दै आएको यही प्रतिबद्धताका साथ यस परिषदको आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएको जानकारी दिँदै संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरूसँग नेपाललाई समर्थन गर्न आह्वान पनि गरिन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.